'जिल्लाको खेलकुद विकासका लागि सहयोग गर्छु'

|

पर्वत : शुक्रबार बिहानको झण्डै ५ बजेको हुँदो हो, पर्वतको कुस्मा नगरपालिका-५ बडागाउँमा रहेको ब्याडमिन्टनको ‘कभर्ड हल’ मा खेल्न पुगेका राजकुमार बस्नेत छक्क परे। खेलपूर्वको तयारीका लागि वार्म अप गरिरहेका उनलाई ढोकाबाट कसैले ‘ए भाइहरू त खेल्न आइसक्नुभएको रहेछ म अलिकति ढिला भएँछु’ भन्यो।

ढोकातर्फ हेर्दा त बस्नेतलाई ‘सरप्राइज’ नै भयो। स्थानीय खेलप्रेमीहरू जम्मा भएर खेल्दै आएका उनीहरूले देशकै उच्च ओहदामा रहेका व्यक्ति उज्यालो नहुँदै ‘कभर्ड हल’ मा देखेपछि अक्क न बक्क भए।

उद्योग वाणिज्य संघ पर्वतका निवर्तमान अध्यक्ष हरिओम शर्मा लामिछानेको साथमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ‘स्पोर्ट ड्रेस’ पहिरिएर खेल खेल्नकै लागि कबर्ड हलमा पुगेका थिए।

‘सोचे न सम्झेको उहाँजस्तो मान्छे एक्कासि हलमा पसेपछि त आश्चर्य नै भयो नि हामीलाई त।’ खेलाडी बस्नेतले भने, ‘उहाँ खेल खेल्ने तयारीका साथमा पोसाक नै लगाएर आउनुभएको। सुरुमै त मै झुक्किएँ जस्तो लाग्यो पछि त गणेश सर नै हुनुहुँदो रहेछ।’

अध्यक्ष तिमिल्सिनाले खेलाडीहरूसँगै खेल्ने बताएपछि ‘डबल’ तर्फको खेलमा उनको पक्षमा बस्नेतले नै साथ दिए विपक्षीमा हरिओम शर्मा लामिछाने र ओमकार श्रेष्ठ परे। राजनीतिमा पारखी तिमिल्सिनाले गेम जित्न भने सकेनन्। पहिलो सेटमा १५–२० र दोस्रो सेटमा १६–२० ले तिमिल्सिना पक्षले खेल हार्‍यो।

खेलपछि थाहा खबरसँग कुरा गर्दै अध्यक्ष तिमिल्सिनाले आफू पर्वतकै भएका कारण जिल्लाको विकासको लागि आफूले सकेसम्मको योगदान दिने बताए। देशले समृद्धि खोजिरहेको बेलामा त्यसैको एउटा पाटो खेल जगत पनि भएकाले जिल्लाको खेलकुद विकासका लागि आफूले सम्बन्धित निकायहरूमा आवश्यक पहल गर्ने उनको भनाइ छ।

‘म यही जिल्लाको भएकै कारण पनि मेरा जिल्लावासीहरूले विकासको अपेक्षा गर्नु नै पर्छ।’ अध्यक्ष तिमिल्सिनाले भने, ‘समृद्धिको एउटा पाटो खेल क्षेत्र पनि हो, जिल्लामा खेलकुदको विकासका लागि आवश्यक पहल गर्ने छु।’

देशलाई समृद्ध पार्न नागरिक स्वस्थ हुनुपर्ने र स्वस्थ हुनका लागि खेल महत्त्वपूर्ण माध्यम भएकाले सकेसम्म सबैले बिहानमा कम्तीमा पनि एक/डेढ घण्टा खेल खेल्ने वा व्यायाम गर्ने बानी बसाल्नुपर्ने उनले सुझाए। आफू खेल खेल्न पुगेको ‘कभर्ड हल’ निर्माण गरेको पर्वत मोदीकाली ब्याडमिन्टन सङ्घलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि अध्यक्ष तिमिल्सिनाले गरेका छन्।

बिहीबारदेखि पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको छैटौँ पर्वत महोत्सवको उद्घाटनका लागि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना बिहीबार नै गृह जिल्ला पर्वत आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.