|

काठमाडौं : देशकै दोस्रो ठूलो पार्टी नेपाली कांग्रेस त आन्तरिक विवादमा अस्तव्यस्त भएकै छ। सोही पार्टीको बिउका रूपमा रहेको नेपाल विद्यार्थी संघ (नेविसंघ) कांग्रेसको केन्द्रीय कार्यालय सानेपाको मूलढोकैमा विधान कार्यान्वयनको माग राख्दै अनशन बसेको बिहीबार (आज) ठ्याक्कै ३० दिन पुग्यो। पूर्व-महामन्त्री कुन्दनराज काफ्ले पक्षधर विद्यार्थीहरूले विधानअनुसार महाधिवेशन सुनिश्चितता गर्न माग गर्दै रिले अनशन बसेका हुन्। 

नेविसंघको विधान २०२७ को सातौँ संशोधन कार्यान्वयन भई ३२ वर्ष उमेर हद लागेर २० जिल्ला अधिवेशन सम्पन्न भइसकेको, ४० जिल्लामा तल्लो तहको अधिवेशन भएको र १६ जिल्लामा अधिवेशनको प्रक्रिया सुरु भइसकेको अवस्थामा केन्द्रीय समिति पनि ३२ वर्षभन्दा कम उमेरका विद्यार्थीलाई राखेर बनाउनुपर्ने उनीहरूको माग छ। 

विधान कार्यान्वन गर्नुपर्ने माग राखेर विद्यार्थी अनशन बसे पनि पार्टी नेतृत्वले वास्ता नगरेको विद्यार्थीहरूको गुनासो छ। ‘हामी बार्गेनिङको लागि दिनरात गरेर अनशन बसिरहेका छैनौँ,’ नेविसंघका नेता नवराज त्रिपाठीले भने, ‘हामी नेविसंघलाई कसरी बलियो बनाउन सकिन्छ भनेर लागेका छौँ। विद्यार्थीहरू अनशन बसिरहँदा केही नेताहरूले ऐक्यबद्धता जनाउनुभएको छ। तर, पार्टी सभापतिले केही वास्ता गर्नुभएको छैन।’ 

केही समयअघि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरूको भेला गर्दा आएका जिल्ला सभापतिहरूले भने विद्यार्थीको मागमा ऐक्यबद्धता जनाएका थिए। ‘पहिले हामी अनबन बस्दा कोही नेताहरूले वास्ता गर्नु भएको थिएन,’ थाहा खबरसँग कुरा गर्दै उनले भने, ‘अहिले नेताहरूको छलफलमा हाम्रो विषयले प्रवेश पाउन थालेको छ। महामन्त्रीको समर्थन प्राप्त भएको छ। कोषाध्यक्ष सीतादेवी यादव र वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि माग सम्बोधन गर्न प्रतिबद्ध छु भन्नुभएको छ।’

पार्टी कार्यालयमा पुगेको बेला पनि सभापति देउवाले अनशनरत विद्यार्थीहरूलाई वास्ता नगरेको गुनासो त्रिपाठीले गरे। ‘पार्टी सभापति सानेपा आउने बैठक हुँदा मात्रै हो,’ उनले भने, ‘तर, उहाँ यहाँ आउँदा विद्यार्थीहरूको छेउबाटै जानुहुन्छ वास्तै गर्नुहुन्न।’ 

यसअघि सभापति देउवाले झण्डै ५० वर्ष हाराहारीका राजीव ढुंगानालाई नेविसंघको अध्यक्ष बनाउने प्रस्ताव पेस गरेका थिए। देउवाको यो अडान अझै पनि यथावत छ। उता, वरिष्ठ नेता पौडेलले मनोजमणlलाई अध्यक्षको रूपमा नाम प्रस्ताव गरेका थिए।

तर, वरिष्ठ नेता उक्त निर्णयबाट पछि हटिसकेको नेविसंघकै नेताहरूले बताएका छन्। केही समय अघि वरिष्ठ नेता पौडेलले नेविसंघ आफूले राखेर तरुण दल देउवा समूहलाई प्रस्ताव लैजाँदा मनोजमणिको नाम पेश गरेका थिए। नेविसंघका नेता मनीष सिम्‍खडाले पुसको ठण्डी पनि नभनी नेविसंघ बचाउनै विद्यार्थीहरू अनशनमा बसिरहेको बताउँछन्। नेविसंघको रिले अनशन २४ सै घण्टा चलिरहेको छ।  

‘हाम्रो अनशन  दिउँसो र राति समूह बनाएर चलिरहेको छ,’ मनीषले भने, ‘राती केटा साथीहरू हुनुहुन्छ दिउँसो केटीसाथीहरू हुनुहुन्छ। अहिलेसम्म १५० जना केटा र १५० जना केटीले अनशन बसिसकेका छन्।’ नेविसंघका नेताहरू माग सम्बोधन नहुँदासम्म अनशन जारी रहने बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.