होटलमा लगानी बढ्यो तर तीन घण्टा पनि बस्दैनन् पर्यटक

|

बुटवल : लुम्बिनी विकास कोषको तथ्यांकले सन् २०१२ देखि २०१९ को अन्तिमसम्म १० लाख ४८ हजार ८१५ जना बाह्य (भारत बाहेकका) पर्यटकहरू बुद्ध जन्मस्थल लुम्बिनी आएको बताउँछ। हिसाब गर्दा ती आठ वर्षमा दैनिक औसत ३ सय ६४ जना पासपोर्टवाला अर्थात् भारतीय र आन्तरिक बाहेकका पर्यटक लुम्बिनी आएका थिए।

गतवर्ष सरकारको लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रवर्द्धनले सार्वजनिक गरेको एक प्रतिवेदनमा लुम्बिनी आएका पासपोर्टवाला पर्यटकमध्ये १० प्रतिशतले मात्रै लुम्बिनीमा कम्तीमा एक रात बिताउने गरेका छन्। हिसाब गरौँ–दैनिक ३६ जना विदेशी पर्यटक (भारतीय बाहेक)ले लुम्बिनीमा रात बिताउने गरेका छन्।

जबकि, यिनै पर्यटकहरूलाई लक्षित गरेर लुम्बिनीमा खोलिएका होटलहरूमा एक दिनमै ३ हजार जनाभन्दा बढीले बास बस्न पुग्ने क्षमता रहेको सिद्धार्थ होटल एशोसिएसन लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठ बताउँछन्।

टिक्दैनन् पर्यटक

लुम्बिनीमा आउने पर्यटकको संख्या नबढेको भने होइन, कोषका अनुसार सन् २०१२ मा आन्तरिक तथा बाह्य ७ लाख ९५ हजार ८६० जना पर्यटक लुम्बिनी आएका थिए। सन् २०१९ को अन्तिममा आइपुग्दा उक्त संख्या बढेर  १५ लाख ५२ हजार ८६९ जना पुगेका छन्। यसरी हेर्दा सन् २०१२ देखि सात वर्षको अवधिमा लुम्बिनीमा औसत १३ प्रतिशतले वार्षिक कुल पर्यटकको संख्या बढिरहेको छ। कुल पर्यटकको संख्या बढेको देखिए पनि खर्च गर्ने पासर्पोटवाला पर्यटकहरूको संख्या औसत वार्षिक झिनो ३ प्रतिशतले बढिरहेको तथ्यांकले देखाउँछ।

स्थलमार्गबाट नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिने नाका हो, बेलहिया। बेलहिया नाका हुँदै नेपाल आउने अधिकांश पर्यटक भारतीय ट्राभल एजेन्टहरूको आइटिनररी (गन्तव्य योजना)मा लुम्बिनी छिर्ने गर्छन्।

पाँचतारेमा स्तरोन्नति हुँदै गरेको लुम्बिनीस्थित लुम्बिनी होक्के होटल

अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनाल बेलहिया हुँदै आएका भारतीय या तेस्रो मुलुकका पर्यटक केही घण्टा मात्रै नेपालमा बस्ने बताउँछन्। ‘पारीबाट(भारतबाट) आएका पर्यटकहरू केही घण्टाका लागि मात्रै लुम्बिनी आउँछन्’ उनी भन्छन्,‘अधिकांश फर्किन्छन् भने केही चितवन या पोखरासम्म पुग्छन्।’ 

भारतबाट छिर्ने पर्यटकहरूले बुद्धजन्मस्थललाई ‘ट्रान्जिट प्वाइण्ट’का रूपमा प्रयोग गर्दा लुम्बिनीका पर्यटन व्यवसायीहरू हैरान छन्। ‘भारतदेखि बेलहिया हुँदै आएका अधिकांश पर्यटकहरूले भारतीय गाइड नै बोकेर आउँछन्। पर्यटकहरू एजेण्टहरूको रोहोबरमै रहन्छन्। उनीहरूले जता लग्यो त्यतै जान्छन्।’ होटेल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुद्र जिसी बताउँछन्।

हुन पनि सन् २०१३ मा युनेस्कोको अन्तर्गतको जापान फाउन्डिङ ट्रस्ट प्रोजेक्ट (जेफिट) ले गरेको ‘भिजिटर सर्भे एण्ड अब्जरभेसन’मा लुम्बिनीमा बसाइ अवधि ३० मिनेटभन्दा कम पाइएको थियो।

