नेपालीको दु:ख देखाएर विदेशबाट डलर!

|

काठमाडौं : अमेरिकी नागरिक मिसेल अलेक्जेण्ड्रा वेल्चले नेपालमा बसेर पैसा कमाउने अवैध धन्दा चलाइरहेकी छन्। पोखरामा बसेर नेपालका विभिन्‍न समस्या देखाउँदै उनले विदेशबाट रकम संकलन गरिरहेकी छन्। 

६ वर्षअघि नेपाल घुम्‍न आएकी मिसेलले पछिल्लो समय बिजनेस भिसामा नेपाल बसेर अवैध धन्दा चलाइरहेको पाइएको छ। भिजिट भिसाबाट नेपाल प्रवेश गरेकी मिसेल रिसर्चका लागि नेपाल आएर पोखराको पृथ्वीनारायण क्याम्पसमा पढाउन थालिन्।

रिसर्च भिसाको पनि म्याद सकिएपछि उनी २ वर्षयता बिजनेस भिसामा पोखरा बसिरहेकी छन्। उनले पोखराको न्यूरोडमा लर्निङ हाउसको नामबाट अशिक्षा, गरिबी, स्वास्थ्य क्षेत्रमा निशुल्क सेवा गर्ने भन्दै विदेशवाट रकम उठाउँदै आएकी छन्। गुम्बाको समस्या देखाएर पनि उनले सहयोग संकलन गरिन्। तर संकलित रकम पोखरा आइपुगेन। 

माटेपानी गुम्बाको नाममा १० हजार डलर 

अन्तराष्ट्रियस्तरमा सहयोग संकलन गर्न प्रयोग गरिने अनलाइन इन्डिगोगोमा नेपालमा लोडसेडिङको समस्या देखाउँदै पोखराको एक गुम्बामा नविकरणीय ऊर्जा प्रयोग गर्ने योजना लेखेर सहयोग मागिन्।

उनले त्यस अनलाइनमा पोखराको माटेपानी गुम्बाका भिक्षु र विद्यार्थीका समस्या उल्लेख गर्दै भिक्षुहरुको फोटोसहित लेखेकी छन्,‘नेपालमा दैनिक १६ घण्टा लोडसेडिङ हुन्छ, यो लोडसेडिङ हटाउन, गुम्बाका कक्षाकोठा र गुम्बामा नवीकरणीय बिजुली प्रदान गर्न चाहन्छौँ।’

उनले इन्डिगोगोमार्फत सहयोग माग गरेपछि केही समयमै १० हजार भन्दा धेरै अमेरिकी डलर जम्मा भयो। अहिले माटेगुम्बामा लोडसेडिङ छैन। तर, मिसेलको सहयोगबाट नभइ नेपाल विद्युत् प्राधिकरणले नै नियमित विद्युत् प्रशारण गरिसकेको छ।

मिसेलले माटेपानी गुम्बामा नविकरणीय ऊर्जा जडानका लागि उठाएको रकम नेपाल नै आएन। त्यो पैसा कहाँ लगानी भयो मिसेलले खुलाएकी छैनन्।  

लर्निङ हाउसको नाममा १४ हजार डलर 

६ वर्षदेखि पोखरालाई केन्द्र बनाएर ठगी धन्दा चलाउँदै आएकी मिसेलको अर्काे धन्दा पोखरामा रहेको ‘लर्निङ हाउस’बाट सुरु भयो।

समुदाय, नेतृत्व विकास र शिक्षाका लागि भनेर लर्निङ सेन्टर सञ्चालन गर्न सहयोग मागेपछि १४ हजार १७६ अमेरिकी डलर जम्मा भयो। यो रकम पनि उनले नेपाल ल्याइनन्, कहाँ गयो खुलेको छैन।

उनले सहयोग संकलनका लागि प्रयोग गरेको इन्डिगोगो अनलाइनले उल्लेख गरेअनुसार पोखराका गरिब जनतालाई कफी बनाउने तालिम, नेतृत्व विकास तालिम सञ्चालन गर्न पनि सहयोग संकलन गरेकी थिइन्। उनले यी शिर्षकमा कति रकम संकलन गरिन भन्‍ने खुलेको छैन। उनले उठेको रकम कहाँ खर्च गरेकी छन् कसैलाई पत्तो छैन। 

