|

राजधानीको समाजशास्त्रमा
किन बर्जित छ- धाइरिङ*?

कुन शास्त्रले निर्माण गर्छ
यस्ता बेतुकका नीति नियमहरू
कि,
धाइरिङ र यस्तै सयौं गाउँहरू
धाइराको फूल भएका छन्।

गाउँले गोठालाहरू
भरियाहरू, पधेर्नीहरू
डोके र घाँसेहरू
जब गरिरहन्थे देउरालीकै बाटो

जीवनको ओहोरदोहोर

सपना, विश्वास र आस्थाको डोको बिसाएर
पाती चढाउनुपर्थ्यो देउरालीलाई
आफ्ना फूलहरू अरब पठाएर
फूल चढाउँथे आमाहरू
भन्थे–
बरु, पाती चल्छ
पात चल्छ
तर, चल्दैन धाइराको फूल


थाहा छैन– कुन शासकले चलायो
यो असमान हैकम
तर, आमाहरू भन्छन्–
धाइराको फूल जुठो हुन्छ।

कसले भनिदेओस् आमाहरूलाई
रंग उडेको
बासना हराएको
रस नभएको निरसिलो
धाइराको फूल नै देउरालीलाई नचढेपछि
ठीक त्यही र त्यस्तै जीवन बाँचिरहेका हामीहरू
कसरी चल्छौं?

कसले भनिदेओस् आमाहरूलाई
नजिकको मात्र देख्‍ने
पावरवाला चस्मा लगाएर बसेको राजधानीले
दूरदराजमा बस्‍ने हामीलाई पनि
देख्‍ने गरेको छ, धाइराको फूलजस्तै फुस्रो
र, नचल्ने भएका छौं हामीहरू ….।
पहिले-पहिले हामीले धाइराको फूल नचल्ने बनायौं
हिजोआज हामीलाई धाइराको फूल बनाइएको छ।

धाइरिङ–
अब खोज्‍नु छ, अस्तित्वको आफ्नै इतिहास
चिन्‍नु छ, इतिहासको त्यो जालिम शासक
जसले हाम्रो गालाको रंग खोसेर आफ्नो गमला सजायो
जीवनको बासना निकालेर
पर्फ्युम दल्यो
रस निकालेर मदिरा पियो र बर्बरायो
यिनीहरू धाइराको फूल हुन्
यिनीहरूको सुवास छैन
महत्व छैन
र छैन जिन्दगी भन्‍न सुहाउने कुनै पनि रस
त्यसैले,
रसिलो राज्य व्यवस्थाको कुनै पनि निकायमा  यिनीहरू
नचल्ने भएका छन्।

धाइरिङ–
सुल्टो भनेर उल्टो बाँचिरहेका हामीहरू
बाँचिदिऊँ उल्टो भनेर सुल्टो जिन्दगी
र खोजी–खोजी चढाइदिऊँ

देउरालीहरूमा धाइराको फूल
अनि भनिदिऊँ–
चल्छ भने अब धाइराकै फूल चल्छ
चल्दैन भने तिम्रो हुकुमी शासन, चल्दैन।

*धाइरिङ : प्रशस्त धाइरो पाइने पर्वतको एक गाउँ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.