विचार

यौनिक सम्बन्ध जसले पद्दति, नीति र योजना बदल्ने क्षमता राख्छ

नेपाली सन्दर्भमा यौनिक राजनीति

माघ ३, २०७६

    नेपाली समाजको सामाजिक-आर्थिक रूपान्तरणका प्रत्येक परिवेशमा झट्ट यौनिक राजनीतिक (Sexuality and Politics ) शब्द सुन्‍ने व्‍यक्ति पछि सर्ने, मौन बस्‍ने र प्रतिक्रिया जनाई नहाल्ने गरिन्छ। शब्दले महिला राजनीति, अधिकार, महिलाहरूको आर्थिक आधार र अहिले चलिरहेको बजार केन्द्रित राजनीतिको ठूलो क्षेत्र यस शब्दले ओगट्छ। एथेन्सदेखि हालसम्मको राजनीतिक-प्रजातान्त्रिक पद्धतिको यात्रामा यौनिक राजनीति रहेको छ भने मूलत: यो अहिले आएर बजारीकरण व्यापक रूपले भएको देखिन्छ।        

    भौगोलिक परिवेश र समय

    पुरुषहरूको आधिपत्य भएको समाजको मामलामा जसले आफ्नी पत्नी र छोरीहरूलाई छुट्ट्याउने, प्रजननमा महिलाको भूमिकालाई तुच्छ ठान्छन्। सार्वजनिक वेश्यालयहरूका प्रायोजक बन्छन्। पुरुष जननेन्द्रियको स्माकहरू खडा गर्छन्। हिजोको राजनीतिक, आर्थिक र सामाजिक   ऐतिहासिक रोमको रूपान्तरणको परिदृश्य पनि हुबहु यही थियो। 

    यसमा दासहरू पनि प्रयोग हुन्थे। समयसँगै हाम्रो विश्‍व र समय उपनिवेश युग हुँदै प्रजातान्त्रिक र गणतान्त्रिक र आर्थिक रुपले नवउदारवादी र मिश्रित अर्थतन्त्र तथा स्वतन्त्रता एवम् पहिचान खोज्‍ने बाटोतिर युग प्रवेश गरेको कुरा नभुली अध्ययन गर्नु पर्दछ।

    आज हामी यो समय, परिधि र भूमिमा आइपुगेका छौँ, जुन अकल्पनीय लाग्दछ। आजको अवस्था भनेको भूगोलमाथि सामाजिक, आर्थिक र राजनीतिक क्रियाकलापमाथि घोत्लिन लाग्नु पर्ने अवस्था हो र सामाजिक रूपान्तरण मानव जीवन सुखी र समृद्ध पार्नतिर लाग्नुपर्ने अवस्था  हो।   

    यौनिक राजनीतिको कारण, आत्मीयता र पहिचानको राजनीतिले गर्दा पाल्पा पुग्ने त्रिभुवन दिल्ली पुगे। यहाँ यही कारणले त्रिभुवनलाई पाल्पा लान ठिक्क परेको नेपाली कांग्रेस हिस्स परेको पनि मूल्यांकन गर्न सकिन्छ। अर्थात् यौनिक राजनीति चट्टानभन्दा सारो छ।  

      

    अहिलेको परिवेशमा नवउदारवाद र नयाँ विकासवादमा स्थिर राजनीति र प्रजातन्त्रका लागि नयाँ प्रकारका आशाहरू गम्भीर चुनौतीका रूपमा रहेका छन्। विश्वका विभिन्‍न भागमा कट्टरपन्थीको उदय, नेपालमा नयाँ उपनिवेशवाद अनि रूढीवादी,जमिन्दारी राजनीतिको उही प्रवृत्ति र प्रकृतिका रेसा रेसामा पसेर रूपान्तरण र व्यापारीकरणसँगै यौनिक राजनीति पनि नेपालमा फस्टाएको हिजोको अवस्थाभन्दा भिन्‍न विभिन्‍न अध्ययनले देखाएका छन्।

    जातजातिभित्रको विशेषता, सांस्कृतिक प्रवृत्ति र मूलराजनीतिक-आर्थिक बहावमा बसेर मूलप्रवाह विश्लेषण गर्दा यौनिक राजनीतिमा नश्ल, उत्तराधिकारी, गैरसरकारी संस्थाका एजेन्डा बोक्ने, स्वतः निर्णय गर्न सक्ने क्षमता, गर्भपतन, स्थानको रूपमा शरीरको राजनीति, स्वास्थ्य, वातावरण र समुदायको प्रतिक्रिया संयोजन, अन्तरजातीय विवाह, माया, प्रेम र यससम्बन्धी मूलभुत कानुन र सामाजिक मूल्य र मान्यता देखिन्छन्। 

