उपचार गराउन भारत गएको प्रहरीको दाबी

|
फाइल फोटो

इटहरी : बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा राखेर अनुसन्धान गर्न दिएको आदेस उच्च अदालत विराटनगरले बदर गरेको छ। धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेशलाई बदर गर्दै उच्चले थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेको हो।

आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका कृष्णबहादुर गिरी 'सिद्धबाबा' लाई जिल्ला अदालत सुनसरीले पुसमा धरौटीमा छोड्न आदेश दियो। दुई दिनसम्म चलेको थुनछेक बहसपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले गिरीलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो।

तर, बिहीबार उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश बदर गरी थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको हो। आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन दायर गरेका थिए। सिद्धबाबाले पनि साधारण तारेखमा मुद्दाको पूर्पक्ष माग गर्दै निवेदन दायर गरेका थिए।

यता सिद्धबाबा उच्च अदालतमा मुद्दा चल्दाचल्दै भारत लागेका छन्। अनुयायीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतबाट धरौटीमा छुटेका सिद्धबावा उच्च अदालत परिसरबाटै भारततिर लागेका हुन्। नेपाल प्रहरीका हवल्दार अंगरक्षक र गाडी फर्काएर गिरी जोगवनी नाकाबाट भारत पसेका हुन्। 

प्रहरीले भने गिरी उपचार गराउन भारत हिँडेको दाबी गरेको छ। सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले गिरी उपचारका लागि भन्दै भारत गएको हुनसक्ने बताए।

गिरी भारततर्फ गएपछि सुरक्षा गार्ड हवल्दार मुकेश साहलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मोरङ तानिएको छ। जगदगुरु घोषणा भएपछि कृष्णदासलाई नेपाल प्रहरीका हवल्दारलाई उनको सुरक्षार्थ अंगरक्षक खटाइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.