जसले कविता छपाउन जुत्ता फटाए

|

काठमाडौं : कवि चन्द्रवीर तुम्बापोले एक भेटमा नेपाली कविता लेखनको खुराक नै सकिएको गुनासो पोखे। ७० को दशकका कविको लेखन शैली र विषयमा ठूलो संकट रहेको अर्को कुरा उनले सुनाए। उनको दुखेसो यति मात्रै थिएन, कविहरू भुलभुलैया र आत्मरतिमा रमाउनाले  दुर्घटना निम्तिने डर पनि देखाए।

पहिले लामो कपालमा देखिने कवि अचेल छोटो कपालमा देखिन थालेका छन्। 'कवितालाई जस्तो कपाललाई प्रेम गर्न सकिएन नि हाउ,' उनले एक मेलो हासोँ छाडे।

उनी कवितालाई प्रेम गर्छन्। उनी र कविता परिपूरक जस्तो देखिन्छ। उनी हिँड्दा डुल्दा कविताबारे सोचिरहन्छन्। भृकुटीमण्डप होस् या गोष्ठीमा उनी बहसमा उत्रि हाल्छन्, कविताबारे खरो टिप्पणी गर्छन्। 'म हरेक व्यक्तिलाई प्रेम र सम्मान गर्छु', उनी भन्छन्, 'तर कवितालाई सामान्य मान्ने व्यक्ति देख्दा चाहिँ झोंक चल्छ।' 

एक दशक भन्दा बढी लेखनमा साधनारत कविले  कविताकृति निकाले। तर उनी आफुलाई कवि भन्‍न रुचाउँदैनन्। 'कहाँ हुन्छ हाउ कवि बन्‍न धेरै साधना र मिहिनेत चाहिन्छ', उनले सुनाए, 'म त कविताको विद्यार्थी हुँ।'

हरेक व्यक्तिका लागि कविता आफ्ना दृष्टिकोणबाट लेख्ने गरेका छन्। कविले कविता लेख्दा दायित्वबोधबाट प्रेरित हुनुपर्छ। नयाँ संरचना र नयाँ विम्वको प्रयोग गर्नुपर्ने उनको बुझाई छ। 'नेपालका कविहरूको समस्या भनेको भूपि र रिमालको कविताको संरचनाभन्दा पर गएर लेख्न सकेका छैनन्', उनले सुनाए,'कवितामा प्रयोग भइरहेका छन्, तर त्यो स्कुलिङ हुनै बाँकी छ।'

आफ्ना समकालिनहरूले पनि नयाँ तरिकाले कविता लेख्ने कोशिश गरेको बताउँछन् उनी। स्वंयले पनि नयाँ संरचनामा कविता लेख्न कोशिश गरे। तर बैरागी काइँला र उपेन्द्र सुब्बाको कवितामा जोडिन पुगेपछि उनलाई  लाग्यो, 'म बाट यो हुदैँन।'

कविहरू आत्मरति र गुटमा रमाए भन्ने तुम्बापोलाई पंक्तिकारले 'आफ्नो मूल्यांकन कसरी गर्नुहुन्छ?' भनेर प्रश्न गर्‍यो। उनी आफू पनि त्यो समयबाट गुज्रेको स्वीकार्छन्। 'आत्मरति र गुटमा पनि रमाइयो। त्यो एउटा बेला थियो। जुन दिन आफूलाई लाग्यो, म आत्मरति र गुटमा रमाउन थालेँ, त्यस दिनदेखि सच्चिनँ कोशिश गरेँ।' 

कविता छपनाउन जुत्ता चप्पल फटाएका उनी अहिले कविता छाप्न मन गर्दैनन्? आखिर किन त? 'सधैँ आफ्ना कविता मात्रै छाप्नुपर्छ भन्ने के छ र? नयाँ पुस्तालाई प्राथमिकता दिनु पर्दैन?' उल्टै प्रतिप्रश्न गर्छन्।

कुनैबेला हप्तामा २ वटा कविता लेख्ने तुम्बापो अचेल लेखन सुस्ताएको बताउँछन्। तर तीन वर्षअघि उनले 'झण्डामुनि' भन्ने कविता लेखे।

कविता : झण्डामुनि

हामीले मुटु-मुटुबाट झिकेर रगत

दिएका हौं जीवन र त

हावासँग मस्किमस्की नाचिरहन्छ झण्डा

 हामीले आङलाई सिनित्तै निचोरेर

पसिना दिएका हौं हराभरा

र त हिमाल सामुन्ने

ठाडै चम्किएको छ झण्डा

हामीले यसरी हाम्रो मासुको रेसाले चट्ट सिलायौं

 र अन्त्यमा हाम्रै नलिहाडमा उनेर  जब उचाल्यौं

 अचम्म यो झण्डाको लाम्चो छायामुनि कता हराए

 हाम्रा अनुहार...?

उक्त कविता उनले एकैरातमा लेखेका थिए। झण्डाको इतिहास जस्तै उनको कविता पनि लामो र झुर बन्यो। उनले कवितालाई काट्दै काट्दै गए, अन्त्यमा छोटो बन्यो। 

उनी  देशको झण्डालाई सम्मान गर्छन्। तर झण्डाको पोलिटिक्स भने डरलाग्दो रहेको उनले बुझेका छन्। 'झण्डा बन्‍नु भनेको विभाजनको संकेत हो', उनको बुझाइ यही हो।

विश्वभरका असंख्य मानिस यही  झण्डाको आडमा पीडित बनेका छन्, थिचोमिचोमा परेका छन्। पीडितहरूको आवाज झण्डाले बोल्न नसकेको उनको ठहर छ। झण्डाले ढाकेको र  लुकाएको अनुहार समेटेर कविता लेख्नुपरेको बताउँछन् उनी। 

तीन वर्ष अगाडीको कुरा हो। नेपालमा जनजाति, दलित, महिला, सीमान्तकृत समुदाय अधिकार खोज्दै आन्दोलित भए।

यो दुर्दशाको शिलशिला लामो समयदेखि चलिरहेकै छ। यो विरक्तिले उनलाई कविता लेख्न प्रेरित गर्‍यो। यो कविता उनले मधेसको आन्दोलनको समर्थनमा पहिलोपटक नयाँ बानेश्वर चोकमा सुनाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.