    धर्म र यौनिकताको संस्थागत गाँठो  

    केट मिलेटको पहिलो र प्रख्यात पुस्तक, 'यौन राजनीति' सन् १९७० तिर लेखिएको छ। मिलेटको तर्क छ राजनीतिले सेक्सलाई बारम्बार उपेक्षित गर्दछ। यहाँ यस लेखकले भूमण्डलीकरणको रेसा समाएर नेपाल जाने बाटो देखाउने सानो प्रयास मात्रै गरेको हो।

    लागौँ, धर्म  (संस्था) तिर, इसाई दर्शनबारे मार्सेला लेख्छिन् क्रिश्चियानिटी सबै ईश्वर शास्त्र, यौन ईश्वर शास्त्र हो भन्दछन्। ईश्वर, येशु र मरियमसँगको सम्बन्ध व्याख्या गर्दछन्। यो धर्म संस्था यसरी जोडिन्छ भने हाम्रो हिन्दू धर्म पनि यस क्षेत्रको हाम्रो मन्दिरका टुँडाल, मूर्तिहरू र चित्रहरू पनि केही बोल्दै गरेको अध्ययन गर्न सकिन्छ।

    हाम्रो धर्म विज्ञानले  एक स्वीकृत या अचेतन यौनिक रूपले र राजनीतिक प्रशंसा सामाजिक मूल्य रमान्यता कायम राख्दै व्याख्या गरिरहेको पाइन्छ। यसलाई अन्यथा र अपव्याख्या गरेर लिइनु हुँदैन। अहिले नै हामी स्वस्थानीको कथा सुनिरहेको अवस्थामा छौँ। जहाँ कथा वस्तुभित्र माया, प्रेमका आरोह-अबरोह र सांस्कृतिक घुम्तीहरूले हाम्रो संस्कारको बाटो निर्दिष्ट गरेको देखिन्छ।        

    नेपाली सन्दर्भमा यौनिक राजनीतिको विषयहरू उठाउँदा संस्थागत रूपले धार्मिक संस्थाहरू, सांस्कृतिक विषयवस्तुहरू अनि हिमाली, मध्य पहाडी, चुरे भावर र तराईको भूगोल, रहनसहन र बसाइँसराइभित्र पसेर अध्ययनको साथै २५ जातजाति २९ भाषा भाषी बारे विश्लेषण गर्नुपर्ने हुन्छ। जुन यो छोटो लेखमा सम्भव देखिँदैन। संस्कृति र जातजातिअनुसार आफ्नाआफ्ना यौन र  यौनिक मूल्य र मान्यताहरू हुनु अनौठो नै होइन।

    सभ्यताको थालनीदेखि नै पुरुष र महिला एक आपसमा बाँधिएका छन्। उनीहरूबीचको सम्बन्ध हेर्न, परिवार, समाज, वातावरण, मानवीय परिधि, भूमि, राज्य र राज्यभित्रको व्यवस्थाका आधारमा हेर्न सकिन्छ। लैङ्गिक समानताको सिद्धान्त आर्थिक र सामाजिक धरातल यहीँ  उभिएको देख्न सकिन्छ।  

    यहाँ यौनिक राजनीतिको सन्दर्भका कुराहरू उठाउँदा बुढापाकाहरू आइमाईका कुरा सुन्छस् भन्थे। पँधेरामा कुरा काट्छन् भनिन्थ्यो। वास्तविक महिलालाई पुरुषले हेपेको हो र वास्तवमा त्यसमा यौनिक राजनीति रहेछ। यौन संसर्गमा लट्ठिएको पुरुष, आफ्नी श्रीमती, प्रेमिकाको कुरो बोकेर भेला, छलफल र बहसमा भाग लिने सहयोगी भावनाले आउँदो रहेछ। यौनिक राजनीतिमा यहाँ महिला पुरुष भन्दामाथि देखियो। पुरुषलाई आफ्ना एजेन्डा बोकाउन सक्ने, निर्णय गर्न सक्ने क्षमतावान पो देखियो। जोइटिङ्ग्रे भन्‍ने शब्दले नेपाली समाजमा रहेको पुरुष हुलाकी प्रतिविम्बित गरेको देखियो।

    गहिरिएर हेर्दा प्रत्येक मुलुकभित्रको कानुन, हुर्किएर आएको जातजातिको समूह, सामाजिक मूल्य मान्यता, परम्परा, सांस्कृतिक विविधता, रीतिथिति, भाषा, भेषभूषा, संस्कार, विकसित शैली, हाउभाउ र कटाक्ष र विकासका गतिसँगै महिलालाई पुरुषहरू सँगसँगै भेटिन्छ।

