|

सिन्धुपाल्चोक : निरन्तर गएको सुख्खा पहिरोले भोटेकोशी गाउँपालिकामा मानव बस्ती खतरामा परेको छ। वडा नम्बर २ मा रहेको दुधिलोडाँडा खसेर पहिरो आएपछि भैरवकुण्ड हाइड्रोपावरमा क्षति पुगेको छ। 

पहिरो आएपछि हाइड्रो पावरका कर्मचारीहरुले भागेर ज्यान जोगाएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार हाइड्रोको हेडर्वक्स, डेसन्डर, क्यानल, स्टाफ क्वाटर, एक स्काभेटर लगायतको भौतिक संरचना पहिरोले पुरेको छ। साथै, अन्य मेशिन औजारमा पनि क्षति पुगेको छ।

सुख्खा पहिरो निरन्तर झरिरहेकोले बस्ती र हाइड्रोलाई पुन क्षति पुग्ने खतरा रहेको प्रहरीले बताएको छ। पहिरोले नदीको केही भाग थुनिएको छ। नदी थुनिएको स्थानबाट एक किलोमिटर तल मानव वस्ती रहेकाले सर्तकता अपनाउन सबैलाई जानकारी दिइएको डिएसपी काफ्लेले बताए । 

पहिरो सोमबार दिउँसैदेखि झर्न थालेको र अझै नरोकिएको प्रहरीले जनाएको छ। हाइड्रोले हाल ८५० किलोवाट विद्युत उत्पादन गरिरहेको थियो। पहिरोका कारण हाइड्रोका सम्पूर्ण काम बन्द भएको छ। पहिरोबाट थप क्षति हुन नदिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.