सिर्जना स्वतन्त्र हुनुपर्छ, संगीतको सिमाना हुँदैन

|

काठमाडौं : आभास गीत संगीतका क्षेत्रमा परिचित नाउँ हो। उनी साहित्य पनि लेख्छन्। कविता कोर्दाकोर्दै  गीतकार आभासको जन्म भयो  र गीत गाउँदा गाउँदै आभास संगीतकार पनि बने। 

सुरुका क्रान्तिकारी आभास,रामेश,मञ्‍जुल,रघु पन्तसँग आत्मीय रहे। राजनीतिभन्दा कलाप्रधान बन्दै गए। अम्बर गुरुङको चेलो बने। समयक्रममा संगीत एकेडेमीको सदस्‍यसचिव बनेका उनी हाल नेपालयसँग आबद्ध भएर सिर्जनाको काम गरिरहेका छन्। उनीसँग थाहाखबरकर्मी अतिन आचार्यले गरेको कुराकानीको सम्पादित अंश :

के गर्दै हुनुहुन्छ हिजोआज?

आम नेपालीले जसरी नै जीवन बाँचिरहेको छु। लागेको बानी छोडेको छैन। सिर्जना कोर्ने काम गरिरहेको छु।

फुर्सदमा के गर्न रुचाउनुहुन्छ?

कविता लेख्न र संगीत भर्ने गर्छु।

कस्ता सिर्जना गर्न चाहनुहुन्छ?

जीवनका हरेक पक्षहरू समेट्ने खालका रचना गर्छु। मेरो हरेक रचनामा जीवन हुन्छ। संगीत होस् वा कविता किनभने एक जीवनले ती सारा रचना गरेका हुन्छन्।जीवनका वरिपरि नै मेरा रचना हुन्छन्।

नयाँ काम केही गरिरहनु भएको छ?

बालबालिकाको लागि र सामाजिक चेत भएका विषयमा केही लेखिरहेको छु। फरक धारबाट लेख्ने प्रयास गरिरहेको छु। समाजलाई किन एकैथरी आँखाबाट हेर्ने फरक विचार र दृष्टिकोण भएका मानिस पनि छन्। तिनीहरूका लागि पनि केही रचना गरिरहेको छु।

कस्तो रचना हुनुपर्छ जस्तो लाग्छ?

समाजमा भएका सबै कुराहरु रचनाले ठयाक्कै उतार्न सक्दैनन्। लेखिनुपर्ने कुराहरू लेखिएका छैनन् र गर्नुपर्ने रचना गरिएका छैनन्। असल राजनीति र असल सामाजिक चरित्रका धेरै कुराहरू कहाँ लेखिएका छन्। तर, ओझेलमा परेका छन्। तिनलाई खोजिरहेको छु।

साहित्यकार भएका नाताले नेपालमा रचिएका रचना कस्तो देख्नुहुन्छ?

आफ्नो दृष्टिकोणबाट रचिएका छैनन्। रचना अर्काको लागि नै हुने हो। तर, यहाँ त्यस्तो पनि छैन। किनभने सबै मानिसले रचना गर्न सक्दैनन्। रचनाका पनि आयाम हुन्छन्। रचना यथार्थपरक हुनुपर्ने हो बढी कल्पनाशीलतामा रचिएको छ, तर कल्पनाले सदा यथार्थलाई भेटन सक्नुपर्ने हुनुपर्छ।

शब्दसँग रमाउन चाहने व्यक्ति कसरी संगीतलाई छनोट गर्नुभयो?

दृष्टिकोण राख्नलाई संगीतलाई छनोट गरेको हो। दृष्टिकोण मानिसको सबैभन्दा महत्वपूर्ण पक्ष हो। मानिसले जब दृष्टिकोण बनाउन सक्दैन तब ऊ हराउँदै जान्छ। दृष्टिकोणले मानिसको परिचय बन्छ। मेरो संगीतमार्फत दृष्टिकोण बगिरहेको हुन्छ। कहिले कवितामा संगीत भर्छु त कहिले बाल संगीतमा पनि हुन्छ। मेरा लागि अभिव्यक्त गर्ने माध्यम भनेको संगीत हो।

तपाईं आफूलाई कवि,गीतकार वा संगीतकार के भन्न रुचाउनुहुन्छ?