    अनि, त्यसले चलिरहेको भूगोलको परिदृश्य देखाउँछ भन्‍ने बुझिन्छ। हाम्रो मुलुकको अवस्था हिजोको हेर्दा सन् १९२० तिर जनसङ्ख्या ५५,३७,७६५ देखिन्छ भने सन् १९४१ मा ६२,८३,७१५ देखिन्छ। यसमा नेपाली महिलाहरूको मृत्युदर धेरै देखिन्छ भने सन् १९५२ तिर महिला पुरुष अनुपात ९५ र १३८ देखिन्छ। बालविवाह र जातीय पद्धतिले हामो समाजमा धेरै गहिरो जरो गाडेको देखिन्छ। त्यस समयमा साक्षरता लगभग २ दशमलव ९ प्रतिशत मात्रै छ। यो अवस्था आज परिवर्तन छ, हाम्रा मूल्य र मान्यताहरू बदलिएका छन्। 

    हिजोको यौनिक सम्बन्ध 

    यौनिक राजनीति खोज्दा मुख्य पेसा खेती अँगाल्ने पुरुष-महिलाहरू पनि बुद्ध र हिन्दू धर्मको संस्थागत सम्बन्धमा बाँधिएको बुझ्नुपर्दछ। एकल महिलालाई हेला गर्ने प्रवृत्ति अन्य मुलुकमा भए जस्तै हाम्रो मुलुकमा पनि पाइन्छ। सतीप्रथा धेरै जसोलाई अवगत नै छ। पुरानो हाम्रो समयमा अन्तरजातीय विवाह गर्नेलाई हेला गर्ने, जारी तिराउने, जार काट्ने, छोरीलाई पढाउन हुन्‍न भन्‍ने, नाबालक छोरीको विवाह गरिदिने, बोक्सी जस्ता आक्षेप लगाउने आदि जस्ता उत्पीडन महिलामाथि भएको देखिन्छ।

    यी विषयवस्तु प्रत्यक्ष र अप्रत्यक्ष राजनीति र शासकीय पद्दतिमा गएर जोडिन्छ। सन् १९६० को दशकअघि महिलाहरू घरको काममा धेरै जोतिएको देखिन्छ। बुहारी हुन धेरै कष्ट रहेको, राति ३ बजेदेखि ढिकी-जाँतोको कुटानी पिसासी गर्नुपर्ने अवस्थाले देखाउँछ। यो अवस्था अहिले पनि दुर्गम क्षेत्रका गाउँहरूमा अझै छ।

    जुन जात, थर, भूगोल, घर र पारिवारिक संरचनामा हुर्किएको महिला हुन्। उनको सोझो सम्बन्ध यौनिक राजनीतिसँग जोडिन पुग्दछ। राजा महाराज र संभ्रान्तहरूले धेरै श्रीमती राख्‍ने, ल्याइते , ब्याइते र सुसारेका सल्लाहमुताबिक राज्य चलाउने हाम्रो भूगोलमा प्रशस्त पढ्न पाइन्छ।

    अर्को परिवेशमा  

    भारत र पाकिस्तान विभाजनको अन्तिम समयका ब्रिटिश प्रतिनिधि लुइस माउन्टबेटनकी श्रीमती एडविना सिन्थिया एनेट माउन्टबेटनको भूमिका ठूलो देखिन्छ। नेहरू र लेडी एडविना माउन्टबेटनको प्रेम प्रसंग धेरै ठाउँ पढ्न पाइन्छ। जुन माउन्टबेटनकी छोरी नै बोलेकी छन्।

    उनीसँगै पाकिस्तानका मोहम्मद अलि जिन्‍ना पनि जोडिन्छन्। जिन्‍नाको जीवनी लेख्‍ने स्टेनली वाल्पर्ट सन् १९७८ लेख्दछन्, 'माउन्टबेटन र जिन्‍नाको बीचमा एडविना उभ्याइयो भने दुई काँडाहरूबीचको गुलाफको कारणले जिन्‍ना बोल्न लर्बरिनेछ्न्।' यहाँ एडबिनाको दुई रास्ट्र भारत पाकिस्तान विभाजनमै राम्रो उदाहरण यौनिक राजनीतिको देखिन्छ। नेहरूपछि गान्धी परिवारमा फिरोज गान्धी हुँदै नागरिकतासम्बन्धी राजनीतिक मुद्दाहरू जोडिँदै सोनिया गान्धीसम्म आइपुगेको देखिन्छ।

