|

चितवन : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुधार केन्द्रहरूको नाममा केही संस्थाले बदमासी गरिरहेको बताए। जिल्ला प्रहरी कार्यालयमा कानुनी तथा मनोसामाजिक निशुल्क परामर्शको उद्घाटन गर्दै खनालले सुधारको साटो उल्टै विगार्ने काम गरिरहेको बताएका हुन्। 

नेपालमा लागुऔषध दुर्व्यसन डरलाग्दो अवस्थामा पुगेको बताए। लागुऔषध प्रयोगकर्तालाई सुधार गर्ने बहानामा केही संघ-संस्थाले संख्या बढाउन प्रोत्साहन गरिरहेको भन्दै निगरानी गरिरहेको उल्लेख गरे। उनले भने, ‘नेपालमा लागुऔषधको सवैभन्दा ठूलो उद्गम क्षेत्र भनेर प्रचार गर्ने र विदेशबाट पैसा ल्याएर खन्याउने र संख्या धेरै देखाउन बदमासी गरिरहेकाछन्।’

तस्करको ठूलो समूह रहेको भन्दै महानिरीक्षक खनालले यसलाई निस्तेज पार्न योजनावद्ध रुपमा अघि बढेको बताए। सम्पूर्ण सुधार केन्द्रहरूलाई सरकारको निगरानीमा राखेर अघि बढ्नुपर्ने अवस्था रहेको उनले बताए। लागुऔषध समाजको सवै भन्दा ठूलो समस्याको रुपमा रहेको बताउँदै खनालले सूचना दिएर सहयोग गर्न सवैलाई आग्रह गरे। उनले दुर्व्यसनीलाई थुनेर मात्रै हुँदैन उचित परामर्श नभए पुनः प्रयोग गर्ने गरेको धेरै उदाहारण रहेको बताए। 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले लागुऔषध नियन्त्रणका लागी महानगरले प्रहरीसँग सहकार्य गरिएको बताइन्। उनले स्थानीय सरकारले समाजिक विकृति नियन्त्रणका लागि कुनै कसर बाँकी नराखिएको बताइन्। 

लागुऔषध व्युरो प्रमुख वसन्त लामाले नेपालमा हरेक वर्ष लागुऔषध प्रयोगकर्ताको संख्या बढिरहेको बताएका छन्। नियन्त्रणका लागि विभिन्न कार्यक्रम संचालन हुँदा-हुँदै पनि प्रयोगकर्ताको संख्या बढlरहेको उल्लेख गरेका हुन्। 

केन्द्रको महानगर प्रमुख दाहाल र प्रहरी महानिरीक्षक खनालले उद्घाटन गरेका थिए। जिल्ला प्रहरी कार्यालय परिसरमा शुक्रबारबाट सञ्चालनमा आएको परामर्श केन्द्रमा लागुऔषध प्रयोग र रोकथाम तथा नियन्त्रणका लागि निशुल्क परामर्श दिने जनाइएको छ।

केन्द्र सञ्चालनका लागि भरतपुर महानगरपालिका र प्रहरीबीच सम्झौता पनि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.