निर्वाचन आयोग भन्छ : आचारसंहिता लागू भइसक्यो

|
आइतबार बाग्लुङमा भाेट माग्न पुगेका नेकपाका नेता श्रेष्ठ र न्याैपाने लगायत।

काठमाडौं : राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेका नारायणकाजी श्रेष्ठमाथि आचारसंहिता मिचेर प्रचार गरेको आरोप लागेको छ। निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि आइतबार १२ बजेबाट आचारसंहिता लागू गरेको हो। निर्वाचन ९ माघमा हुँदैछ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेता श्रेष्ठको गतिविधि आचारसंहिताविरुद्ध भएको बताएको छ।  

गोरखा–२ बाट पराजित श्रेष्ठलाई नेकपाले गण्डकी प्रदेशबाट राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेपछि पोखरा पुगेर मनोनयन दर्ता गरेका उनी अहिले जिल्ला दौडाहामा छन्। पुस २९ गते लम्जुङ पुगेका श्रेष्ठ त्यहाँका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलाई भेटेर भोट मागेर माघ १ गते गोरखा आए। 

गोरखामा उनले पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रममा भाग लिए र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलाई भेटेर भोट मागे। ‘राष्ट्रियसभाको चुनाव आइसक्यो नि त त्यही भएर मलाई भोट हाल्नु होला है भन्दै चुनावको प्रचारमा आउनु भएको थियो,’ नेकपा गोरखाका एक नेताले थाहाखबरसँग कुराकानी गर्दै भने, ‘उहाँ त्यहाँबाट तनहुँ, कास्की हुँदै बाग्लुङसम्म जाने र भोट माग्ने कार्यक्रम थियो।’

नेकपाका नेताले भनेजस्तै प्रवक्ता श्रेष्ठ आइतबार बाग्लुङको गल्कोट पुगेका छन्। नारायणकाजी पर्वत म्याग्दीमा भोट माग्दै बाग्लुङ पुगेका थिए। ‘देशमा नेकपाकै सरकार छ, राष्ट्रियसभामा पनि हाम्रो राम्रै सिट हुने निश्चित छ। मलाई पार्टीले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ,’ नारायणकाजी श्रेष्ठलाई उद्धृत गर्दै नेकपा बाग्लुङका एक नेताले भने, ‘स्थानीय तहका प्रमुख, उपप्रमुखलाई नारायणकाजीलाई भोट हाल्न नबिर्सिनुहोला।’ 

आइतबार बाग्लुङमा भएकाे कार्यक्रमकाे ब्यानरमा लेखिएकाे थियाे, 'राष्ट्रियसभा निर्वाचनकाे सन्दर्भमा अनगुवा कार्यकर्ता भेटघाट कार्यक्रम।' तर, संहितामा  निर्वाचनसम्बन्धी गोष्ठी, भेटघाट गर्न नपाउने उल्लेख छ। 

पुस २९ गतेबाटै आचारसंहिता

राष्ट्रिय निर्वाचन आयोगले माघ नौ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनको लागि पुस २७ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ। तर, नारायणकाजी श्रेष्ठ आचारसंहिता मिचेर भोट माग्न जिल्ला दौडाहमा छन्। नारायणकाजी श्रेष्ठसँगै गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्य उम्मदवार रहेकी भगवती न्यौपाने पनि जिल्ला दौडाहामा छन्। उनी पनि स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उदयराज गौलीसँग भानु नगरपालिकाको मेयर पदमा पराजित उम्मेदवार हुन्।  

राष्ट्रियसभा सदस्यको निर्वाचन स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा युक्त वातावरण कायम गर्नको लागि निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचार संहिता, २०७२ अनुसार व्यक्ति निकाय तथा अधिकारी सबैमा आचारसंहिता लागु हुन्छ। पुस २७ आइतबार आयोगका महासचिव तथा प्रवक्ता राजकुमार श्रेष्ठले निर्देशन जारी गर्दै, निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न आग्रहसमेत गरेका थिए। 

उक्त निर्देशनमा आचारसंहिता, नेपाल सरकार तथा नेपाल सरकारको मन्त्री, प्रदेश सरकार तथा स्थानीय तह साथै त्यसका कर्मचारीलगायत सार्वजनिक संस्थाका कार्यालय र कर्मचारी, सरकारी तथा अर्ध सरकारी संस्थाका कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारीहरूलाई आचार संहिता लागू हुने उल्लेख छ। 

त्यस्तै राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारणा गरेको व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजि क्षेत्रका संचार मध्यम, निजी तथा गैरसरकारी संस्था, नेपाल सरकारको अनुदानमा संचालित विश्वविद्यालय वा सामुदायक विद्यालयका शिक्षक तथा कर्मचारी सबैमा पनि संहिता लागू हुने बताइएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी रूपमा भयमुक्त वातावरणमा सम्पन्न गर्न १३ सरकारी निकायमा रहेका व्यक्ति, निकाय तथा अधिकारीलाई आचारसंहिता लागु गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् । 

आचारसंहिताको पूर्णरूपमा पालना गर्न गराउन सबैमा निर्देशन दिँदै प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिअनुसार संघ र प्रदेश सरकारका मन्त्री र कर्मचारी, स्थानीय तहका पदाधिकारी र कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाका कार्यालय तथा कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरी कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठनलाई आचारसंहिता लाग्नेछ ।

उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारणा गरेको व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई पनि आचार संहिता लाग्ने विज्ञप्तिमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.