    राणा राजा महाराजादेखि गिरिजासम्म

    नेपाली सन्दर्भ हेर्दा धेरै उदाहरण राणा, शाहकालीन अवस्थामा यौनिक राजनीतिका विषयहरू पढ्न पाइन्छ। केही यहाँ लेख्दा रणबहादुर स्त्रीलम्पट भएको कुरा धेरै ठाउँमा अध्ययन गर्न पाइन्छ। त्यसरी नै पछिल्लो नेपाल हेर्दा ‘एउटी अग्ली, सुन्दरी र निक्खर गोरी विदेशी महिला नेपालको राजदरबारमा एरिका ल्युकट्याग सन् १९४९ को मार्चमा त्रिभुवनकी जेठी श्रीमती कान्ती राज्यलक्ष्मीको मालिस उपचार गर्न छिरिन्।

    उनै राजा त्रिभुवनकी प्रियसी बन्‍न पुगिन् भने उनैले भारतीय राजदूत सुरजीत सिंह र राजा र नेहरूबीच चिठी आदानप्रदान वातावरण मिलाएको देखिन्छ। जसको प्रतिफल राजा राणाहरूको बन्धनबाट निस्किए सन् १९५० नोभेम्बर ६ का दिन। राजा सपरिवार भारतीय दूतावासमा पसे, दिल्लीबाट फर्किएर पछि २००७ सालको प्रजातन्त्र आयो।

    यहाँ देखिएको महत्त्वपूर्ण पाटो यौनिक राजनीतिको परिणामले राजा र भारतीय दूतावास जोडिने वातावरण मिलाइदियो। जसले गर्दा राजनीतिक घुम्ती बाटो समात्यो। यो अध्ययन गर्दा सानो तर नेपालको प्रजातान्त्रिक आन्दोलनसँग र प्रजातन्त्रसँग जोडिएको देखिन्छ। त्यसैले यो यौनिक राजनीतिको कारण, आत्मीयता र पहिचानको राजनीतिले गर्दा पाल्पा पुग्ने त्रिभुवन दिल्ली पुगे। यहाँ यही कारणले त्रिभुवनलाई पाल्पा लान ठिक्क परेको नेपाली कांग्रेस हिस्स परेको पनि मूल्यांकन गर्न सकिन्छ। अर्थात् यौनिक राजनीति चट्टानभन्दा सारो छ।  

    नेपालको  राजदरबार र नीति निर्मातासँग जोडिएकी पत्रकार बारबरा एडम्स पनि देखिन्छिन्। सन् १९६० मा पहिलोपटक नेपाल आएकी उनी श्री ५ महेन्द्रका भाइ अधिराजकुमार बसुन्धरासँग लामो समयको प्रेम सम्बन्धपछि विवाह गरेकी उनले बसुन्धराको  देहान्तपछि दरबार हुँदै छाप्रोसम्म पुगिन्। उनको यौनिक राजनीतिले नेपालको व्यावसायिक पर्यटनको सुरुवात र प्रवर्धन गर्न, बैतडी र दार्चुला जिल्लाका भूमिहीनहरूलाई र सुकुम्बासीहरूका लागि घर बनाउन सहयोग देखिन्छ।

    साहित्यकार छिन्‍नलता पनि बसुन्धराकै कान्छी पत्नी पनि थिइन्। राज खान्दानकै धीरेन्द्रको प्रेमले राज खान्दान नै त्यागेको अर्को उदाहरण सेक्सुयालिटी र राजनीतिसँग जोडिन्छ। मुलुकी ऐनमार्फत नै  बहुविवाहलाई गैरकानुनी तोकिएको राजा महेन्द्रकै पालादेखि हो। तर, व्‍यावहारिकता र अभ्यास हाम्रोमा गएको देखिँदैन। 

    यसैगरी यहाँ यौनिक राजनीतिका विषयहरू पस्किदा, मार्क्स र जेनीको सम्बन्धले दास क्यापिटलदेखि कम्युनिस्ट मेनुफेस्टो जोडिन पुग्दछ। माओत्सेतुङको कान्छी श्रीमती चियाङ चिङ चिनियाँ सांस्कृतिक आन्दोलनसँग जोडिन पुग्दछिन्। सेक्सपियरदेखि बिपी कोइरालाको लेखन प्रेम, सेक्स र त्यस समयको राजनीतिसँग जोडिन्छ।

    वर्तमान राजनीति र महरा

    हिजो-आजको यौनिक राजनीतिको उदाहरण हेर्दा  शारदा शर्माको पुस्तकमा गिरिजा बाबुसँगको भेट, शारदा भुसालको पुस्तक अनुसार तत्कालीन शिक्षा मन्त्रीसँग जोडिन पुगेको देखिन्छ। अन्य राजनीतिक सम्बन्ध जोडिएका विषयहरूमा  नेपालको राजदूत पार्टीहरूको सिफारिस र नियुक्ति : श्रीमती र  प्रेमिकालाई सांसद बनाउने देखिन्छ। कहीँ कतै यौनिक र राजनीतिक तालमेलमा सम्बन्ध बिग्रिन पुगेको पनि देखिन्छ।