फिल्म फेस्टिभल गर्न ४ हजार डलर

मिसेलले पोखरामा पहिलो आउट डोर फिल्म फेस्टीभल गर्न पनि सहयोग आह्वान गरिन। उनले फिल्म फेस्टिभलका लागि २०१८ को सेप्टेम्बर ९ गते सहयोग आह्वान गरेकी थिइन।

यस शीर्षकमा ३९२० अमेरिकी डलर सहयोग संकलन भएको देखिन्छ । सहयोग संकलन भए पनि उनले पोखरामा फिल्म फेस्टिभलको आयोजना नै गरिनन्। संकलित रकम कहाँ खर्च भयो भन्‍ने खुलेको छैन। 

ठग्‍नकै लागि लागि ‘खाता लाइफ’ वेबसाइट 

इन्डिगोगोमार्फत लगातार सहयोगको आह्वान गर्दा दाताहरुले शंका गर्ने अनुमान लगाउँदै मिसेलले आफैँ ‘खाता लाइफ’ नामको वेभसाइट सञ्चालनमा ल्याइन्।

उनले आफ्नो स्वामित्वमा रहेको खाता लाइफमार्फत पनि ७ लाख भन्दा धेरै अमेरिकी डलर संकलन गरिसकेको लेखेकी छन्। यो रकम पनि उनले कहाँ खर्च गरेकी छन् कसैलाई थाहा छैन। सहयोग संकलन भने जारी छ। 

....र अमेरिकी दुतावासले रद्द गर्‍यो ‘फण्ड’

नेपालमा बसेर अमेरिका तथा विभिन्‍न देशबाट सहयोग संकलन गरेकी मिसेलले वेबसाइटमा आफुलाई सामाजिक कार्यकर्ता र लेखक भएको उल्लेख गरेकी छन्। विभिन्‍न ठाउँबाट सहयोग आउने क्रम जारी रहेकै अवस्थामा उनले अमेरिकी सरकारबाट मान्यताप्राप्त प्रोजेक्ट पनि ल्याउन सफल भइन्।

अमेरिकी अर्थ सरकारी सामाजिक सहयोग कोष ‘फुल ब्राइट’ को प्रोजेक्टले आफुले सहयोग गरेको रकम व्यवसायिक काममा खर्च गर्न नपाइने नियम बनाएको छ।

तर, मिसेलले पोखरामा सुरु गरेको लर्निङ हाउस व्यवसायिक भएको थाहा पाएपछि अमेरिकी दूतावासको सहयोगमा उक्त प्रोजेक्ट नै खोसियो। दूतावासले मिसेलको लर्निङ हाउसका लागि आएको रकम पनि रद्द गरिदियो।  

मिसेलविरुद्ध प्रशासनमा उजुरी 

सहयोगको नाममा विभिन्‍न माध्यमबाट रकम संकलन गरेर नेपालमा खर्च नगर्ने मिसेलविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी परेको छ। जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीमा पोखराको न्यूरोडमा रहेको लर्निङ हाउस प्रालिले नियम विपरीत काम गरेको उल्लेख छ।

त्यस्तै उजुरी पत्रमा लर्निङ हाउसकी सञ्‍चालिका अमेरिकी नागरिक मिसेल अलेग्जेन्द्रा विल्सले संस्थाको उद्देश्य विपरीत काम गरेको भन्दै एक व्यक्तिले मंसिर २२ गते पोखरा अध्यागमन र पुस १० गते जिल्ला प्रशासन कार्यालय पोखरामा उजुरी दिएका छन्।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले नेपालमा बसेर मिसेलले व्यापार गरेको भन्दै उजुरी परेको जानकारी दिए। 'उनले नेपालमा बसेर चलाइरहेको व्यापार अवैध हो', उनले भने, 'मिसेलले नेपालीका नाममा विभिन्‍न देशबाट सहयोग रकम संकलन गरेर दुरुपयोग गरेको भन्दै उजुरी परेको छ। हामीले छानबिन प्रक्रिया अगाडि बढाइसकेका छौँ।'

मिसेलले संस्था दर्ता गर्दा गैरनाफामुलक संस्था भनेर उल्लेख गरिएको छ। यता कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको लर्निङ हाउसको प्रबन्धपत्रमा उल्लेख भएअनुसार व्यवस्थापन, करियर स्किल, बारिष्टा र भाषाको कक्षा सञ्चालन गर्ने संस्था हो।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.