डडेल्धुरा : डडेल्धुरा-अत्तरिया जोड्ने मुख्य राजमार्ग हो भीमदत्त। यसै राजमार्गअन्तर्गत पर्ने डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ साहुँखर्क राजमार्ग किनारमै एउटा टायलले छाएको सानो कटेरो छ। उक्त कटेरोमा भेटिन्छन् ६८ वर्षीय शेरबहादुर देउवा। उनी यहाँ ‘खीर बाजे’ नामले परिचित छन्। उनको पसलको नाम हो ‘बाजेको खीर पसल’।
देउवा लाखौं खर्चेर अरब जाने हजारौं युवाका लागि उदाहरण हुन्। सेतै कपाल, झुस्स दाह्री र चाउरी परेका उनका गाला। राजमार्ग छेउमै रहेको उनको पसलका कोही नियमित ग्राहक हुन्छन् त कोही पसलमा राखेको ‘तपाईं कता? बाजेको खीर पसल यता’ भनि लेखिएको बोर्डको भाषाले आकर्षित भएर आउँछन्।
मानिसले उनलाई धनबहादुर भनेर चिन्न छाडेका छन्, खीरबाजे भनेपछि टाढा टाढाका यात्रुले चिनिहाल्छन्। पसल र खीरको स्वाद भीमदत्तराज मार्गमा हिँड्ने सबैको लागि परिचित छ।
पहाडबाट तराई झर्दा होस् वा तराईबाट पहाड उक्लिँदा। यस राजमार्ग भएर हिँड्ने सवारीसाधनको रोक्ने एकमात्रै स्थान पनि हो साहुँखर्क। यहाँ गाडी रोकेर यात्रु खीरको स्वाद लिन्छन्। अनि मात्रै आफ्नो गन्तव्यतर्फ लाग्छन्।
रातदिन नै खुला रहन्छ बाजेको पसल। रातिको यात्रा गर्नेले पनि उनको खीर र चियाको स्वाद लिन पाउँछन्। कमिज, सुरुवाल र इस्टकोटमा धुँवासँग पौँठेजोरी खेल्दै बाजेले यात्रु र परिवार दुवैको भरपूर सेवा गरेका छन्।
३१ वर्षदेखि खीरको व्यापार
विगत ३१ वर्षदेखि खीर बेच्दै आएका देउवाले आफ्नै घरमा अहिले १० गोटा गड्डीभैँसी पालेका छन्। आफ्नै घरको भैँसीको दूध मात्र होइन पूरै गाउँको भैँसीको दूध संकलन गरेर देउवाले खीर बनाउने गर्दछन्। भीमदत्त राजमार्ग किनारमा रहेको पसलमा दैनिक खीर बनाउने र बेच्ने उनको दैनिकी नै बनेको छ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लाको गाउँमा बाल्य कालमासँगै गोठालो जाने गरेको सम्झन्छन्। ‘बाल्यकालमा देउवासँगै म पनि गोठालो जान्थेँ’ उनी भन्छन्। दुवैको नाम पनि एउटै, आफू गाउँछाडेपछि तराई झरेको र तराईमा बस्ने घर एलानीमा परेपछि फेरि पहाड उक्लिएर सडकको किनारमै ३ वटा भैँसी पालेर खीर बनाउन काम सुरु गरेको उनले सुनाए।
देउवाले चिया र खीर बनाउनको लािग दैनिक करिब ७० लिटर दूध खपत गर्ने गरेका छन्। त्यही खीर र चियाको आम्दानीले देउवाले २ छोरा, र नाति-नातिना गरी १० जनाको परिवार धानेका छन्। ‘यसैबाट परिवार धानेको छु। नाति-नातिनाको पढाइ खर्च पनि खीर बेचेरै चाइरहेका छौँ’ उनले भने।
उनलाई घरपरिवारको साथ सहयोग त छँदैछ थप विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले दूधका नयाँ परिकार बनाउनदेखि आधुनिकरूपमा गड्डीभैँसी पालनमा सहयोग गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले जनाएको छ।
खीर बाजेको नगद आम्दानीको मूल स्रोत भने अहिले खीर नै बनेको छ। बाजे खीरमात्र बनाउने होइनन् उनको सानोतिनो खेतबारीले पनि उनको घरखर्च जुटाउन मद्दत गर्छ। खीरको मोहले दुनियाँलाई यतिसम्म तानेको छ। राजमार्गमा यात्रा गर्ने जो कोहीको पनि बाजेको खीर रोजाइ बनेको छ।
जाडोयामका यात्रु भने खीर खाने बहानामा आगोको आनन्द पनि लिन पाउँछन्। खीर खान आएको मान्छे मन सन्तुष्ट पारेर फर्कन्छन् र फेरि पनि त्या फर्कने बाचाका साथ त्यहाँबाट घर फर्कन्छन्। मिठो खीर जसमा अलिकति चिनी त्यसमा कुनै मसला हुँदैन तर पनि मुख रसाउने खीर त्यहाँ पाइन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।