|

काठमाडौं : पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबारबाट साँझबाट नेपालको पश्चिमी भू-भागमा प्रवेश गरेको उक्त प्रणालीको प्रभावले देशको पश्चिमी भू-भागका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने महाशाखाले जनाएको हो।

'बुधबार (माघ १ गते) साँझबाट नेपाल प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार राति देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरूमा हल्का हिमपात को सम्भावना रहेको छ' मंगलबार जारी गरिएको मौसमी बुलेटिनमा उल्लेख गरिएको छ।

यो प्रणालीका कारणले बिहीबार देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै थोरै स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै मध्य तथा पश्चिमी पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र सोही भू-भागका १-२ स्थानमा भारी वर्षाको संभावनासमेत रहेको छ। देशको पूर्वी भू-भागमा बिहीबार आंशिकदेखि सामान्य बदली भई १-२ स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो प्रणालीको प्रभाव देशभर शुक्रबारसम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.