    पारिवारिकको एक सदस्यसँगको यौनिक सम्बन्धले मन्त्री ठूलो नेताकी बुहारी बन्दै अहिले देशको नीति निर्माता मन्त्री पद सम्हाल्ने अवसर जुटेको केहीलाई देखिन्छ। यसैगरी यौनिक राजनीति जोडिदा एमसीसी र यौन काण्डबाट सभामुख पद गुमाएको प्रस्ट छ।

    यसैगरी सेक्स, साना-ठुला  यौनिक सम्बन्धहरूले राजनीतिक-आर्थिक बहावमा नीति , योजनाको साथै पार्टीबाट निर्वाचनमा टिकट दिने वा पार्टी पद्धति र कार्य प्रणालीमा प्रभाव पारेको देखिन्छ। नेपालका पार्टीहरूभित्रको राजनीति बजारीकरणतर्फ उन्मुख छ।

    स्वतन्त्रता र खुल्ला समाजको वकालत गर्ने समाज यौनिक राजनीतिकरणतर्फ अर्थात महिला पुरुषबीचको सम्बन्धबाट कुन प्रकारले फाइदा प्राप्त हुन्छ त्योतर्फ गइरहेको राजनीतिक-आर्थिक वहाव देखिन्छ। मुख्य गरेर नेपालमा यौनिक राजनीतिले स्थापित संस्थाहरू व्यापारिक वातावरण, सामाजिक विकास, आर्थिक वातावरण, भौतिक र प्राविधिक पूर्वाधार, राजनीतिक स्वतन्त्रता र संस्कृति आदिमा रूपान्तरणको खाका कोर्दै लगेको देखिन्छ।

    यहाँ स्मरणयोग्य विषयवस्तुहरूमा यौनिक राजनीतिको पाखण्डपन नाबालक बलात्कार र ज्येष्ठ नागरिक बलात्कार देखिन्छ। अर्थात् पार्टीको स्वार्थ, राजनीतिक आडमा भोटिङ क्रेडिट बढ्छ र घट्छका आधारमा बलात्कारी कानुनी दायरामा ल्याइँदैन। त्यसैले यो यौनिक राजनीति गभरनान्स  शासकीय पद्दतिसंँग पनि जोडिन पुग्दछ।

    पद्दति, नीति र योजना बदल्ने यौनिक राजनीति     

    यो पुँजीबादी अभ्यासमा विश्वव्यापीरूपले विकसित मुलुकमा उठेका  शक्तिको बार्गेनिङका सफ्ट पावरका मुद्दाहरू नेपाल भित्रिएको गैरसरकारी संस्थाहरूले तल्लो ग्रास रुट तहमा पुर्‍याएको पाइन्छ। तर, स्रोत र साधनको अभावमा राजनीतिक वितृष्णा, श्रीमान् र परिवारप्रतिको नकारात्मक दृष्टिकोण,  खपत र इच्छाको विभिन्‍न रूपहरू उब्जाएको देखिन्छ।

    यसो भइरहँदा गैससहरू महिलाहरूको आर्थिक र सामाजिक जीवनमा रूपान्तरण गर्न,  श्रम, बसाइँसराइ, स्वास्थ्य, शिक्षा र आर्थिक रूपले दरिलो पार्ने विषयहरूमा ठोस विषयहरू बोलेको देखिँदैन। सार्वजनिक संस्कृति विकृत आधुनिकताका अनेक रूपहरूले आत्मपरक विषयहरू, पूँजी र शासकीय पद्धतिका व्‍यवहारिकता र अभ्यासमा पारिवारिक गाँठो कमजोर पारेको देखिन्छ। तर, एकल महिलालाई हेला, बोक्सी जस्ता विषयहरू टसमस देखिँदैन।         

    भूमण्डलीकरणको अवस्थामा राजनीतिक बार्गेनिङलाई सामान्य विषयहरू मान्दा चिनियाँ, जापानीहरूको जीवनमा समाजको यौनिक आनीबानी जस्तै पारिवारिक सम्बन्ध, घर परिवारबीचको आर्थिक हैसियत, स्वतन्त्रता, बिहेवारीको अवस्था आदि  फेरिएको देखिन्छ। हाम्रो अवस्थामा पनि धेरै सामाजिक,आर्थिक र राजनीतिक रूपान्तरण भएको देखिन्छ जहाँ नीति, योजना र जीवन दैनिकी नै बदलिएको देखिन्छ।

