|

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सरस्वती युथ क्बलमाथि संघर्षपूर्ण जित निकालेको छ।

शुक्रबार दशरथ रंगशालामा भएको खेलमा मनाङले सरस्वतीमाथि १-० को जित निकाल्दै लिगको शीर्ष स्थानमा रहेका त्रिभुवन आर्मी क्लबसँग अंग बराबरी गरेको छ। मनाङको जितमा स्ट्राइकर विमल रानाले निर्णायक गोल गरे।

लिगमा एक मात्र अपराजित टोली मनाङले पाँचौ खेलमा आएर भने जितको लयमा फर्किएको छ। जितपछि ८ खेलमा १६ अंक जोडेको मनाङ तेस्रो स्थानमा उक्लिएको हो। एक खेल कम खेलको त्रिभुवन आर्मी क्लब र ८ खेल खेलेको मच्छिन्द्र समान १६ अंकका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन्।

१४ अंक जोडेको थ्री स्टार चौथो र १२ अंकका साथ जावलाखेल युथ क्लब पाँचौ स्थानमा छ। लिगमा अझैसम्म पनि जितको खाता खोल्न नसकेको सरस्वती क्लब रेलिगेशनको संघारमा छ र टोलीसँग मात्र १ अंक छ।

शुक्रबार नै भएको अर्को खेलमा च्यासल युथ क्लबले ब्रिगेड ब्बाइज क्लब (बिबिसी) लाई १-० ले हराएको छ। इन्जुरी समयको दोस्रो मिनेटमा कप्तान सन्तोष साहुखलले गरेको गोलले च्यासललाई जित दिलायो।

यस जितपछि ८ खेलमा ९ अंक जोडेको च्यासल नवौँ स्थानमा उक्लिएको छ भने बिबिसी समान खेलमा ८ अंकका साथ १० औं स्थानमा झरेको छ। प्रतियोगितामा शनिबार न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी तथा फ्रेन्ड्स र संकटा क्लबबीच खेल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.