|

पर्वत : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशको समृद्धिका लागि उद्यमी आफूसँग जे छ त्यही बैंकमा धितो राखेर भए पनि लगानी बढाउनु पर्ने बताएका छन्।

पर्वत उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारबाट सुरु भएको छैटौँ पर्वत महोत्सवको उद्घाटन गर्दै तिमिल्सिनाले राज्यले मात्रै सबै लगानी गरेर सम्भव नहुने भएकोले उद्यम गर्न चाहानेले पनि लगानी गरेमा मात्र देशको आर्थिक प्रगति हुने बताए।

‘राज्यले नै सबै लगानी गर्ने होइन, उद्यमीले पनि आफूसँग जे छ त्यसलाई बैंकमा धितो राखेर पैसा निकाल्नुपर्छ, त्यसलाई नै लगानी गर्नुपर्छ’ उनले भने, ‘यदि उद्यमीहरू बैंकमा धितो राखेर पैसा निकाल्न चहान्छन भने राज्यले त्यो प्रक्रियालाई सजिलो बनाउँछ, सहकार्य गर्छ।’

अर्को प्रसंगमा सभाध्यक्ष तिमिल्सिनाले नेपाल भ्रमण वर्षको सन्दर्भलाई जोड्दै पर्यटनको माध्यमबाट देशको आर्थिक समृद्धिमा थप बल पुग्ने बताए। तर त्यसका लागि नेपालीसँग भएका होटेल, होमस्टे, खाना, आतिथ्यता, बसाइँलगायतका कुरामा स्तरीयता आवश्यक पर्ने भएकोले पर्यटकलाई बोलाउनु मात्रै नभएर यहाँको सुधारलाई पनि ध्यान दिनुपर्ने उनको भनाइ छ।

‘आएका पर्यटकहरूले आयातित कुरा खाएर प्रगति हुँदैन, हामीले जे फलाएका छौँ त्यही बेच्न सकेमा मात्र आम्दानी हुने हो। नत्र त्यो पैसा आयातित सामग्रीको उत्पादकसँग पुग्छ।’ अध्यक्ष तिमिल्सिनाले थपे, ‘त्यो मात्रै होइन पर्यटकहरु आउँदा राम्रा नराम्रा दुवै कुराहरू आउँछन्, उनीहरूका राम्रा कुरा हामीले सिक्नुपर्छ, नराम्रा भुल्नुपर्छ।’

गृह जिल्लामा मन्तव्य दिएका उनले जिल्लाको विकासका लागि सम्भाव्यताका ठाउँ, पर्यटकहरूका लागि रहेका गन्तव्यहरूको विकास, आर्थिक प्रगतिका लागि कृषि र उद्यम लगायतका विषयमा के के गर्न सकिन्छ भन्ने बारेमा पनि बोलेका थिए।

महोत्सव मूल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माका अनुसार पर्वतमा उद्योग वाणिज्य संघको आयोजनामा हरेक ३/३ वर्षमा महोत्सवको आयोजना गर्ने गरिएको छ भने यस अहिलेको महोत्सवबाट करिब डेढ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ।

झन्डै २ सय स्टलहरू निर्माण गरिएको महोत्सवमा कृषि तथा उद्यमीको काम प्रदर्शन गरिएका ३० ओटा स्टलहरू निःशुल्क दिइएको छ। त्यस्तै, शैक्षिक तथा रचनात्मक काम प्रदर्शन गरिएका स्टलहरूको मूल्य अन्य स्टलको भन्दा कम तोकिएको छ। महोत्सवको समापन माघ १९ गते हुने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.