|

दाङ : आन्तरिक राजश्व कार्यालय तुलसीपुरबाट चालू आर्थिक बर्षभित्र ४५ हजार जनाले ब्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएका छन्।  सरकारले आर्थिक बर्ष शूरु भएसँगै साउनदेखि तलबभत्ता, ज्याला वा पारिश्रमिक लिनका लागि प्यान नम्बर अनिवार्य गरेसँगै यो लिनेको संख्या बढेको हो। 

साउनदेखि हालसम्म ५२ हजार पाँच सय १८ जनाले ब्यक्तिगत प्यान नम्बर लिएको कार्यालयका कर अधिकृत लिलाप्रसाद शर्माले जानकारी दिए। ‘व्यक्तिगत प्यान नम्बर लिन आउनेको संख्या दैनिक बढ्दै गएको छ,’ उनले भने।

दाङमा हालसम्म एक लाख आठ सय ७७ जनाले नयाँ प्यान नम्बर लिएका छन्। यसमध्ये व्यवसायिक प्यान नम्बर लिनेको संख्या ४८ हजार ३ सय ५९ पुगेको छ। तर व्यवसायिक भन्दा व्यक्तिगत प्यान लिनेकै संख्या धेरै रहेको कर कार्यालयले जानकारी दिएको छ।

अहिले पनि कार्यालयमा प्यान लिनका लागि दैनिक करिब ४०० जना आउने गरेका छन्।  सरकारले यो आर्थिक बर्षदेखि १ हजारभन्दा माथिको भुक्तानी लिँदा अनिवार्य प्यान चाहिने व्यवस्था गरेको छ।

आन्तरिक राजश्व कार्यालय तुलसीपुरबाट दाङसहित सल्यान, रोल्पा, प्युठान, रुकुम पूर्व र रुकुम पश्चिमका सेवाग्राहीले प्यान नम्बर लिईरहेका छन्। कार्यालयबाट गत  आर्थिक बर्ष २०७५/७६ मा अन्तशुल्क तर्फ १ हजार ५८, व्यवसायिक तर्फ ६ हजार ७ सय १८, व्यक्तिगत तर्फ ३ हजार १ सय ६० र ८ सय १२ जनाले भ्याटबिल लिएका थिए। 

कार्यालयले करको दायरा बढाउन नियमित रुपमा करदाताहरुसंग छलफल, अन्तक्र्रिया तथा करदाता शिक्षा कार्यक्रमलाई निरन्तरता दिइरहेको र पछिल्लो समय जिल्लाका अधिकांश व्यवसायीलाई पनि करको दायरामा ल्याएको दाबी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.