सेठले भनेका थिए : आफ्नै देशमा गएर ठूलो मान्छे बन्‍नू

|

काठमाडौं :  कुरा ३० वर्ष अगाडिको हो। जतिबेला आर्जु विष्ट 'सल्यानी' मुम्बईको एक कपडा फ्याक्ट्रीमा चौकीदारी गर्थे।

चौकीदारी गरिरहँदा पनि उनको हातमा कुनै न कुनै पुस्तक हुन्थ्यो। एकदिन म्याक्सिम गोर्कीको 'आमा' उपन्यास पढिरहँदा उनका मालिक वीरेन्द्र सेठले देखेछन्। एउटा १६ वर्षे केटोले 'आमा' उपन्यास पढिरहेको देखेपछि सेठले सोधे, 'के छ यसमा?' विष्टले जवाफ दिए,'रसियन क्रान्तिको कथा।'  

विस्टले सेठलाई त्यो पुस्तक उपहार दिन खोजे। तर तिनले आमा पढिसकेको बताए। उनी कंग्रेसका नेता थिए। हरेक दिन आर्जु कुनै न कुनै पुस्तक पढिरहन्थे। सेठले उनको किताबमोह नियालिरहे। एकदिन उनले भनिदिए, 'तुम लोग एसे वाचमेन कर्नेवाला आद्‍मी न ही हो। मेरेको लगता है तुम नेपालको चौधरी लोग हो।' यसको मतलब आर्जुले बुझे, भारतमा चौधरीलाई उच्च तहका मान्दारहेछन्।

सेठ भन्थे, तिमी पढेर बस, थोरै काम नगर। पढेर ठूलो मान्छे बन्‍नुपर्छ।' सेठको त्यही कुराले उनलाई छोयो। पराईदेशमा मालिकले ठूलो मान्छे बन्‍नुपर्छ भन्‍ने कुराले उनलाई छोयो। छोटो समयमा कमाएको ४५ सय भारु बोकेर  उनी नेपाल फर्किए।

'यदि ती सेठले ठूलो मान्छे बन्‍नुपर्छ भन्‍ने कुरा नगरेको भए अहिले पनि म भारतकै गल्लीमा चौकिदारी गरिरहेकै हुन्थेँ कि?, ' उनी त्यो पल सम्झन्छन्।

कर्मथलो पोखरा

रेडियो अन्‍नपूर्ण पोखराबाट लामो समय सञ्चारकर्म गरेका उनको खास परिचय हो गीतकार। सल्यान जिल्ला उनको स्थायी घर हो तर उनले पोखरालाई कर्मथलो बनाएर रमाइरहेका छन्।

एसएलसी गरेपछि घरको गरिबी हटाउन मुम्बई हानिएका आर्जु नेपाल फर्केको केही दिनमै कानुनको विद्यार्थी बन्‍न काठमाडौं छुट्ने रात्रि बस चढे। काठमाडौं आएर प्राइभेटबाटै आइएल पुरा गरे। त्यसपछि एलएललबी पढ्न थाले।

प्रहरीको जागिर

बुवा नेपाल प्रहरीको रिटायर्ड कर्मचारी थिए। घरको आर्थिक विपन्‍नता घटाउन उनलाई जागिर खानुको अर्को विकल्प थिएन। बुवाकै पदचाप पछ्याउँदै उनी पनि नेपाल प्रहरीमा जागिर खाने भन्दै नेपालगन्ज हान्‍निएका थिए। नेपाल प्रहरीमा जागिर खान १८ दिन तालिम पनि लिए। तर खोई के कुराले हो उनलाई जागिरबाट मोहभंग गरायो। पढ्ने बहानामा उनी नेपाल प्रहरीको जागिर लत्याएर हिँडे। 

उनलाई लाग्थ्यो, पढ्यो भने जागिर पाइहालिन्छ तर पढाईमा लाग्‍ने शुल्क तिर्ने स्थायी आयश्रोत उनी र परिवारसँग थिएन। 

