|
फाइल तस्बिर

काठमाडौं :  सिफारिस समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्षसहित पाँच र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षसहित पाँचजना सदस्यको नाम सिफारिससहितको प्रतिवेदन बुझाएको छ। प्रतिवेदन कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालमार्फत सरकारसमक्ष बुझाइएको मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता कमलराज गौतमले विज्ञप्ति जारी गरि जानकारी दिएका हुन्।

सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित पाँच सदस्यीय सिफारित समितिले तयार पारेको प्रतिवेदन बुझाइएको हो। गत वर्ष चैत्र ११ गतेको मन्त्रिपरिषद्को बैठकले आयोगमा अध्यक्ष र सदस्य सिफारिस गर्न मिश्रको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको थियो।

यता, प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा दुवै आयोगका पदाधिकारी सिफारिस गर्न बनेको समितिले सिफारिस गरेका व्यक्तिलाई मन्त्रिपरिषद्बाट नियुक्ती गर्ने नेताहरूबीच सहमति गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच यस विषयमा शनिबार छलफल भएको हो।

बैठकमा दुवै आयोगका पदाधिकारी सिफारिस गर्न बनेको समितिले सिफारिस गरेका व्यक्तिलाई मन्त्रिपरिषद्बाट नियुक्ती गर्नेमा पनि सहमति भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए। 'समितिले नाम सिफारिस गर्ने बित्तिकै नाम मन्त्रिपरिषद्ले नियुक्ती गर्नुपर्दछ', उनले भने। गत चैत मसान्तदेखि आयोग पदाधिकारीविहीन हुँदा शान्ति प्रक्रियाका बाँकी काम टुंगिन सकेका छैनन्।

यसैबीच, नेताहरूबीच दुवै आयोगसम्बन्धी विधेयकमाथिको संशोधन सहमतिका आधारमा ल्याउने समझदारी भएको छ। उनीहरूबीचको छलफलमा चालू संसद्को अधिवेशनमा नै विधेयक दर्ता गराएर सहमतिका आधारमा चाँडै ल्याउने समझदारी भएको छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुभाष नेम्वाङले जानकारी दिए। 'चालू संसद्मा नै विधेयक दर्ता गर्ने गरेर पारित गर्ने सहमति भएको छ', उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.