दाङ : माघे संक्रान्तिलाई नेपालका विभिन्न जातजातिहरूले मनाउँदै आएका छन्। यस पर्वलाई थारू समुदायले माघी पर्व र नयाँ वर्षको रूपमा धुमधामका साथ मनाउन गर्दछन्।
माघ १ का दिन थारूहरूले वर्षभरी गरेका कामकाजको समीक्षा गर्दै आगामी वर्षका लागि योजना बनाउँछन्। यस्तै, टोलमामा गुरूवाहरू चुन्नु गर्दछन्। पर्वको अवसरमार मौलिक खाना बनाएर खाने गर्दछन्। थारूहरूले माघी पर्व एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाउने प्रचलन छ।
तर, पछिल्लो समय माघीको अवसरमा गरिने कार्य, खानेकुरा बनाएर खाने प्रचलन बिस्तारै हराउँदै गएको छ। नयाँ पुस्ताले परम्परामा चासो नदिएकाले उक्त मौलिक संस्कार लोप हुँदै गएको थारू अग्रजहरू बताउँछन्।
पहिले पहिले माघी पर्वको दिन बिहानै मादल बजाएर गीत गाउँदै खोलामा नुहाउन जाने र घरमा आएर मान्यजनलाई ढोक गर्ने, खाना खाने र नाचगान गर्ने चलन थियो। तर, उक्त प्रचलन हराउँदै गएको घोराही उपमहानगरपालिका–१७ क्बाडीमकी ६७ वर्षीया कौघी चौधरीले बताइन्। ‘माघीको दोस्रो दिन आफ्ना चेलीबेटीहरूको घरमा पुगेर निस्राउँ दिइन्थ्यो। चेलीबेटीहरूलाई ढकिया भरी चामल तथा तरकारीहरू दिइन्थ्यो,’ उनले भनिन्, ‘अहिले समानको सट्टा पैसा दिइन्छ। पहिलेको जति अहिले रमाइलो अहिले हुँदैन।’
माघीमा सुँगुरको मासु, आलु, घुइयाँ, तरूल, साग, मुला, सिन्की, रोटी, सुकेको माछा, ढिग्री आदि परिकार बनाएर खाइन्छ। तर, नयाँ पुस्ताले ती परिकार बनाउन छाडेको ७२ वर्षीय वेचन चौधरी बताउँछन्। यस्तै, मादल बजाएर गीत गाउँदै नुहाउन जाने चलन पनि हराउँदै गएको उनको भनाइ छ। माघी पर्वमा मुख्य परिकारका रूपमा लिइने श्याम जिरा, सेता धान, गक्या, तिल्की धान, मसुली, सिमचारो धान आदि लोप हुँदै गएको छ।
माघीको अवसरमा थारू समुदायमा रहेको मटहवा (अगुवा) चयन गर्ने प्रचलन छ। त्यसैले यस दिन थारू समुदायको दिन भएको थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।