जग्गा फिर्ता गर्न हारगुहार

|

चितवन : चितवनमा एक परिवारको घरबारी अर्कै व्यक्तिले कीर्ते गरी ९ वर्षअघि नै बेचेको पाइएको छ। कालिका नगरपालिका-८ बुङ्खोलामा रहेको जंग सिंह घर्ती चेपाङको २४ कठ्ठा २ धुर, २ आना जग्गा इच्छाकामना गाँउपालिका-६ कि सानुमाया प्रजा चेपाङले कीर्ते गरी बेचेको पाइएको हो।

जग्गाधनी जंग सिंहको ६० वर्षको उमेरमा २०४६ साल पौष १५ गते निधन भइसकेको थियो। अहिले उनका छोराबुहारी र नातिनातिना उक्त जग्गामा घर बनाएर बस्दै आएका छन्। पुस्तौँदेखि बस्दै आएका नम्बरी घरसहितको जग्गा कीर्ते गरी बेचेपछि जंग सिंहका छोरा आइतमान घर्ती चेपाङको परिवार तनावमा परेका छन्।

पुस्तौँदेखि ४८ वर्षीय आइतमान र उनको परिवार त्यही जग्गामा खेती किसानी गर्दै गुजारा गर्दै आएका छन्। भएको जग्गा पनि नक्कली लालपुर्जा बनाएर थाहै नपाइ अर्कैले बेचेपछि उठीबास हुने डरले उनीहरूलाई पिरोलोमा परेका छन्।

परिवारका साथमा आइतमान


जंग सिंहको नाममा रहेको उक्त जग्गा सानुमायाले नक्कली लालपुर्जा बनाइ आफ्नो नाममा पास गरेर अन्य तीन व्यक्तिलाई बेचिसकेको आइतमानले बताए। उनका अनुसार सानुमायाले सोभा घिमिरे, चन्द्र कुमारी श्रेष्ठ र बाबुराम श्रेष्ठलाई बेचेका हुन्।

सानुमायाले नक्कली लालपुर्जा बनाउन नक्कली मृत्यु दर्ता र नक्कली नाता प्रमाणितसमेत गरेकी छिन्। सानुमायाले वास्तविक मितिभन्दा फरक मिति र नाम उल्लेख गरी कीर्ते कागजपत्र तयार पारेकी हुन्।

पुस्तौँदेखि भोगचलन गर्दै आएको घरजग्गा


जंग सिंह घर्तीको नाममा रहेको उक्त जग्गा आफ्नो नाममा पास गर्न सानुमायाले झुट बोल्न गरेको अधिवक्ता बद्री गौतमले बताए। उनका अनुसार सानुमायाले जंग सिंहको म एक मात्र छोरी हुँ भनेर मालपोत कार्यालय भरतपुरबाट आफ्नो नाममा नामसारी गरेकी हुन्। सानुमायालाई जग्गा किन्ने अन्य तीनजनाले पनि अप्रत्यक्ष रूपमा साथ दिएको अधिवक्ता गौतमले बताए।

जग्गा कीर्ते गरी ९ वर्षअघि बेचेकोबारे उनीहरूले चार वर्षअघि आइतमानको नाममा पास गर्न मालपोत कार्यालय भरतपुर पुग्दा मात्रै थाहा पाएका थिए। त्यसपछि धेरै जनासँग हारगुहार गरे, तर कसैले भरपर्दो साथ नदिँदा कीर्ते गरी बेचिएको जग्गा फिर्ता ल्याउन नसकेको आइतमानकी श्रीमती चरीमाया चेपाङले गुनासो गरिन्। आफ्ना बाबुबाजेका पालदेखि भोगचलन गर्दै आएको जग्गा अर्कैले बेचेको थाहा पाएपछि आइतमानले अहिले कानुनी लडाइँ लडिरहेका छन्।

कीर्ते गरिएको मृत्यु दर्ताको प्रतिलिपि


'प्रहरीमा उजुरी गरेपछि सानुमायालाई दुई महिनाअघि पक्राउ गरी दुई दिन हिरासतमा राखेर छाड्यो' उनले भनिन् ‘२ महिनाभित्र जग्गा फिर्ता गरिदिने लिखित सहमति गरेर प्रहरीले सानुमायालाई छाडेको हो, तर तीन महिना पुग्न लाग्दा पनि जग्गा पास भएको छैन।’

कीर्ते गर्नेलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने कानुनी व्यवस्था भएकाले प्रहरीले छाड्न नमिल्ने अधिवक्ता गौतमले बताए। ‘यसअघि जग्गा फिर्ता गर्ने सहमति गरेर प्रहरीले छाडेको रहेछ,' उनले भने, 'कीर्ते मुद्दामा मेलमिलाप गर्न पाइँदैन।’ कीर्ते गरेको प्रमाणित भए पाँच वर्ष जेल सजाय, जग्गा सम्पत्ति फिर्ता र ५० हजारसम्म जरिमाना हुने कानुनी व्यवस्था रहेको छ।

मृत्यु दर्ताको सक्कली प्रमाणपत्र


नामसारी गर्न मालपोत कार्यालय भरतपुर गएको समयमा सक्कली लालपुर्जा पनि मालपोत कार्यालयले खोसेको आइतमानले गुनासो गरे। 'अन्यायमा परेकोबेला हामीमाथि मालपोत कार्यालय थप अन्याय गर्‍यो', उनले भने। उनीहरूले बेचिएको जग्गा फिर्ता गरी कीर्ते गर्नेलाई कानुनी कार्वाही गर्नुपर्ने माग गरेका छन्। आइतमानले कीर्ते मुद्दामा जायरी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.