प्वाइन्ट तोकियो , सीमास्तम्भ राख्‍न बाँकी

|
फाइल तस्बिर

दार्चुला : नापी विभागको टोली दार्चुला पुगेर कालापानीबाहेक अन्य क्षेत्रमा नेपाल–भारत सीमास्तम्भहरु निर्धारण गरको छ। तथ्यांक लिन ४ वर्षअघि दार्चुला पुगेको नापीको टोली दोस्रो पटक यही साता यहाँ आएको हो। 

दुहुँ गाउँपालिका वडा नम्बर-१ कैचुलालाई सर्भे बेस मानेर बसेर जीपीएस र स्याटेलाइटका माध्यमबाट प्वाइन्ट निर्धारण गरिएको नापी विभागका प्रमुख नापी अधिकृत जनकबहादुर भण्डारीले बताए। 

उनको नेतृत्वमा भारतीय सर्भेयरसमेत रहेको टोलीले नेपाल र भारतबीच सीमास्तम्भ राख्ने प्वाइन्टहरु निर्धारण गरेको हो। नेपाल र भातरबीच दार्चुलामा २ सय किलोमिटर सीमाक्षेत्र छ। 

विवादित क्षेत्र (कालापानी र सुस्ता) बाहेक अन्य स्थानको सीमा निर्धारण गर्ने जिम्मेवारी बोर्डर वर्किङ ग्रुपले पाएको थियो। उक्त ग्रुपले निर्धारण गरेको प्वाइन्ट अनुसार दार्चुला र भारतका बिचमा २ सय ६ वटा सीमा स्तम्भ कायम भएका हुन्। 

यो क्षेत्रमा ५७ वटा मूख्य र १ सय ४९ वटा सहायक सीमा स्तम्भ रहने र महाकाली नदीले बहाव फेरे पनि ती बिन्दुहरु जहाँको तहीँ रहने नापी अधिकृत कमल बहादुर शाहीले जानकारी दिए।

कालापनी र सुस्ता बाहेक टुंगियो

नेपाल  र भारत दुवै देशका प्राविधिकहरु सम्मिलित बोर्डर बर्किङ ग्रुपले कालापानी र सुस्ताबाहेक सबै क्षेत्रको सीमा निर्धारण गरिसकेको नापी विभागका नापी अधिकृत भण्डारीले बताए।

सीमा निर्धारण भएपछि पिल्लर राख्ने काम मात्रै बाँकी रहेको उनले बताए। दार्चुलामा पनि विवादित क्षेत्रभन्दा दक्षिणतिरको सबै भूभागमा सीमा स्तम्भ राख्ने बिन्दु निर्धारण भइसकेको र दुवै देशले तयारी पूरा गरेपछि स्तम्भहरु निर्माण गरिने उनको भनाई छ। 

देशभर चार टोली खटाएर सीमा निर्धारणको काम अगाडि बढाइएको थियो। दुवै देशले सहमति गरेर सुस्ता र कालापानी क्षेत्रमा सीमा निर्धारण सुरु भएसँगै प्राविधिकहरुले काम सुरु गर्ने तयारी गरेको नापी प्रमुखको भण्डारीको भनाई छ। 

‘अहिले कालपानी र सुस्ताबाहेकको क्षेत्रमा सीमा निर्धारण गर्ने निर्देशन अनुसार काम गरिएको हो’, उनले भने।  

संयुक्त टोली 

सीमा निर्धारण गर्न दुवै देशका संयुक्त टोली परिचलान गरिएको हो। नापी विभागका प्रमुख नापी अधिकृत जनकबहादुर भण्डारीको नेतृत्वमा नापी अधिकृत कमल बहादुर शाही र भारतीय नापी विभागका सर्भेयर नेत्र सिंहले नेपालतिरको बेसबाट प्वाइन्ट निर्धारण गरेको थियो। 

भारततिर पनि भारतीय नापी विभागका प्राविधिकहरुको नेतृत्वमा सर्भे टोली परिचालन गरिएको हो। टोलीमा नेपालका तर्फबाट नापी अधिकृत महादेव भट्टको सहभागिता रहेको थियो। भारत तर्फ पिथौरागढ जिल्लाको सामामा बेस निर्धारण गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.