|

सुर्खेत : कर्णाली प्रदेश शनिबारदेखि सहयोगापेक्षी सडक मानवरहित प्रदेश घोषणा भएको छ। यस अघि विरेन्द्रनगरका विभिन्न स्थानमा मागेर खाने भेटिने गरेको भए पनि अब उप्रान्त त्यस्तो अवस्था नरहने प्रदेश सरकारको भनाई छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार एक कार्यक्रमका बीच प्रदेशलाई सहयोगापेक्षी सडक मानवरहित घोषणा गरेका हुन्। पाप पखाल्न मन्दिर नै जानु नपर्ने तर्क मुख्यमन्त्री शाहीले आफ्नै आमाबुवालाई पूजा गरे पुग्ने बताए।

‘बुवाआमाभन्दा उनीहरूले कमाएको सम्पत्तिको माया गर्छौं’, उनले भने, ‘विदेशमा ट्रस्ट खोलिन्छ।  छोराछोरीले आमाबुवाको शून्य लगानीमा नै काम शुरू गर्नुपर्छ। ’  उनले थपे, 'तर हाम्रो देशमा भने त्योभन्दा पनि कसैलाई कसरी लुट्न,ठग्न सकिन्छ भन्नेमा मात्रै ध्यान जाने प्रवृत्ति मौलाइरहेको छ।’ 

मुख्यमन्त्री शाहीले हरेक व्यक्तिले आफू जन्मिनुको अर्थ बुझ्दै आमा बुवालाई सेवा गर्नु पर्नेमा जोड दिए। सबैभन्दा पहिले हामीले हाम्रो जन्म के का लागि भएको हो? बुझ्न जरुरी छ। लुट्न, ठग्न, चोर्न, ढाँट्न, भ्रष्टाचार गर्न अथवा अरुबाट लिनका लागि भएको हो। या राम्रो काम गर्न  र अरुलाई केही दिन र योगदान गर्नका लागि भएको हो ?’ त्यो बुझ्नु पर्ने भन्दै उनले समाजको लागि कुनै न कुनै योगदान दिनको लागि आग्रह गरे।

'सबैले निःस्वार्थ रुपमा काम गर्ने गरी कामको शुरूआत गरौं। चोरको, ठगको बीचमा बसेर कर्णालीमा समृद्धि आउँदैन। सही सभ्यता भएको खण्डमा हामी कर्णालीलाई १० वर्षमा कायापलट गर्न सक्छौं’ मुख्यमन्त्री शाहीले थपे, ‘त्यसका लागि सकारात्मक सोचको विकास गरौं। सबैलाई सहयोग गरौं। सबैलाई माया गरौं।’ 

मुख्यमन्त्री शाहीले कर्णालीका बेसहारा, अशक्त, असहाय, अभिभावक विहीन बालबालिकाले अब सडकमा बस्नुपर्ने दिन अन्त्य भएको बताए। ‘विगतमा निजी क्षेत्रले आफ्नो क्षमता अनुसार सहयोग गर्दै आइरहेका थिए। अब सरकार पनि सहयोग गर्न आएको छ। यस्ता व्यक्तिका लागि सरकार अघि बढेको छ,’ उनले भने।

कार्यक्रमको आयोजना वीरेन्द्रनगर नगरपालिका, मानव सेवा आश्रम सुर्खेत, जिल्ला प्रशासन कार्यालय सुर्खेत र सामाजिक विकास मन्त्रालयले गरेको थियो। घोषणा पूर्व मंगलगढी चोकबाट र्‍याली निकाली जिल्ला समन्वय समितिमा गई सभामा रुपान्तरण गरिएको थियो।

देउती बज्यै मन्दिर मगन्तेमुक्त

शनिबार नै सुर्खेतको प्रमुख धार्मिक स्थलमा देउती बज्यै मन्दिरलाई सयोगापेक्षी सडक मानवमुक्त (मगन्तेमुक्त) घोषणा गरिएको छ। मन्दिर परिसरमा बसेर माग्दै आएका मगन्तेलाई उद्धार गरेर मानव सेवा आश्रममा राखिएको छ। जिल्ला प्रशासन, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय र मानव सेवा आश्रमले मन्दिर परिसरलाई मगन्तेमुक्त घोषणा शनिबार गरेका हुन्। यसअघि मन्दिर परिसरमा बसेर माग्दै आएका व्यक्ति बेसाहारा नभई पेशेवर मगन्ते रहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ। 

दैनिक विहान माग्दै परिसरमा जानेहरू वीरेन्द्रनगरमा घर भएका व्यक्ति रहेको नगरपालिकाका उप-प्रमुख मोहनमाया ढकालले जानकारी दिइन्। ‘हामीले नियमित रुपमा साँझ विहान अनुगमन गर्‍यौं’ ढकालले भनिन्, ‘पेशेवर मगन्ते भएकाले उनीहरूको उद्धार गरेर आश्रममा राखेपछि मन्दिरलाई सयोगापेक्षी सडक मानवमुक्त घोषणा गरेका हौं।'

आश्रममा लगेकै दिन उनीहरूका आफन्तको जिम्मा लगाइको बताएकी ढकालले उनीहरूलाई फेरि माग्न पठाएमा कारवाही गर्ने कागज गरेर छाडिएको जनाइन्। उनकाअनुसार अबदेखि बजार वा धार्मिक स्थलमा कुनै पनि व्यक्तिले माग्न पाउने छैनन्।

वीरेन्द्रनगरका सडक पेटीमा माग्दै दैनिकी गुजार्नेहरूलाई उद्धार गरेर आश्रममा राखिएको छ। आश्रममा हाल ५३ जना सयोगापेक्षी सडक मानव रहेको आश्रमका संयोजक सिर्जना ओलीले जानकारी दिइन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयले आज कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.