    यहाँ नेपालको सन्दर्भलाई लिएर अध्ययन गर्दा तीनवटा पाटाहरू प्रस्ट देखिन्छ। एउटा पाटोमा महिलाको स्वास्थ्य; जस्तै पाठेघर झर्ने समस्या, प्रजनन स्वास्थ्य, सुत्केरी स्याहारसम्भार, एड्सदेखि पाठेघरसम्मका गम्भीर समस्या छन्। यी विषयहरूमा हामी अध्ययन, अनुसन्धान र वास्तविक तथ्यांकमै छैनौँ।

    दोस्रो पाटो हेर्दा राजनीतिक मुद्दासँग र राज्यका  कानुनी शासनसँग जोडिएका सशक्तीकरण, प्रजनन अधिकार, बोक्सी , छाउपडी, जेन्डर जस्ता सफ्ट-विषयहरू जोडिएको देखिन्छ भने तेस्रो पाटोमा महिलाहरूको राजनीतिक-आर्थिक बहावमा राज्यको  नीति, योजना र शक्ति सञ्चालनमा के भूमिका रह्यो विश्लेषण गर्न सकिन्छ। 

    सबैजसो महिला र पुरुषसँग नै जोडिएकामा लक्ष्य छन्। मुख्य, लक्ष्य ५ मा लैङ्गिक समानता भनेर महिलासँग जोडिएको छ। हाम्रो जस्तो विकट भूगोल भएको मुलुकमा हार्डवेयर कार्यक्रम प्राथमिकतामा परेको देखिँदैन।  जब एक महिला शारीरिक र मानसिक रूपले स्वस्थ हुन्छिन् तब अधिकार खोज्दछिन् भन्‍ने देखिँदैन। यसलाई सुधार्न आवश्यक छ

    यौन र प्रजनन स्वास्थ्य एक व्यक्तिको सामाजिक, आर्थिक र स्वास्थ्यसम्बन्धी विकासको लागि एक महत्त्वपूर्ण कारक हो। माथि लेखिएको पहिलो पाटोमा राज्यको मूलभूत जिम्मेवारी हो त्यसमा कुनै सम्झौता हुन सक्ने नै स्थान छैन।

    दोस्रो पाटो हेर्दा हामी रूपान्तरणको अवस्थामा छौ। नेपालको मूल मुद्दा भनेको पहिलो पाटो हो तर नेपालमा काम गर्ने दाता र गैर सरकारी संस्थाहरू दोस्रो पाटो वा केही सीमित क्षेत्रमा र विषयमा काम गरिरहेका छन् जहाँ महिला स्वास्थ्य ओझेलमा परेको देखिन्छ। अर्थात्, उनीहरूको सरोकार धार्मिक आस्था भत्काउन वा   संस्थागत संरचना भत्काउन  र राजनीतिक जालझेल र तिकडम बढी देखिन्छ। जे पायो त्यही बिषयमा महिला अधिकार माग्दै सडकमा राँके जुलुस प्रदर्शन अनौठो लाग्दछ।

    त्यो संयुक्त राष्ट्रसंघअन्तर्गत गैरसरकारी संस्थाको पद्धति र कार्य प्रणालीअन्तर्गत नभएर, गैर सरकारी अधिकारवादी संस्थाहरूतिर गएर राज्यसँग राजनीतिक बार्गेनिङ र पैसो पचाउनमा उद्यत देखिन्छ। उनीहरूको यस्तो उद्‍देश्‍य ठिक छैन प्रस्ट भन्न सकिन्छ।

    यस्ता क्रियाकलापहरू रोक्न नेपाल सरकारले  गैससमार्फत हुने साझेदारीका योजना, कार्यक्रम र उपलब्ध हुने प्रतिफल, प्रभाव, प्रभावकारिता, परिणाम र दिगोपनाको विस्तृत अध्ययन गर्न र गराउने व्यवस्था र त्यही आधारमा स्वीकृति दिने व्‍यवस्था र नियमन गराइनुपर्दछ। यहाँ नेपाली महिलाको आवश्यकता भनेको महिला स्वास्थ्य र उनीहरूलाई आर्थिक रूपले सबल र सक्षम बनाउनतिर लाग्नुपर्ने देखिन्छ।  

    दिगो विकासका लक्ष्यहरूमा हाम्रो संसार परिवर्तन गर्न भनेर राखिएकाहरूमा सबैजसो महिला र पुरुषसँग नै जोडिएकामा लक्ष्य छन्। मुख्य, लक्ष्य ५ मा लैङ्गिक समानता भनेर महिलासँग जोडिएको छ। हाम्रो जस्तो विकट भूगोल भएको मुलुकमा हार्डवेयर कार्यक्रम प्राथमिकतामा परेको देखिँदैन।  जब एक महिला शारीरिक र मानसिक रूपले स्वस्थ हुन्छिन् तब अधिकार खोज्दछिन् भन्‍ने देखिँदैन। यसलाई सुधार्न आवश्यक छ।

