सदरमुकाम बाहिर पाँच दिनमा मेला र ७ दिनमा महोत्सव सक्नुपर्ने

|

पर्वत : तीजको बेलामा महिलाले महँगा गहना लगाउने नपाउने होस वा होटेलमा गएर तीजको दर खान नपाउने नियम बनाएर होस जिल्ला प्रशासन कार्यालय पर्वतले चर्चा पाउँदै आएको छ।

आन्तरिक पर्यटकको प्रवर्द्धन गर्न तथा स्थानीय कलावस्तुको प्रचारमा सहयोग पुर्‍याउने मेला तथा महोत्सव आयोजना हुने क्रम बढ्दै गइरहेको बेलामा पर्वत प्रशासनले फेरि नयाँ नियम लागू गरेको छ। जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकले मेला महोत्सवका नाममा भइरहेका विकृतिहरूको अन्त्य गर्न भन्दै मेला महोत्सवहरूमा कडाइ गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी कल्पना नेपाल घिमिरेका अनुसार अबबाट सदरमुकाम कुस्मा बजार बाहेकका ठाउँमा मेला सञ्चालन गर्नको लागि पाँच दिन र महोत्सव सञ्चालनको लागि सात दिनको मात्र अनुमति प्रदान गरिने भएको छ। तर, सदरमुकाममै आयोजना गरिएको भएमा भने बढीमा ११ दिनसम्मको लागि अनुमति दिन सक्ने गरी निर्णय भएको छ।

मेला महोत्सव आयोजना गरिएका ठाउँमा अपराध हुन सक्ने सम्भावना बढी रहने गरेको तर ती कार्यक्रम ग्रामीण क्षेत्रमा हुने तथा धेरै दिनसम्म हुँदा सुरक्षा प्रदान गर्न कठिनाइ भएको भन्दै मेला तथा महोत्सवमा कडाइ गर्नुपरेको प्रजिअ घिमिरेले बताइन्।

‘सदरमुकाममा आयोजना गरेको बेलामा त सुरक्षामा खासै समस्या रहँदैन, सुरक्षा निकायका क्याम्पहरू यहीँ नै छन्’ उनले भनिन, ‘सदरमुकाम बाहिर पालिकाहरूमा कार्यक्रम गर्दा धेरै दिनसम्म ठूलो संख्यामा प्रहरी खटाउन कठिन हुन्छ। सुरक्षाका हिसाबले पालिकामा रहेका मेला महोत्सव चुनौतीपूर्ण बन्न सक्छन्।’

यस्तै, केही व्यक्तिको सानो समूहले पनि मेला तथा महोत्सवको आयोजना गर्ने प्रवृत्ति बढ्दै गएपछि मेला महोत्सव आयोजना गर्ने आयोजकप्रति पनि विशेष चासो राखिएको छ। अबबाट मेला महोत्सव आयोजक संस्थाले जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता तथा नवीकरणको प्रतिलिपि, सम्बन्धित स्थानीय तहको सिफारिस, उद्योग वाणिज्य संघ पर्वतको सिफारिस, मूल्य अभिवृद्धि कर दर्ताको प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने छ।

मेला महोत्सवको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य सङ्घका अध्यक्ष, नेपाल पत्रकार महासंघका अध्यक्ष, राजनीतिक दलका प्रमुख, भ्रष्टाचारविरुद्धको नागरिक निगरानी समूहका अध्यक्ष र सम्बन्धित गाउँ/नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत रहेको समिति चयन गरिएको छ।

स्थानीय कला र बस्तुको प्रवर्द्धन गर्ने नारा राखेर कार्यक्रम आयोजना गरिने तर ती कार्यक्रममा स्थानीय वस्तुको महत्वलाई कम आकलन गर्ने गरिएका कारण मेला महोत्सव आयोजना गर्नु पूर्व कार्यक्रमको उद्देश्य र गरिने क्रियाकलापको बारेमा स्पष्ट जानकारीसमेत दिनुपर्ने नियम बनाइएको छ। यस्तै, मेला महोत्सवको आम्दानी खर्चको अनुमानित विवरण सम्पन्न भएको एक महिना भित्र सार्वजनिक गर्नुपर्ने निर्णय पनि भएको छ।

सदरमुकाम र आसपासका ठाउँमा आयोजना गरिने साना ठुला मेला महोत्सवहरूले प्रशासन तथा सम्बन्धित निकायहरूबाट अनुमति लिने गरेको भए पनि ग्रामीण क्षेत्रमा आयोजना गरिने मेला महोत्सवहरू अनुमति बिना नै सञ्चालन हुने गरेका छन्।

अनुमतिबिना सञ्चालन भएका तिनै कार्यक्रमहरूमा जनप्रतिनिधि, सरकारी कर्मचारी तथा राजनीतिज्ञहरू अतिथिदेखि प्रमुख अतिथि बनेर आसन ग्रहण गरिरहेका हुन्छन्। अब भने त्यो अवस्थाको अन्त्य हुने प्रशासन कार्यालयले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.