सन् २०१३ मा एक महिना लगाएर २९३ वटा पर्यटकको समूहलाई अध्ययन गर्दा ३० मिनेटभन्दा कम बस्ने पर्यटकको संख्या ७२.६ प्रतिशत, एक घण्टाभन्दा कम अडिने २१.८ र एक घन्टाभन्दा बढी समय बिताउने पर्यटक ५.५ प्रतिशत रहेको सार्वजनिक गरेको थियो। लुम्बिनी कोष मातहतको केस्ट नेपालले गतवर्ष गरेको सर्वेक्षणले त झन् लुम्बिनीमा आएका कुल पर्यटकमध्ये पाँच प्रतिशत पनि नटिक्ने तथ्य सार्वजनिक गरेको थियो। 

संकटमा अर्बौंका होटल

एकातर्फ पैसा खर्चगर्न सक्ने पर्यटकको वृद्धिदर झिनो हुनु अर्कातर्फ आएका पर्यटकहरूले लुम्बिनीमा रात नकटाउनु, यी दुवै विषय लुम्बिनीलाई लक्षित गरेर सञ्चालनमा रहेका होटल तथा पर्यटन व्यवसायीको लागि टाउको दुखाइको विषय बनेको छ। जसले गर्दा लुम्बिनी, भैरहवा र बुटवलमा खुलेका केही ठूला होटलहरू बन्द हुने अवस्थामा रहेका छन्।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको प्रारम्भिक आँकलनअनुसार बाह्य पर्यटक लक्षित तारे तथा सोहीस्तरका ६० प्रतिशत होटलहरू बन्द हुने अवस्थामा रहेका छन्। चलेका भनिएका होटलहरूको पनि कारोबार नराम्रोसँग खस्किएको संघका अध्यक्ष जिसी बताउँछन्।

भैरहवास्थित होटेल बोधी रेडसन

‘विदेशी पर्यटकहरू आएकै छैनन्। आएका पनि यहाँ रुक्दैनन्।’ अध्यक्ष जिसी भन्छन्, ‘भन्दा दुःख लाग्छ तर यहाँका ६० प्रतिशत ठूला होटलहरू नचलेर बन्द हुने अवस्थामा पुगेका छन्।’

धनाढ्य पर्यटकहरूलाई लक्षित गरेर पछिल्ला १० वर्षमा अर्बौंको लागतमा रुपन्देहीमा २० वटाभन्दा धेरै पाँच तारे र सोहीस्तरका होटलहरू खुलेका छन्। पाँच तारे नभए पनि बाह्य पर्यटकलाई लक्षित गरेर खोलिएका अन्य २५० वटा होटल सञ्चालनमा छन्। तीमध्ये केहीले धमाधम पाँचतारेमा स्तरवृद्धि गरिरहेका छन्।

संघका अनुसार अहिले रुपन्देहीमा सानाठूला गरी ४ हजारको हाराहारीमा होटल तथा रेष्टुरेण्ट छन्। दुई वर्षयता मात्र होटल तथा रेष्ट्ररेण्ट व्यवसायी संघ रुपन्देही मातहत ५ सयभन्दा बढी होटल थपिएका छन्। दुई वर्ष अगाडि १२ सय रहेकामध्ये हाल १७ सय वटा होटल तथा रेष्टुरेण्ट संघमा आबद्ध भएका छन्।

भैरहवा बहुमुखी क्याम्पसका पूर्वप्राध्यापक तथा संस्कृतिविद् प्राडा गितु गिरी लुम्बिनीमा पर्यटनको सम्भावना अथाह भएकाले होटलहरूमा लगानी बढेको बताउँछन्। तर, उक्त सम्भावनालाई यथोचित ‘क्यास’ गर्न नसक्दा पर्यटन व्यवसाय फस्टाउन नसकेको उनको धारणा छ।

‘लुम्बिनी साउथ एसीयामा सबैभन्दा ठूलो सांस्कृतिक सम्पदा हो। अब यहाँ सिधै अन्तर्राष्ट्रिय विमानस्थलको पहुँच छ। यो कुराले पर्यटन तथा होटल व्यवसायी उत्साहित भएर लगानी थपिरहेका छन्,’ उनी भन्छन्, ‘तर, पूर्वाधार र कुशल व्यवस्थापनको अभावमा उत्साह मर्न लागेको छ। पर्यटन व्यवसाय संकटमा परेको अवस्था छ।’

लुम्बिनी आउने पर्यटकको तथ्यांक

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.