'श्रीमतीसँगको झगडा छुटाउन जाँदा कुटपिटको आरोप लगाए'

|
प्रतीकात्मक तस्वीर

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका-१ टाइगरबस्तीका दुईजना आरक्षपीडित महिला छिमेकीको कुटपिटबाट घाइते भएका छन्। छिमेकी दलबहादुर शाहको कुटपिटबाट ३१ वर्षीया ईश्वरी खड्का र २४ वर्षीया गीता खड्का घाइते भएका हुन्।

उनीहरूमाथि शुक्रबार कुटपिट भएको बताइएको छ। प्रहरीलाई जानकारी दिएपछि पीडक दलबहादुरलाई इलाका प्रहरी कार्यालय बेलडाँडीले नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ।

महिनावारी भएको समयमा आफ्नो घर अगाडिबाट हिँडेको भन्दै दलबहादुरकी श्रीमती निरुता शाहले देवरानी गीता खड्कालाई गाली गलौज गरेको र त्यस्तो नगर्नु भनी सम्झाउँदा दलबहादुरले आफूहरूमाथि कुटपिट गरेको पीडित ईश्वरी खड्काले बताइन्।

शाह परिवारले विगत लामो समयदेखि आफूहरूलाई आवतजावत गर्न अवरोध गर्दै आएको उनीहरूको भनाइ छ। घाइते दुवै जनाको बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि कैलालीको धनगढी रेफर गरिएको छ। उनीहरूको नोभा हस्पिटलमा उपचार भइरहेको छ।

पीडक भनिएका दलबहादुर शाहले भने आफ्नो जमिनमै रहेको खेतको आलीबाट उनीहरूलाई हिँडडुल गर्न दिएको भए पनि खेतबारी नै मासिने गरी आवतजावत गर्ने गरेकोले त्यसो नगर्न भनी सम्झाउँदा यो ठाउँमा जमिन किन किनेको भनी उल्टै झगडा गर्ने गरेको आरोप लगाए।

श्रीमतीसँग झगडा गर्न आएका उनीहरूलाई छुटाउन जाँदा उल्टै आफूमाथि उनीहरूले आक्रमण गर्न थालेपछि विवाद भएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.