|

काठमाडौं : पर्यटन भ्रमण वर्ष २०२० शुभारम्भ भइसकेको छसरकारले २० लाख पर्यटक भित्र्याउने बताएको छ। तर, पर्यटकका लागि सार्वजनिक यातायातको प्रयोग चुनौतीका रुपमा खडा भएको छ।  

विदेशी पर्यटकहरू नेपाल प्रवेश गर्ने एउटै मात्र नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो। विमानस्थलमा अवतरण भएपछि विभिन्न देशबाट आउने पर्यटकले गन्तव्य स्थान वा होटलसम्म पुग्नका लागि सार्वजनिक यातायात वा ट्याक्सीको  प्रयोग गर्छन्। तर, विमानस्‍थल वरपरका टयाक्सी मिटरमा जान नमानेको पर्यटकहरूको गुनासो छ।

नेपाली मूलका बेलायती नागरिक तीर्थबहादुर मगर बुधबार इत्तेहाद एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे। उनले विमानस्थलबाट बाहिर निस्केर एक टयाक्सीलाई गन्तव्‍यसम्म लगिदिन अनुरोध गर्दा लामो बार्गेनिङ गर्नुपरेको यथार्थ सुनाए। 'ट्याक्सी पाइयो भने पनि सहज रूपमा गन्तव्यसम्म नपुर्‍याउने रहेछन्, 'उनले भने,' विदेशमा त टयाक्सी ड्राइभर यात्रुको गन्तव्‍यसम्म सहजै जान्छन् साथै भाडादर पनि निश्चित तोकिएको हुन्छ।'

तोकेको भाडामा जाँदैनन् ट्याक्सी

नेपालमा भने तोकिएको भाडादरमा टयाक्सीहरू हिँड्न नमानेको पनि पर्यटक मगरले गुनासो गरे। ३० मिनेटसम्ममा विमानस्थलबाट कुनै पनि टयाक्सीले मिटरबाट जान नमानेको उनको भनाइ छ। विदेशबाट आएका मानिसलाई जति पनि पैसा दिन्छन् र सहजै ठग्न पाइन्छ भन्ने मानसिकताले ट्याक्सीहरू मिटरमा जान नमानेको उनी बताउँछन्।

विमानस्थल बाहिरको मुख्य सडकमा रहेका अधिकांश ट्याक्सी मिटरमा जान नमानेको एक यात्री रजिना गुरुङ बताउँछिन्। विमानस्थल बाहिरबाट लाजिम्पाटसम्म जान टयाक्सीले पाँचसय माग्ने गरेको उनले बताइन्। उनले भनिन्,' मिटरमा जान कुनै ट्याक्सी मान्दैनन्। यहाँ बसेरे बार्गेनिङ गरेको २० मिनेट भयो।'

मिटरमा फाइदा हुँदैन : ट्याक्सी ड्राइभर

काठमाडौंका चोकचोकमा सवारी जाममा परिने  हुँदा मिटरमा हिँड्दा केही फाइदा नहुने ट्याक्सी चालकहरूको भनाइ छ।

नाम र टयाक्सी नम्बर नबताउने सर्तमा एक टयाक्सी ड्राइभरले भने, 'मिटरमा जाँदा सवारी जाममा घण्टौँ परिन्छ। त्यसले हामीलाई केही फाइदा हुँदैन।'

भाडा समायोजन हुनुपर्छ

सरकारले ट्याक्सीको भाडा समायोजन नगरेकोले मिटरमा कुदाउन सम्भव नरहेको राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य अर्जुन गौतमले बताए। सरकारले व्यावसायीको माग नसुन्दा ट्याक्सीहरू मिटरमा जान नमानेका उनको भनाइ छ। 'केही ड्राइभरले गलत पनि काम गरेका छन्, त्यस्तालाई विस्तारै सुधार गर्दै लानको लागि महासंघबाट पहल भइरहेको छ,' उनले भने।

५ हजार १ सय २७ टयाक्सीलाई कारबाही

मिटरमा जान नमान्‍ने ट्याक्सी चालकलाई ३ हजारसम्मको जरिवाना हुने कानुनी व्यवस्था छ। विमानस्थल वरपर ट्याक्सीमा लापरबाही नहोस् भनेर पनि सबैभन्दा बढी ट्राफिक प्रहरी खटाइएको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता जीवन श्रेष्ठले बताए।

केहीले लुकीछिपी ग्राहकलाई ठग्ने गरेको पाइएको उनको भनाइ छ। उनका अनुसार  साउनयता मिटरमा  जान नमान्ने ५ हजार १ सय २७ टयाक्सीलाई कारबाही गरिएको छ। गत वर्ष १२ हजार ७ सय ४९ टयाक्सीलाई कारबाही गरिएको थियो।

'यात्रुले आफूलाई ठगिएजस्तो लागेमा नजिकैको प्रहरी वा ट्राफिक प्रहरीलाई जानकारी गराउनुपर्छ, तत्कालै कारबाही हुन्छ' उनले भने।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.