तत्काललाई रोकियो कटान

|

पर्वत : पर्वतको फलेवास नगरपालिका-५ खानीगाउँ र वडा नं. ६ देवीस्थानमा भइरहेको रूख कटान जिल्लामा नै बहसको विषय बनेको छ। उत्पादन योग्य जमिन, विद्युतीय तार टाँगिएको ठाउँ, घरनजिकै जोखिमको अवस्थामा रहेका पुराना र अग्ला रूखहरू तथा सडक विस्तारको मापदण्डमा परेका रूखहरू काट्ने काम स्थानीय नागरिकले नै गरिरहेका छन्।

केही स्थानीयले आफूहरूले गरेको कामले गाउँलाई सुरक्षित बनाएको, उत्पादन बढ्ने र खाद्यवालीहरूमा बाँदरको आतंक कम हुने बताइरहेका बेला कतिपय स्थानीयले भने रूखहरू काटिनुले पर्यावरणमा असर परेको तथा नगरपालिकाले रूखहरू काटेको दाबी गरेका छन्।

यद्यपि नगरपालिकाका प्रवक्ता टीकाराम गौडेलले भने रूख काट्ने विषयमा नगरपालिकाबाट कुनै पनि निर्णय नभएको र स्थानीयहरू अनुमतिका लागि पनि नआएको बताए। ‘हामीले रूख काट्ने भनेर अनुमति दिएका छैनौँ, उहाँहरू अनुमति माग्न आउनुभएको पनि छैन’ उनले थाहाखबरसँग भने, ‘आफ्नो निजी जग्गामा रहेको रूख काटनका लागि हामीले अनुमति लिनै पर्छ भन्न पनि मिलेन।’

नगरपालिकाको खानीगाउँ र देवीस्थानमा मात्र रूख काट्ने विषयको विवाद चलिरहेको तर विद्युतका लाइन, सडक, घर छेउ र खेतीयोग्य जमिनमा रहेका रूखहरू स्थानीयले काटिरहेको गौडेलको भनाइ छ। साल, सिसौ, टुनी, सिमललगायतका केही जातका रूखहरू काट्नका लागि डिभिजन वन कार्यालयबाट अनुमति लिनुपर्ने तर निजी क्षेत्रमा रहेका अन्य रूखको लागि भने अनुमति नचाहिने उनले बताए।

फलेवासमा बसोबास गरिरहेका कृषकहरूलाई खेतमा रहेका रूख, घर नै अँठ्याउने गरी राखिएका पुराना र अग्ला रूखले मर्कामा पारेका कारण उनीहरूले नै टोल सुधार समितिसहित स्थानीय राजनीतिज्ञ र बुद्धिजीवीहरूको भेलामा रूख काट्ने सल्लाह गरेको देवीस्थानका वडाध्यक्ष भोलानाथ भुसालले बताए।

‘यति भाँती हँगामा गर्नुपर्ने चिज यहाँ केही छैन। बिजुलीको लाइन र सडकको १० मिटरको दुवैतर्फ ५/५ मिटरमा पर्ने रूखहरू काटिएका छन्। बूढा भएर ढलेर घरको छानामा खस्न लागेका रुखहरू काटिएका छन्’ उनले भने, ‘अग्ला रूखहरूमा रहेका घाँस काट्ने मान्छे गाउँमा छैन, पाँच हजारको फलफूल नफल्ने बोटले १० हजारको अन्नबालीमा हानी गरेको छ।’ टोल सुधार समितिका पदाधिकारी तथा सदस्यहरूको निर्णयबाट रूखहरू काटिएको वडाध्यक्ष भुसालको भनाइ छ।

सामाजिक सञ्जालमा रूख कटाइको विषयमा चर्को बहस हुनु तथा केही व्यक्तिहरूले मौखिक रूपमा उजुरी गरेपछि आफूसहित डिभिजन वन कार्यालयका प्रमुखको टोली गएर स्थलगत अनुगमन गरेर तत्कालका लागि रूख काट्ने अभियानलाई स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन्।

‘वडामै पुगेर वडाध्यक्षहरूसँग बसेर छलफल गरेका छौँ, गर्ने क्रम पनि चलिरहेको छ। सार्वजनिक ठाउँका काटिएको देखिएन। यद्यपि निजी रूखहरू काटिएको विषयमा पनि स्पष्ट लिखित जवाफ ल्याउन भनेका छौँ’ उनले भनिन, ‘अहिले तत्कालका लागि रूखहरू नकाट्ने गरी हामी अनुगमनबाट फर्किएका छौँ। थप कुरा उहाँहरूले ल्याउने कागजातबाट हुन्छ।’

डिभिजन वन कार्यालयका प्रमुख अशोक श्रेष्ठले गुनासो सुनिएपछि स्थलगत रूपमा अनुगमन गरेर फलेवासमा रहेको सबडिभिजन वन कार्यालयलाई यस बारेमा सबै जानकारी पेस गर्न भनिएको र नगरपालिकालाई पत्राचार गरेर रूख काटिनुको कारणको विषयमा जवाफ दिन भनिएको बताए।

श्रेष्ठले विशेष गरी व्यक्तिकै निजी हक भएको जग्गाको रूख किन काटियो? भन्ने विषयको गुनासो धेरै सुनेको बताए। निजी जग्गामा रहेका रूखमा जग्गाधनीकै अधिकार रहने भएकोले सम्बन्धित व्यक्तिको अनुमतिमा रूख हटाउन सकिने श्रेष्ठको भनाई छ।

‘व्यक्तिले आफ्नो नम्बरी आबादीमा रहेका रूखहरू आफैँले प्रयोग गर्नका लागि काट्न पाउँछ। अन्यत्र बेच्ने हो भने कागजातअनुसार ओसारपोसार गर्नुपर्ने हुन्छ’ श्रेष्ठले भने, ‘सार्वजनिक ठाउँमा रहेका रूखहरू काटिएका भए कारबाही हुन्छ। हामीले बुझ्दै छौँ। अहिले तत्कालका लागि कटान रोकिएको छ।’

केही स्थानीय नागरिकले फलेवासमा घर जग्गा भएर पनि बसाइँ सरेर तथा अस्थायी बसाइँका लागि अन्यत्र गएकाहरूले गाउँमै बस्नेहरूको पीडा नबुझेको बताएका छन्। बाहिर गएर बसेकाहरूको आम्दानी राम्रो र सुरक्षित बसाइँ रहेको भए पनि गाउँमा रहेकाहरूको अवस्था त्यस्तो नरहेकोले रूखकै कारण गाउलेहरूलाई भएको समस्या बुझिदिनुपर्ने उनीहरूको भनाइ छ।

तर, गाउँमा रूख काट्नका लागि बाहिर बसेकाहरूसँग पनि सल्लाह र अनुमति लिन सकेको भएमा यो विवाद नहुने स्थानीय बताउँछन्। कतिपय व्यक्तिलाई उसैको जमिनको रूख काटिँदा पनि जानकारी गराउन नसक्नु गाउलेको गल्ती भएको गाउँलेले नै स्वीकार गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.