म संगीतकार नै हो। मेरो रुचि यसैमा छ। नेपाली सांगीतिक क्षेत्रमा संगीतकार भएर चिनिएको छु।

पलेँटीमा कसरी आइपुग्‍नुभयो?

फत्तेमान दाइको संगत भएपछि त्यहाँ पुगेँ। २००५ देखि म यसमा आबद्ब छु। १ वर्ष निरन्तर गाएँ।

लामो समयदेखि गीत संगीतको क्षेत्रको संरक्षणतिर लाग्नुको कारण?

मेरो क्षेत्रको विधा भएकोले प्रमुख दायित्व हो। गीत संगीतको सिमाना हुँदैन। अझ नेपाली संगीतमा दार्जिलिङको प्रभाव परेकोले पनि यसलाई संरक्षण गरेर नेपाली कला संगीतको उजागर गरेको हु। नेपाली संगीत र विश्व संगीत हो बुझ्नु र बुझाउनुपर्छ भनेर यो पलेँटी राम्रो स्थान हो। अझ अर्को राम्रो पक्ष के छ भने कलाकार र संगीतलाई सम्मान गरेको पनि हो भन्ने बुझिन्छ।

केही पाएँ केही गुमाएँ जस्तो लागेको छैन?

मानिसले यहाँ आएर के पाएको छ? र अर्को कुरा गुमाउनलाई कुरा केही हुन्न जस्तो लाग्छ। अझ पाएको कुरा पनि यहाँ स्थायी छैन। मैले धेरै पाएँ। साथीभाइ पाएँ। मेरो सम्पत्ति यही हो। मानिस ठूलो सम्पत्ति हो।

कुनै समय राजनीतिमा हुनुहुन्थ्यो। तर, अहिले फरक क्षेत्रमा हुनुहुन्छ त्यसलाई कसरी प्रयोग गरिरहनु भएको छ?

राजनीतिमा रुचि थियो कुनै समयमा थिए। तर,राजनीति गर्नलाई कुनै दलको सदस्य हुनुपर्छ भन्ने छैन। अहिले पनि संगीतको माध्यमबाट राजनीतिको भावहरू पस्किरहेको छु। जब मुलुकमा संकट उत्पन्न पैदा हुन्छ त्यसबेला संगीतकर्मीहरूको साथले पनि त्यसलाई साथ दिएका हुन्छन्।

तपाईं कुनै समय राजनीतिक दलमा आबद्ब भएको मानिस राजनीतिलाई कसरी बुझ्नुहुन्छ र यो किन जरुरी छ नेपालमा कसरी प्रयोग भइरहेको देख्नु्हु्न्छ?

मानिसको जीवनमा राजनीति अपरिहार्य छ। मैले पनि केही समय बिताएँ राजनीतिमा सिद्बान्त हाबी हुँदो रहेनछ। मानिस हाबी भएको जस्तो लागेको छ। राजनीति कति गरेँ भन्दा पनि कस्तो गरेँ भन्ने महत्वपूर्ण कुरा हुँदोरहेछ। मानिसलाई कस्तो राजनीतिको सन्देश दिन सके वा गर्न सके त्यो एकदमै मननयोग्य हुनुपर्छ। नेपालमा राजनीति पुस्ता हस्तान्तरण हुन सकेन अर्को कुरा भनेको पैसामा चेत बढेको छ।

विचार,सिद्बान्तविहीन र चेतनाशून्य राजनीतिको प्रयोग बढिरहेको छ। चेतना नबढेको भने होइन। तर,त्यो चेतनाले समाज र राष्ट्रलाई कस्तो प्रभाव पार्छ त्यो महत्त्वपूर्ण हुन्छ। नेपालमा प्रयोग भएका राजनीति केही आशा केही निराशा छ त्यो त अहिले सतहमा देखिइरहेको छ।

राजनीतिक दलमा लागेका मानिसले अब के गर्नु्पर्छ?

