|

बागलुङ : बरेङ गाउँपालिकाले निर्माण गर्न लागेको बहुउद्देश्यीय सभाहल काम सुरु नहुँदै विवादमा तानिएको छ।

गाउँपालिकाले पायक नपर्ने स्थानमा सभाहल निर्माणको प्रक्रिया थालेको भन्दै राजनीतिक दल र केही जनप्रतिनिधिले बिरोध गरेका छन्। गत जेठ ९ गते बसेको गाउँकार्यपालिकाको बैठकले बहुउद्देश्यीय सभाहल बनाउने विषयमा निर्णय गरेको थियो। गण्डकी प्रदेश सरकारको भौतिक योजना मन्त्रालय र गाउँपालिकाको संयुक्त लगानीमा उक्त हल निर्माण गर्ने निर्णय भएको हो।

मन्त्रालयको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत गरी १ करोड १० लाखको लागतमा भवन निर्माण गर्ने तयारी छ। गाउँसभाले वडा नं १ बरेङमा सभाहल बनाउने निर्णय गरेको भन्दै नेकपा, राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेससहित तीन दलले विरोध गरेका थिए।

गाउँसभामा सहभागि भएका जनप्रतिनिधिले समेत सभाहल बरेङमा बनाउने विषयमा आफूहरू सहमत नभएको र झुक्काएर हस्ताक्षर गराइएको भन्दै जेठ २५ गते गाउँपालिकामा असहमति पत्र बुझाएका थिए। वडा नं ४ का अध्यक्ष लिलबहादुर खत्रीसहित १४ जना जनप्रतिनिधिले असहमपति पत्रमा हस्ताक्षर गरेका छन्।

सभाहल निर्माणका विषयमा विवाद भएपछि विभिन्‍न चरणमा गाउँपालिका र मन्त्रालयमा समेत विरोधपत्र दर्ता भएका छन्। जेठ ९ गते भएको निर्णयमा असहमति जनाउँदै जेठको २७ गते भौतिक पूर्वाधार मन्त्रालयमा तीन दलका प्रतिनिधिले हस्ताक्षर गरेको पत्र बुझाइएको थियो। नेकपा गाउँकमिटीका अध्यक्ष प्रदीप थापा मगर, कांग्रेसका होमबहादुर श्रीस र राजमोका हिराबहादुर थापाले हस्ताक्षर गरेको पत्र मन्त्रालयमा पठाइएको थियो।

गाउँपालिकाको केन्द्र रहेको वडा नं २ सुदालाभन्दा केही पर निर्माण गर्न थालिएको प्रक्रियामा उनीहरूले असहमति जनाएका हुन्। केन्द्र रहेकै सुदाला आसपासमा बहुउद्देश्यीय सभाहल निर्माण गर्नुपर्ने नेकपा बरेङ गाउँ कमिटीका अध्यक्ष प्रदीप थापा मगरले बताए।

‘केन्द्रभन्दा कयौं कोष टाढा पुर्‍याएर भवनका लागि जग्गा लिइएको छ। त्यो बरेङबासी सबैलाई अपायकको ठाउँ हो’ थापाले भने ‘अध्यक्षको स्वार्थमा गरिएको निर्णयले सर्वसाधारणले सास्ती पाउनुहुन्न।’

उनले वडा नं २ को सुदालामा नै भवन निर्माण गर्नुपर्ने बताए। सभाहल गाउँपालिका केन्द्र नजिकै निर्माण गर्नुपर्ने माग गर्दै नेकपाले पुनः गाउँपालिकालाई पत्र बुझाएको छ। सबैलाई पायक पर्ने र गाउँपालिका केन्द्रभन्दा टाढा पुगेर सभाहल निर्माण नगर्न अनुरोध गर्दै पौष २७ गते गाउँपालिकालाई पत्र बुझाएको अध्यक्ष थापाले बताए। ‘नजिकैमा जग्गा चाहिए उपलव्ध गराउन हामीले पहल गर्छौं’ थापाले भने ‘बहानावाजीमा सभाहल टाढा पुर्‍याउन दिँदैनौँ।’

गाउँपालिकाले भने केन्द्र रहेकै वडामा सभाहल निर्माणको प्रक्रियाअघि बढेको बताएको छ। ‘हामीले केन्द्र रहेकै वडामा जग्गा प्राप्ती गरेर प्रक्रिया अघि बढाएका हौँ’ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने ‘वडा नं १ को बरेङ बजार र गाउँपालिका केन्द्रको बीचमा सभाहल बन्छ।’

बाहिर चर्चा भएको र विरोध भएको जस्तो वडा नै अन्तर पारेर सभाहल निर्माण नहुने उनले बताए। ‘गाउँसभामा सर्वसम्मत निर्णय भएको विषय हो, एकजना वडाअध्यक्षले मात्रै नोटअफ डिसेन्ट लेख्नुभएको छ’ उनले भने ‘हामि सबैको पायक पर्ने स्थानमानै सभाहल निर्माण गर्छौँ।’

प्रदेश सरकारको सहयोगमा निर्माण हुने सभाहलको बजेट फ्रिज हुन नदिनकै लागि जग्गा प्राप्ति भइसकेकै स्थानमा सभाहल निर्माणको काम थालिएको अध्यक्ष शर्माले बताए। गाउँपालिकाको केन्द्र रहेकै क्षेत्र आसपासमा सभाहल निर्माण गर्नुपर्ने नीतिगत व्यवस्था छ।

राजनीतिक दलहरूको कार्यक्रमदेखि सामाजिक संघसंस्थाले पनि यसअघि कार्यक्रम गर्दा बिद्यालयका कोठा माग्नु पथ्र्यो। विद्यालयमा पढाई प्रभाविन नपार्ने अभिायनका लागि पनि गाउँपालिका आसपासमा बनाउनुपर्ने प्रावधान राखिएको प्रदेशसभाका एक सदस्यले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.