    हाम्रो संविधानको धारा  २५२ मा  ‘राष्ट्रिय महिला आयोग’ प्रस्ट रूपमा राखेको छ। धारा  २५३ भित्रको ‘घ’ भित्र “लैङ्गिक समानता, महिला सशक्तीकरण तथा महिलासँग सम्बन्धित कानुनी व्यवस्थाको अध्ययन, अनुसन्धान गरी त्यस्ता कानुनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सम्बन्धित निकायलाई सिफारिस गर्ने र सोको अनुगमन गर्ने” प्रस्ट लेखिएको छ। त्यसैले महिलासम्बन्धी यी विषयहरूलाई अभ्यास र व्‍यवहारिकता लैजानु आजको आवश्यकता हो।   

    अहिलेको राजनीतिक आर्थिक बहावमा विश्वव्यापी पुँजीवादको प्रचार प्रसारले हाम्रो सामाजिक असमानता, परिवारलाई खण्डित, परम्परागत सामाजिक सम्बन्धबाटविच्छेद जस्ता विषयहरू चर्काएको अवस्था छ भने हाम्रा कानुनहरूमा lesbian-gay, bisexual-transgender-queer (LGBTQ); राजनीतिमा ३३ प्रतिशत महिलाको सहभागिता र समानुपातिकमा महिला अनिवार्यता बनिसकेको अवस्था देखिन्छ।

    यसै विषयलाई माग अधिकार प्राप्ति  तर्फबाट बितेका दुई वर्षको मूल्यांकन उपलब्धि तर्फबाट हेर्दा बोकाको मुखमा कुभिन्डो देखिन्छ। यसले हाम्रो शैक्षिकस्तर खस्किएको देखाउँछ भने पार्टीहरूमा पद्धति र प्रणाली नभएको जनाउँछ।

    यस नवउदारवादी बहावको दातामुखी राज्य सञ्चालनमा दाताहरूले पार्टीमा निर्णय गर्ने नेतृत्वलाई नचाएको  सरकारका मन्त्रालयहरू नचाएको  र तल्‍लोतहबाट साझेदारीमा कार्य गर्ने गैरसरकारी संस्थाहरूले नचाएको देखिन्छ। तर, गिट्टी कुटेर पेट पाल्ने, दुईचार मुठा तोरीको साग बेचेर परिवार पाल्ने , तराईमा बाँसका ढकी र मान्द्रो बेच्ने महिलाहरूप्रति चासो राखेको देखिँदैन। यस्ता संस्थाहरू नेपाली संभ्रान्त महिलाहरूको पैसो कमाउने बाटो भित्री उद्देश्य रहेको उनीहरू जोडिएको संस्थाहरू र तिनका प्रकाशनहरू अध्ययन गर्दा देखिन्छ।

    प्रसंग छाउ गोठको

    नेपाल सरकार छाउपडीका गोठ धमाधम भत्काउन व्यस्त देखिन्छ भने कर्णाली प्रदेशले  जन्मिनेबित्तिकै कर्णालीमा छोरीको नाममा बैंक खाता र मासिक भत्ता र प्रदेश २ बेटी पढाऊ बेटी बचाउ अभियानतिर लागेको देखिन्छ तर प्रतिफल प्राप्त भएको छैन।

    सांस्कृतिक संरचना र पारिवारिक संरचनाले यौनिक राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यिनै विषयहरूलाई दोहोरो केलाउँदा बजार केन्द्रित वा बजारमुखी राजनीतिले गर्दा संस्था नेपाली परिवारमा द्रुत परिवर्तन हुँदै गएको सामान्य 'लिभिङ टुगेदर' जस्ता विषयहरूले देखाउँदछ।

    महिनावारी वा नछुने हुने भनेको प्राकृतिक नियम हो यो पूर्वी नेपालमा घरभित्र नै ४- ५ दिन बार्ने र नबार्ने प्रचलन सहज छ। यहाँ छाउपडी प्रथालाई अछाम, कालिकोट आदि जिल्लाहरूमा गैरसरकारी संस्थाहरूमार्फत अन्तर्राष्ट्रियकरण गरियो भने कुल देवता रिसाउँछन् भन्ने मान्यता गाउँले, प्रदेश सांसदहरू र स्थानीय तहका जनप्रतिनिधिहरूको देखियो। सरकार माथि दबाब सिर्जना गरियो तर यस माथिको स्वार्थ  त्रिकोणात्मक देखियो।