बोलेका कुराहरू पुरा गरिदिऊन्। प्रतिबद्धता कहिल्यै नबिर्सिऊउन्। समाज र राष्ट्रको माग के हो त्योअनुसार चल्नुपर्छ नेतृत्वले पनि कार्यक्षमता देखाउने हो।नागरिकलाई लोभ देखाउने होइन कि प्रोत्साहन गर्नुपर्छ। अब नयाँ पुस्ताले क्रान्ति गर्नुपर्छ। त्यो क्रान्ति पूरै बन्द विरोधसहितको हुनु हुँदैन।

अग्रगामी चिन्तनसहितको नयाँ आयाम दिने खालको हुनुपर्छ। नयाँ पुस्तामा चिन्ता र विचार त्यसको सदुपयोग गर्नुपर्छ। पैसा केन्द्रित भएको छ। पैसा केन्द्रित मात्र भएको छ। पश्चिमा शैलीको नक्कल भइरहेको छ। राजनीति भनेको पैसाको लागि भागदौड जस्तो भएको छ। देशको लागि एकदमै ठूलो दुर्भाग्य हो।

३६-०३७ सालमा राजनीतिक नेतृत्‍वले धेरै कार्यकर्तालाई पछि लगाउने सफल भएका थिए भन्‍नु भएको रहेछ कसरी त्यस्तो भएको थियो? 

बेइमान हुने मौका नपरेर इमानदार भएका थिए। त्यतिखेर लाग्छ त्यो समयमा बेइमान हुने अवसर नपाएर इमानदार भएका रहेछन्। अहिले बुझ्दा त्यस्तो लागिरहेको छ। जनताले इमानदार रहेछन् भनेर पत्याए। यिनीहरू इमानदार हुन र यिनीहरूको पछि लाग्नुपर्छ भन्ने बनायो। यिनीहरू नै सबैथोक हो भन्ने बनाएका थिए।

जनताको शक्तिले माथि पुगे हिँडेका पदचाप बिर्सेर अब बेइमान अवसर पाएर अब बेइमान हुन थाले। पदमा थिएनन जनतासँग थिए। अवसर पाए अहिले त माथि चढे। सबैलाई बिर्से। कहाँ चिन्छन र ति जनतालाई। बिर्सिए र आफ्नो हैसियत माथि चढाए तर के हो त्यो हैसियत जनताले मात्र नाप्न सक्छन्।

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्यसचिव हुनुभयो त्यहाँको अनुभव बताइदिनु न?

अम्बर गुरुङ हुनुहुन्थ्यो गए। त्यस्तै, परिस्थिति बनेर पुगेको थिए। उहाँको विद्यार्थी भएकोले र उहाँकै आग्रहले गएको थिए। अवसर पाएको थिएँ। त्यहाँ बस्दा के लाग्यो भने यहाँ सिर्जनाको सम्मान हुँदैन जस्तो लाग्यो। त्यहाँ नियन्त्रित सिर्जना बज्‍न थाल्यो सिर्जना त सधैँ स्वतन्त्र हुनुपर्छ।  बसिन्जेल राम्रो गर्ने प्रयत्न गरेको हुँ।

त्यहाँ भएको टिमले सहयोग पनि गर्यो। अम्बर गुरुङको व्यक्तित्वले पनि काम गर्‍यो। तर, जुन परिणाम आउनुपर्थ्यो त्यो अनुसारको आएन र निराश भएँ। यहाँ म जस्तोको लागि काम गर्ने ठाउँ होइन भनेर निस्केँ। 

प्रज्ञा पतिष्ठानमा सधैँ विवाद हुन्छ भन्छन् तपाईंले कस्तो देख्नभयो?

राजनीति जस्तै त्यो संस्था हो। अझ भनौँ मुलुकको छाया हो। त्यहाँ क्षमतावान मानिस जाँदैनन् त्यो एउटा समस्या हो। मानिसले क्षमता भए न देखाउने हो। कला,साहित्य र संगीत नबुझेका मानिस गएका हुन्छन्। त्यस्ता प्राज्ञिकले के गर्छन् र? प्राज्ञिकसँग क्षमता भए न देखाउने हुन्। जबसम्म केही हुन्न अनि के गरेर बस्ने त बहानाबाजी गरेर बस्ने न हुन्।

समाज र संगीतको मौलिकता हुन्छ भन्छन् त्यो कस्तो हुन्छ?

