|

डरलाग्दो छ मान्छे
उसको छाया मात्रै पनि कहाली लाग्दो छ

उसको प्रतिछाया मात्रै देख्दा पनि
हजारौँ प्राणी तर्सिन्छन् 
किन नतर्सिऊन् त !

ऊ भर्खरैसम्म चल्मलाइरहेका प्राणीलाई
पलभरमै छिनाउन सक्छ
पानीमा रमाइरहेका जीवलाई
पलभरमै आफ्नो मुखमा लगी टोक्न सक्दछ
आकाशमा उडिरहेका पक्षीलाई।

क्षणभरमै समातेर निमोठिदिन सक्दछ 
करोडौँ मानिसलाई एउटै चिहान बनाउन सक्दछ
लाखौँ मानिसलाई घरबारविहीन बनाई
शरणार्थी बनाउन सक्दछ
हजारौँ चेलीहरूलाई वेश्यालयमा राखी।

नारकीय जीवन जिउन बाध्य पार्न सक्दछ
साँच्ची नै डरलाग्दो छ है
अरूको मात्र होइन
ऊ आफ्नै चिहान पनि आफैँ खन्न अभ्यस्त छ
आफ्नै समाजका मानिसहरूलाई।

ग्यास च्याम्बरमा हालेर मारिदिन्छ
विचारका विरोधीलाई
पलभरमै बन्दुकका छर्राले उडाइदिन्छ
व्यापारका अवरोधकलाई
बम र बारुदका धुवाँमा गुम्साइदिन्छ।

बलिवेदीमा चढिरहेका प्राणीहरू
कसाईखानामा मृत्यु पर्खेर बसेका जीवहरू
जंगलमा विचरण गरिरहेका प्राणीहरू
रूखमा आफ्ना बचेरासँग रमाइरहेका पक्षीहरू
एकटक भई हेरिरहन्छन् आफ्ना मृत्यु स्वरूपका मनुवालाई।

सुन्दर शरीरमा डरलाग्दो र क्रूर स्वरूप देख्दा
कहालिन्छन् सबै प्राणीहरू
अनि डरले काँप्छन् चराचरका असंख्य प्राणीहरू 
व्यापारिक प्राणी बनेको छ मानव 
आँसु बेचेर सम्पत्ति जम्मा गर्दछ।

नाटक बेचेर वैभव कमाउँछ
सपना बेचेर प्रतिष्ठा कमाउँछ
जीवको जीवन बेचेर धन कमाउँछ
आफ्नै समुदायमा निकृष्ट व्यापारी बनेको छ ऊ 
यी सबै देखेका सृष्टिका अन्य प्राणीहरू।

अचम्मित र विस्मातयुक्त नजरले
एकटक भई मनुवातिर हेरिरहन्छन्
मानिसकोे बुख्याँचा नै पनि
पर्याप्त छ – प्राणी जगत् थर्काउनलाई।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.