कानुन पढेर पत्रकार

उनी आइएल पास गरेसँगै अदालती काममा लागे। एलएलबी पढ्दै थिए। तर त्यसबाट उनको मोहभंग भयो। पढ्दै जाँदा उनलाई लाग्यो, न्याय भन्दा पैसासँगको सट्टाबाजी मात्रै रहेछ। त्यो बेलादेखि वकालतमा लागेको भए उनीसँग काठमाडौंमा शानदार घर पनि हुन्थ्यो होला।

तर पैसासँग न्यायको सट्टाबाजीको कुरूप दृश्य सम्मानयोग्य लागेन उनलाई। सट्टेबाजी प्रणालीप्रति उनको लगाव बिस्तारै वितृष्णामा परिणत भयो। तत्कालीन अवस्थामा देश सशस्त्र युद्धको चपेटामा फस्यो। काम गर्ने माहोल पनि बिग्रियो। एकातिर काम गर्ने माहोल नबन्‍नु अर्कोतर्फ कामप्रतिको वितृष्णाको कारण उनी  सञ्चारकर्ममा लागे।

रेडियो यात्रा

उनी  पेन्टिङ गर्थे। बाल्यकालदेखि नै उनी आवश्यक खर्च आफ्नै कमाइबाट जुटाउँथे। ती बाहेक उनलाई साहित्य कला, संगीत र संचारकर्ममा पनि औधि रुचि थियो। 

यीमध्ये कुन न कुनैमा आफूलाई स्थापित गर्ने उनको लक्ष्य सुरुवाती चरणमा आर्थिक अभावले तुहिने अवस्थामा पुग्यो। एकातिर उनको न्यायलयतर्फ आकृष्ट हुन मन नलागेपछि गायक बन्‍न रेडियो नेपाल पुगे। तर गायन परीक्षामा फेल भए। संगीत सिके। रेडियोमा उद्घोषण तालिम लिए। यति मात्र होइन, उनी सन्ध्याकालिन पत्रिकामा पत्रकारिता सुरु गरे। उनले त्यहाँ बिनापारिश्रमिक लामो समय काम गरे।  त्यसबेला उनलाई रेडियो सगरमाथामा निम्तो आयो। त्यसबेला किरण नेपाल हिमालमा पत्रिकामा पुगे।

नेपाल हिमालतिर लागेपछि विष्टले सगरमाथामा जागिरे जिन्दगी सुरु गरे। यो २०५८ अगाडिको कुरा हो। प्रकाश साय्मी पनि रेडियो सगरमाथामा कार्यरत सिनियर कर्मचारी थिए। तत्कालीन अवस्थामा नेपालमा रेडियो खुल्ने लहर चल्यो। देशका विभिन्‍न जिल्लामा रेडियो खुले।  सायमीसँग तीन वर्षको सामिप्यताले धेरै कुरा सिकेको बताउँछन् विष्ट। 

साय्मी पोखरा हानिएपछि एकदिन बिस्टलाई फोन गरेर पोखरा बोलाए।  उनी बिनाकुनै योजना रेडियो अन्‍नपूर्णमा जागिर खान पोखरा हिँडे।  सो समय देखि उनी सोही रेडियोको समचार प्रमुख रहेका छन्। 

पोखराले माया मार्न दिएन

रेडियोको स्थापनदेखि नै उनी उक्त एफएममा कार्यरत छन्। उनले त्यहाँ समाचार वाचन, गीतसंगीतका कार्यक्रम संचालन गर्दै आएका छन्। पोखरामा उनी लोकप्रिय संचारकर्मीमा रुपमा चिनिन्छन्। कयौं पटक पोखरा छोडेर उनी काठमाडौं आउने कोशिस नगरेका होइनन् तर पोखरेली माटोको बासना र आत्मीयताले पोखरा छोड्न सकेनन्। 'अफरहरू आइरहन्छन्। तर अब पोखरेलीको मायाको लत लाग्यो। हिँड्नै मन लाग्दैन,' उनी भन्छन्।

साढे दुई दशकदेखि संचारकर्ममा लागिरहेका उनले आम व्यक्तिले एउटा रेडियो र रेडियोकर्मीबाट जेजति कार्यक्रमको अपेक्षा गर्छन् ती सबै कार्यक्रम संचालन गर्ने अवसर आफूले पाएको बताउँछन् उनी। 