संगीतका आयाम हुन्छन त्यसैले मौलिकता हुन्छ। जहाँसम्म नेपालमा जाति विशेषका बाजागाजा छन् तिनीहरू नै मौलिकता हुन्। मौलिकतालाई संरक्षण गर्न भने राज्य सदा तत्पर  हुनुपर्छ। तर, मौलिकता सदासदा स्थिर हुन्‍न। यो परिवर्तन योग्य हुन्छ। संगीत परिवेशअनुसार सिर्जना गरिने विधा हो। यसको मौलिकता चाहने हो भने राज्य नै हुनुपर्छ।

राज्यले कस्तो प्रोत्साहन गर्नुपर्छ?

राम्रो संगीतलाई वर्गीकरण गरेर त्यसलाई प्राथमिकतमा राख्नपर्छ। विज्ञसँग सल्लाह गरेर यसमा कति मौलिकता छ भनेर त्यसको परीक्षण गरेर राज्यले प्रोत्साहन गर्नुपर्छ। विज्ञलाई अवसर दिनुपर्छ र तिनीहरूले अन्यलाई एकसाथ न्याय गर्छन्।

मानिसले किन भूगोल, राजनीति,सोच र संगीत परिवर्तन गर्छन्?

मानिसले नयाँपन खोज्‍ने भएकोले परिवर्तन चाहन्छ। संगीत पनि त्यस्तै हो किन भने संगीतको सिमाना हुन्‍न। परिवर्तनले नयाँ स्वाद दिन सक्छ र परिवर्तन नै रुचाउने हुन्। परिवर्तनले कोहीबेला फरक सन्देश पनि दिन सक्छ नदिन पनि सक्छ त्यो नियतमा भर पर्छ। परिवर्तन गराउने तत्त्व भनेको चिन्तन र विचार हो।

अम्बर गुरुङ र नारायण गोपाललाई कसरी सम्झनुहुन्छ?

उहाँहरू दुवैजना एक युगलाई सञ्चालन गर्ने संवाहक हुन्। नारायण गोपाल स्वरको जादु हुन् भने अम्बर गुरुङ शब्द र संगीतमा अब्बल हुन्। नेपाली संगीत क्षेत्रमा सांगीतिक चेत बढाउने प्रवर्धक हुन्।

सांगीतिक क्षेत्रमा लागेका नयाँ पुस्ताले अम्बर गुरुङ र नारायण गोपाललाई किन सम्झुनपर्छ?

नयाँ पुस्ताकाले त उहाँहरूको नाम पनि सुनेका छैनन्। उहाँहरूले समाजमा सामाजिक र सांगीतिक चेत भर्नु भएको छ। मौलिकता थियो उहाँहरूको संगीतमा अहिलेकाले त्यहीँ सिक्नुपर्छ।

गायन, संगीत र साहित्य यी प्रतिभाको विकास गर्नुभयो?

पहिलो कुरा यी तीनै कुरासँग प्रेम थियो र सम्भव भयो। अर्को कुरा संगीत र साहित्यको सच्चा विद्यार्थी हुँ। जिज्ञासु र खोज गर्ने स्वभावको पनि भएकोले सायद हुन सक्छ।

नेपाली संगीतको भविष्य कस्तो देख्नुहुन्छ?

राम्रो छ। नेपाली संगीतको दायरा फराकिलो हुँदै गएको नयाँ पुस्ताले आभास दिलाइरहेका छन्।

नेपाली संगीत विश्व बजारमा किन जान सकेन?

नेपाली संगीतको बजार नभएर हो। यसका  लागि धेरै पक्ष जिम्मेवार छन्। राज्य,भाषा र प्रविधि हुन्। नेपाली मादलका लागि सफ्टवेयर विकास हुन सकेन। अन्य साधनको लागि सफ्टवेयर छ तर नेपाली सांगीतका सामग्रीका स्रोत नभएको कारणले हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.