     छाउपडीलाई आधुनिकीकरण गर्नु अत्यावश्यक देखिन्छ। सरकारले गुजुक्क परेका बस्तीहरूमा आधुनिक छाउ गोठ जहाँ ४-५ दिनसम्म स्वास्थ्य भोजन, सफा सुग्घरलाई तातो चिसो पानी, इन्टरनेट सेवा, स्वास्थ्य कार्यकर्ता आदि राख्दै त्यही छाउ गोठलाई, आराम गृह, स्वास्थ्य चौकी वा अन्य ग्रामीण स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदा सहज र सरल हुनका साथै र सामाजिक रूपान्तरण हुने देखिन्छ।

    राजनीतिमाथि यौनिक प्रभाव

    सार्वजनिक संस्कृति, मानवीय गौरवका, विशिष्ट सांस्कृतिक क्षण, सांस्कृतिक प्रक्रियाहरू र संरचनामा पुरुषत्व देखाउँदै रसियामा पुटिनले निर्वाचन जितेका हुन्। उनको शैलीलाई त्यहाँका महिलाहरूले रुचाइदिए जसले गर्दा राष्ट्रपति चुनाव जिते। हाम्रो नै उदाहरण लिँदा पञ्चायतकालीन समयमा एकाघरकी श्रीमतीले आफ्ना पतिलाई भोट नदिएर माइती पक्षका आफ्ना भाइलाई भोट दिएर पतिले एक मत निर्वाचनमा ल्याएका उदाहरण छन्।

    सांस्कृतिक संरचना र पारिवारिक संरचनाले यौनिक राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यिनै विषयहरूलाई दोहोरो केलाउँदा बजार केन्द्रित वा बजारमुखी राजनीतिले गर्दा संस्था नेपाली परिवारमा द्रुत परिवर्तन हुँदै गएको सामान्य 'लिभिङ टुगेदर' जस्ता विषयहरूले देखाउँदछ। सांस्कृतिक रूपले आधुनिकता राजनीतिमा हावी हुन जान्छ भन्ने कुरा बुझ्न जरुरी देखिन्छ।

    यौनिक सम्बन्धले बजारीकरण राजनीतिलाई आर्थिक लाभको महत्त्वपूर्ण पाटो बनाउँदा  गोपनीयता, आत्मीयता, भावनात्मकका सम्बन्ध र व्यक्तिका बारेका विषयहरू भूमण्डलीकरणको  पाटो र विकेन्द्रीकरणको पाटोको दोहोरो द्वन्द्वले सडकमा आइपुग्छ। यो दोहोरो द्वन्द्वको संयन्त्र संघीयता र शक्ति विकेन्द्रीकरणको अवस्था धेरै कम मात्र राजनीतिकर्मीलाई ज्ञान हुन्छ।

    यहाँ तिनै राज्यहरूका केन्द्र, प्रदेश र स्थानीय राजनीतिक प्रतिस्पर्धामा पार्टीभित्र महिलाको राजनीतिक समर्थनको यौनिक प्रभाव औपचारिक र अनौपचारिक रूपले पर्न जान्छ। यसलाई व्यवस्थित गर्न खाँचो हुन जान्छ।

    आजको हाम्रो अवस्था भनेको यौनिक राजनीतिलाई स्वास्थ्य, वातावरण र जन समुदायको प्रतिक्रियाहरूको संयोजन गर्दै शरीरको राजनीति, जलवायु आदि इत्यादि विषयवस्तुलाई आर्थिक र सामाजिक रूपान्तरणको संस्थागत संरचना, प्रणाली, कार्य योजना बनाएर  नेपाली समाजलाई सुन्दर, सुखी बाटो हिँडाउनु हो।

    शरणार्थीदेखि बसाइँसराइ आएर जोडिएको  विविध संस्कृतिहरू युक्त यो मुलुकमा यौनिक राजनीतिले मात्रै उमेर, पारिवारिक संरचना र आधारहरू, लिंग, नागरिकता, धर्म र नस्ल एकमुष्ट राष्ट्रिय नीतिले समेट्न धेरै ठूलो मिहिनेत र अभ्यास चाहिन्छ वा यो सकिँदैन।

    त्यसैले तिनै तहका सरकारले आफ्ना कानुन, ऐन, नीति र आर्थिक कार्यक्रममा सबैलाई समेट्न स्पेस, परिधि, समय र भूगोल साथै सामिप्यता र  कनेक्टिभिटी  मुताबिक जानु संघीय व्यवस्थामा आवश्यक  छ।  

विनोद न्यौपाने

न्यौपाने नेपालमा संघीयता र राजनीतिक- आर्थिक वहाव पुस्तकका लेखक हुन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]