|

पोखरा : पृथ्वीनारायण क्याम्पस पोखराका प्रमुख डा. चन्द्रबहादुर थापाको कार्यकक्षमा आइतबारदेखि अनिश्चितकालीन तालाबन्दी गरिएको छ। आंशिक शिक्षकहरूको संघले करार सेवामा नियुक्त गर्न हालसम्म कुनै पनि कदम नचालेको आरोपमा तालाबन्दी गरेको हो।

गत २९ गतेदेखि आन्दोलनरत संघले आंशिक प्राध्यापकको समस्यालाई समाधान गर्न क्याम्पसले कुनै ठोस कदम नचालेको कारण तालाबन्दी गर्नुपरेको जनाएको छ। यसअघि क्याम्पस सहायक प्रमुखको कार्यकक्षमा तालाबन्दी गरी ज्ञापनपत्र पेश गरेको संघका आंशिक प्राध्यापक संघका अध्यक्ष सुनिल गौतमले जानकारी दिए।

'क्याम्पस प्रशासनले विगत १४ वर्षदेखि अध्यापनरत प्राध्यापकलाई सामान्य मजदुरभन्दा कम ज्यालादारीमा काम गराइरहेको छ। क्याम्पसमा कूल कक्षाभारको करिब ६० प्रतिशत अध्यापनमा आंशिकको योगदान छ' उनले भने।

तालबन्दीको दौरान संघका अध्यक्ष गौतमले स्नातकोत्तर उपाधिप्राप्त जनशक्तिलाई सामान्य मजदुरको जति पनि व्यवहार नगरेको भन्दै आक्रोश पोखे । उनले भने, ‘अत्यन्त न्यूनस्तरमा क्याम्पसले व्यवहार गर्दा अन्तर्राष्ट्रिय  श्रम नियमको खिल्ली उडाएको छ।’ चरणबद्ध आन्दोलन गरिरहेको संघले माग सुनुवाई नभए क्याम्पस प्रशासनको मूलद्वार र कक्षा बहिष्कार गर्ने जनाएको छ।

संघका सचिव खिमानन्द पौडेलले आंशिक जनशक्तिले अधिक कक्षाभार लिने र क्याम्पस प्रशासनले उत्कृष्ठ क्याम्पसको सम्मान थाप्ने काम अमिल्दो भएको टिप्पणी गरे। ‘आंशिकहरूलाई दुई छाक टार्नै गाह्रो भएपछि आन्दोलनमा उत्रन बाध्य भयौं, आन्दोलन हाम्रो रहर होइन’ उनले प्रष्ट्याए।

क्याम्पसमा १४ वर्ष अघिदेखि आंशिक प्राध्यापकको समस्या यथावत छ। हाल २ सय १४ आंशिक प्राध्यापक विभिन्न संकायमा रहेका छन्। संघले समस्या समाधानार्थ पहल गरिदिन र आन्दोलनमा ऐक्यबद्धता जनाइदिन विभिन्न प्राध्यापक संघ, स्ववियु सरोकारवाला निकायसँग अपिलसमेत गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.