|

दाङ: प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्राविधिक शिक्षा परीक्षामा पास हुन मात्र नभई सीपमा पनि विकास हुनुपर्ने बताए।

तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज) को बुधबार तुलसीपुर १२ हरिपौरा दाङमा उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले हामीले सटिफिकेटमा राम्रो नम्बर ल्याएता पनि जीवनउपयोगी शिक्षाका लागि मुलुकमा दक्ष जनशक्तिको अभाव भइरहेको बताए। उनले नेपालमा सञ्चालनका लागि तयारी गरिए तापनि ‍रेल चलाउन सक्ने क्षमता भएका दक्ष शक्तिको अभावले बिदेशी नागरिकलाई ल्याउनुपर्ने अवस्था सिर्जना भएको बताए।

मुख्यमन्त्री पोख्रेलले शिक्षित नागरिकको कमी नभए पनि आधुनिक प्रविधि चलाउन सक्ने क्षमता भएका दक्ष जनशक्ति उत्पादन गर्नतर्फ विशेष ध्यान  दिनुपर्ने आग्रह पनि गरे। उनले भने, 'शिक्षाले नागरिकलाई सचेत बनाउँछ। तर जीवन उपयोगी शिक्षा भए देश र आर्थिक सम्बृद्धिमा समेत टेवा पुग्ने छ।'

शिक्षा क्षेत्रको विकासका लागि सरकारले लगानी गर्नमा कुनै पनि कमी नगर्ने पोख्रेलको भनाई छ। प्रदेश ५ सरकारले यस मेट्रो कलेजका लागि १० करोड बिनियोजन गरेको समेत जानकारी दिए। उनले भने,'तुलसीपुरमा नमुनायोग्य प्राविधिक शिक्षालय निर्माण हुन लागेको छ। त्यसैले यो ठाउँको शिक्षाको विकास मात्र नभई अन्य कुराको विकास हुने भएकाले सबैले सहयोग गर्नु पर्छ।'

अर्को प्रसंगमा मुख्यमन्त्री पोख्रेलले  निराशाबादी सोचका कारण हामी पछाडि परेको बताए। उनले भने, 'हामी अगाडि बढ्न प्रयास गरेका छौं। तर पनि निराशाबादी सोचबाट ग्रसित भएका कारण पछाडि परेका छौँ। नेपालको संविधान २०७२ अधिकारका हिसावले विश्वकै उत्कृष्ट बनेको भएतापनि हामी अधिकारको कारण पछाडि परेका छौं।' 

अहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रले ४० जना विद्यार्थी अध्यापन गराउने गरी अनुमति प्रदान गरेको छ। कलेजले गत असोज पहिलो साताबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी भर्ना प्रक्रिया अगाडि बढाएको थियो।

तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको कलेजमा यो वर्ष वन विज्ञानको तीनवर्षे कार्यक्रम सञ्चालन गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए। अन्य प्राविधिक शिक्षालय भन्दा सहुलियत दरमा यहाँ विद्यार्थीलाई पठन-पाठन गराउने उद्देश्यले शिक्षालय सञ्चालन गरिएको पनि पाण्डेले बताए।

कलेजमा चालु शैक्षिक सत्रमा २५ जनाले अध्ययन गरिरहेका छन्। कर्णाली प्रदेशका बिभिन्न जिल्लाबाट समेत अध्ययन गर्न आएका नगरप्रमुख पाण्डेले बताए।तुलसीपुर नगरवासीलाई ५० प्रतिशत शैक्षिक शुल्कमा छुट दिएको छ।

कलेजले पशुपति मावि हरीपौरीका विद्यार्थी, उत्कृष्ट अंक ल्याउने विद्यार्थी र शहीद परिवार, द्वन्द्वपीडित, मुक्त कमैया र विभिन्न आन्दोलनका घाइते परिवारका विद्यार्थीलाई पनि छुट दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.