|

म्याग्दी :  हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५, ठिनी गाउँमा रहेको यारुजो डाँडा पर्यटकको रोजाइमा परेको छ। मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा यारुजो डाँडा पछिल्लो समय पर्यटकीय क्षेत्रका रुपमा चिनिदै गएको हो।

हिमाली जिल्ला मुस्ताङ आफैमा पनि सुन्दर, मनमोहक र आकर्षक छ। ठिनी गाउँभन्दा माथि रहेको यारुजो जुन अहिले पर्यटकीय क्षेत्र बनेको हो। 'या' भनेको याक, 'रु' भन्नाले याकको सिङ र 'जो' भनेको डाँडा अर्थात् याकको सिङजस्तो देखिने यस डाँडालाई यारुजो नामाकरण गरिएको स्थानीय वासिन्दा बताउँछन्। यारुजो डाँडाबाट पवित्र कालीगण्डकी नदी र वरिपरीको वस्ती निकै रोमाञ्चक देखिन्छ। 

यारुजो डाँडा र 'भ्यु–टावर'मा चढेर हेर्दा निलगिरी, धौलागिरी, मानापाथी, टुकुचे, डोल्पाको हिमाललगायत अन्नपूर्ण हिमश्रृङ्खलाका साथै एकदर्जन बढी हिमालहरु प्रत्यक्ष हेर्न सकिने मुस्ताङका पत्रकार निरज थकालीले जानकारी दिए। उनका अनुसार यारुजो डाँडा पछिल्लोपटक मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको मुख्य रोजाइमा पर्दै जान थालेको छ।

यसैगरी मुस्ताङको जोमसोम विमानस्थल तथा विमान अवतरण गरेको र उडान भरेको पनि यारुजो डाँडाबाट हेर्न सकिन्छ। त्यस्तै मार्फा, पाक्लिङ, फ्ल्याक, स्याङ, समलेक, कागबेनी, कोरला रेन्ज, उपल्लो मुस्ताङको केही भाग र तिब्बतीयन प्लेटु समेत देखिन्छ। यारुजो डाँडाको भ्रमणमा जाने विदेशी पर्यटकले यसलाई ‘गेट अफ हेभन’ अर्थात् ‘स्वर्ग जाने बाटो’ भन्ने गरेको पत्रकार थजालीको भनाइ छ। यारुजो डाँडा आसपासको वनजङ्गलका क्षेत्रमा लोपोन्मुख वन्यजन्तु जनावरहरु भेटिने गरेका छन्।

मुस्ताङको घरपझोङ गाउँपालिका–५, नम्बर वडामा पर्ने ठिनी गाउँमा थकाली समुदायको बाहुल्यता रहेको छ। मुस्ताङ सदरमुकाम जोमसोमबाट २ किलोमिटरको दुरीमा रहेको ठिनी गाउँको १ सय १० घरधुरीमध्ये अहिले १२ वटा घरमा होमस्टेको व्यवस्था रहेको छ। 

साँझ ठिनी गाउँमा बसेका पर्यटकहरु बिहान सबेरै उठेर यारुजो डाँडा र ढुम्बातालको अवलोकन गर्न जाने गर्दछन्। यारुजो डाँडा अवलोकन गर्न जाने पर्यटकहरुलाई लक्षित गरेर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले १० लाख रुपैयाँको लागतमा भ्यु–टावर बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.