दललाई दिने चन्दाले समस्या बढायो

|
फाइल तस्बिर

काठमाडौं : नेपालमा गत वर्षभन्दा भ्रष्टाचार घटेको तथ्यांकले देखाएको छ। सन् २०१८ मा ३१ अंकसहित १२४ औं स्थानमा रहेको नेपाल २०१९ मा ३४ अंकसहित ११३ औं स्थानमा पुगेको हो। केही सुधार भए पनि नेपाल भ्रष्टाचार व्याप्त रहेका मुलुकको श्रेणीबाट माथि उक्लिन सकेको छैन।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बिहीबार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकांक-२०१९’ मा नेपालले तीन स्थान सुधार गरेको देखिएको हो। ट्रान्सपरेन्सीले विश्‍वका १८० देशलाई समावेश गरेर यो सूचकांक सार्वजनिक गरेको हो। 

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका महासचिव मुकुन्द प्रधानका अनुसार सार्वजनिक पदको दुरुपयोगमा भ्रष्टचार विरोधी निकायको काम, न्यायपालिकाका काम कारवाही, कर असुलीसम्बन्धी विषय, सुरक्षा निकाय (खासगरी नेपाली सेना) मा सदाचारको पहललगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाजस्ता कारणले नेपालमा केही मात्रामा भ्रष्टाचार  घटेको सर्वेक्षणले देखाएको हो। 

यो वर्षको सूचीमा कूल १०० अंकमध्ये नेपालले ३४ अङ्क प्राप्त गर्दै ११३औँ स्थानमा परेको हो। सन् २०१८ मा नेपाल ३१ अङ्कसहित १२४औँ स्थानमा थियो। विश्‍व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भीडीइएमसमेत ६ संस्थाको सर्वेक्षणका आधारमा नेपालले सुधार गरेको हो।

ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष डेलिया फरेरा रुवियोका अनुसार नेपालका सरकारी तहमा हुने भ्रष्टचारबाट आजित जनतामा राज्यका निकायप्रतिको गिर्दो विश्वास घटाउन राजनीतिक सदाचारतर्फ उन्मुख हुनुपर्ने देखिएको छ।

ट्रान्सपरेन्सीले दलको चुनावी खर्चमा चन्दा र सहयोगबाट सिर्जना हुने भ्रष्टाचार तथा राजनीतिक व्यवस्थामा पर्ने पैसाको प्रभाव अन्त्य गर्नुपर्नेमा जोड दिएको छ। 

कम डेनमार्कमा, धेरै सोमालियामा 

सन् २०१९ मा विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क। डेनमार्कले ८७ अङ्क प्राप्त गरेको छ। विश्‍वमा सबैभन्दा बढी भ्रष्टाचार हुने देश सोमालिया छ। जसले नौ अङ्क प्राप्त गरेको छ। दक्षिण एशियामा सबैभन्दा कम भ्रष्टाचार गर्ने देशमा भुटान परेको छ।

भूटानले ६८ अङ्क प्राप्त गरी २५औँ स्थानमा छ। भारत र चीन समान ४१ अङ्क प्राप्त गरी ८०औँ स्थानमा परेका छन्। यस्तै श्रीलङ्का ३८ अङ्क प्राप्त गरी ९३औँ स्थानमा, माल्दिभ्स २९ अङ्क प्राप्त गरी १३० औँ स्थानमा र अफगानिस्तान १६ अङ्क प्राप्त गरी १७३औँ स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.