पोखराको बहुआयामिक समाज, प्रकृति, संस्कृतिसँग उनको सामिप्यताले नै पोखरा छोडेनन् उनले। आर्थिक मनोकांक्षा पनि त्यति धेरै नभएकाले पनि उनले अफरहरू नकारिरहे। 

कहिलेकाहीँ केन्द्र भनेको केन्द्र नै हो भन्‍ने साथी सर्कलमा गफ हुन्छ। मिडियाकर्मीलाई केन्द्र र क्षेत्रको भिन्‍नता मानसिकतामात्र रहेको बुझाइ छ उनको। केन्द्र वा क्षेत्रमा बसेर एउटा संचारकर्मीले गर्ने भनेको आफ्नै कर्म हो। प्रविधिको विकाससँगै अब केन्द्र र क्षेत्र भन्‍ने केबल शब्द मात्रै रहेको बताउँछन् उनी। 

गीत लेखन

संचारकर्म मात्र होइन उनको परिचय। उनी गीतकारका रुपमा परिचित छन्। उनले पहिलो गजल एल्बम 'सागर' बजारमा ल्याए। जसमा आफ्नै  लेखनको थियो। झ्याम्म झ्याम्म एल्बम निकाले।  

दुई दशकअघि सहारा क्लबका लागि लेखेको गीत आज पनि गुञ्जिन्छन्। उनले कयौं क्लबका लागि खेलकुद गीत लेखे। नेपाल भलिबल संघका लागि लेखेको 'लौ आयो भलिबल' भन्‍ने बोलको गीतको लेखन पनि आर्जुले नै लेखेका हुन्। छैटौं राष्ट्रिय खेलकुदको 'हाम्रो जीवन खेलकुद' बोलको गीत पनि उनकै नाममा छ। तत्कालै सकिएको  सागमा आर्चरीतर्फ पनि उनैले एउटा गीत लेखेका छन्। उनका २  सय भन्दा धेरै गीत बजारमा आइसकेका छन्।

जनताको कुरा सुनिएन

साढे दुई दशकको रेडियो पत्रकारितामा लाखौं जनताको आवाज जनतासम्मै पुर्‍याए उनले। तर जनताको स्वरमा परिवर्तन देखेनन्। नेपालमा चलेका राजनीतिक आन्दोलनले जनताको मनोभावना  समेट्न नसकेको बुझाई छ उनको। 

हिजो रेडियो यात्रामा लाग्दा जनता गाँस बास कपास, न्याय, स्वतन्त्रताको सुनिश्चितता चाहन्थे। 'राजनितिक नेतृत्व र तिनीहरुले लिने दिशानिर्देश फराकिलो छैन', उनले भने, 'नेतृत्वको उद्देश्यसहितको गन्तव्य छैन। जसले गर्दा जनता आज पनि गास बास कपास शिक्षा स्वास्थ्य रोजगारको लागि आवाज उठिरहेको छ।' 

देश कस्तो बनाउने र जनताको आवश्यकता पुरा गर्ने भनेको राजनीतिक तह र नेतृत्वमा  बस्नेले तय गर्छन्। नेतृत्वले नेपाली जनताको वृहत्तर विकास कसरी गर्न सकिन्छ भन्‍ने कुराको भिजन बनाउन नसक्दा दुखदायी  समाचार लेख्न पढ्न परिरहेको बताउँछन्। 

अन्त्यमा

ठूलो मान्छे बन्‍न मुम्बईबाट नेपाल हानिएका विष्ट पोखरेली माटो र संचारकर्ममा रमाइरहेका छन्। विष्टलाई अन्त्यमा पंक्तिकारले मुम्बईको सेठको याद दिलाउँदै ठुलो मान्छे भएँ भन्‍ने लाग्छ कि लाग्दैन भनेर सोध्यो। उनी केही सम्झेझैँ गरि बोले, 'ठूलो मान्छे भएँ कि भइन, त्यो त थाहा छैन। तर सेठले गर्दा अर्थपूर्ण जीवन बाँचिरहेको छु।' त्यसछि उनले आँखामा चमक ल्याउँदै ओठबाट मुस्कान छोडिदिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.