भारतसँगको अनौपचारिक छलफल सकारात्मक

|
फाइल फोटो

काठमाडौं : नेपाल उत्पादन नभए पनि सबैभन्दा ठूलो राजस्वको हिस्सा ओगटेको पाम तेलको निर्यातको बाटो खुलाउन सफलता नजिक पुगेको छ।

यसबारेको जानकारी उद्योग वाण्ज्यि तथा आपूर्ति मन्त्रालयका अधिकारीले दिएका हुन्। गत बुधबार भारतले पाम तेललाई प्रतिबन्धको सूचिमा राखेपछि नेपालका व्यापारी र सरकार यसलाई खुलाउन जुटेका थिए।

नेपालमा उत्पालिन अन्य वस्तुको निर्यातमा हुने भन्सार अवरोध हटाउन सरकारले सहजीकरण नगरेको गुनासो निजी क्षेत्रले गरिरहेका बेला पाम तेलमा भने विशेष चासो देखाएको हो। यसले निजी क्षेत्रका व्यवसायीहरु खुसी देखिएका छन्। 

पछिल्लो पाँच दिनको अवधिमा सरकारले नेपाल भित्रका एक दर्जन भन्दा बढी निकायसँग छलफल गरेको थियो।  भारतसँग औपचारिक छलफल तयारी गरेको नेपालले अहिले अनौपचारिक छलफ गरिसकेको जनाएको छ।

‘पामको विषयमा मन्त्रालयले जुनकिसिमको मिमिनेत गरेको छ, त्यसको फल केही दिनमै देखिनेमा हामी ढुक्क छौँ’ मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले यो बीचमा औपचारिक छलफल नगरे पनि अनौपचारिक रुपमा कुराकानी भएको छ। भारतीय पक्ष हामीसँग सकरात्मक देखिएको छ, छिट्टै रिजल्ट पाइनेछ।’

नेपालमा उत्पादित वस्तुहरुको निर्यात बढ्न नसकेको अवस्थामा तेस्रो मुलुकबाट आयात गरेर भारतमा निकासी भएको पाम तेलका कारण निकासीमा उल्लेख्य सुधार देखिएको थियो। यो अवस्थामा सरकार सक्रियताका साथ पामको प्रतिबन्ध खुलाउने प्रयासमा लागेको छ।

सरकारको प्रयासबाट व्यवसायीहरु उत्साहित छन्। ‘पाम तेलका विषयमा सरकारले देखाएको चासोबाट हामी निकै आशावादी भएका छौँ,’ पाम आयात तथा निर्यात व्यवसायी सन्दीप गडियाले भने, ‘हामी मात्रैको प्रयासले केही हुने थिएन, सरकार नै लागेपछि खुल्नेमा आश्‍वस्त छौँ, सरकारको मिहिनतले हामी उत्साहित छौँ।’

पाम तेलको प्रशोधन लगायतमा करिब १० अर्ब रुपैयाँ निजी क्षेत्रको लगानी रहेको भन्दै व्यवसायीहरुले यति ठूलो रकम डुब्नबाट जोगाउन सरकारसँग आग्रह गरेका थिए।

सरकार गत विहीबारबाट पाम तेलको विषयमा समाधानका लागि छलफल सुरु गरेको थियो। अहिले अन्य वस्तुको उत्पादन र निर्यात वृद्धि गर्न समस्या परेको अवस्थामा पाम तेलको निर्यातलाई सरकारले प्राथमिकता दिएको हो । 

चालु आर्थिक वर्षमा पाम तेलबाट मात्रै निर्यात वृद्धि भएको छ। पाँच महिनाको अवधिसम्म नेपालले १० अर्ब रुपैयाँको निर्यात वृद्धि गरेको छ।

गत वर्षको पाँच महिनामा ३७ अर्ब रुपैयाँको निर्यात भएकोमा चालु आर्थिक वर्षको पाँच महिनामा ४७ अर्ब रुपैयाँको निर्यात भएको छ।  सबै वृद्धिदर पाम तेलको कारण देखिएको छ।

पाँच महिनाको अवधिमा गत वर्षको त्यही अवधिको तुलनामा ७५६ प्रतिशतले वृद्ध भइ १० अर्ब रुपैयाँ बढी देखिएको छ। गत वर्ष यस समयमा एक अर्ब ३४ करोड रुपैयाँको आयात भएकोमा चालु आर्थिक वर्षको पाँच महिना ११ अर्ब १५ करोड रुपैयाँको निर्यात भएको छ।  

अर्थविद्हरु गत वर्ष पनि नेपालको निर्यात वृद्धिदर पाम तेलकै कारण सम्भव भएको बताउँछन्। आर्थिक वर्ष २०७४/७५ मा नगन्यरुपमा भएको पाम तेलको आयात अघिल्लो वर्ष आर्थिक वर्ष २०७५/७६ मा  १० अर्ब ३३ करोड रुपैयाँको भएको थियो। 

पाम तेल चार देशबाट आयात गरेर नेपाले भारतमा मात्रै बेच्ने गरेको छ। यसले स्थिर जस्तो देखिएको निर्यात व्यापार वृद्धिदर देखाएको एकतर्फी रहेको देखाउँछ। अर्कोतर्फ भन्सार राजस्व पनि घटेको अवस्थामा नेपालमा खपत नहुने वस्तुको आयात गरेर पनि राजस्व बढेको छ।

सरकारले निर्यात व्यापार सुधार भएको भन्दै प्रचार गरिरहेको अवस्थामा घटिरहेको भन्सार राजस्व वृद्धिमा महत्वपूर्ण योगदान पाम तेलको आयातबाट भएको थियो। नेपालबाट निकासी हुने वस्तुमा पाम पहिलो नम्बरमा छ भने नेपालमा सबैभन्दा बढी आयत हुने वस्तुमा पाम नै १२औँ नम्बरमा छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.