सडकको बिल पास गर्न उपभोक्तासँग मागे घुस

|

दैलेख : जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी घुससहित पक्राउ पर्ने माथिल्लो तहका पहिलो जनप्रतिनिधि भएका छन्। यसअघि वडाअध्यक्ष र वडासदस्यहरुलाई अख्तियार घुस प्रकरणमा पक्राउ गरेको थियो। 

आठ लाख रुपैयाँ घुससहित समातिएका उनी आफूलाई भ्रष्टाचारविरोधी नेताकारुपमा चिनाउँथे। उनले आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा २०७५ साउनमा पत्रकारहरुलाई गाउँलाई भ्रष्टचारमुक्त बनाउने अभियानमा लागेको बताएका थिए।

'गाउँपालिका अध्यक्षको हैसियतले जुनिचाँदेलाई भ्रष्टाचार मुक्त बनाउने योजनाका साथ योजनाको प्रोफाइल बनाउँदैछौँ, नीतिगत काम गर्दैछौँ। स्थानीय सरकार सञ्चालनका केही नीति ऐनहरु पारित गरेका छौँ', उनले भनेका थिए, 'नयाँ संरचनामा जनप्रतिनिधिले निर्वाह गर्ने जनपक्षीय कार्यशैली र कार्यक्रमले जनतामा परिवर्तनको अनुभुति हुनेछ। यसअर्थमा जुनिचाँदे गाउँपालिकाले साँच्चिकै सिंहदरबारको अधिकार गाउँ गाउँमा गएको अनुभूति जनतालाई दिलाउनेछ।'

तर गाउँलाई भ्रष्टाचारमुक्त अभियान चलाइरहेको बताउने उनै अध्यक्ष केसी शुक्रबार ८ लाख रुपैयाँ घुससहित सुर्खेतमा पक्राउ परे। केसीलाई ८ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले रंगेहात पक्राउ गरेको हो।

अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाका अनुसार अध्यक्ष केसीसँगै चन्द्रबहादुर बस्‍नेतलाई पनि हिरासतमा लिइएको छ।

केसीले जुनिचाँदै गाउँपालिका-५ मा विभिन्‍न उपभोक्ता समितिमार्फत गरिएको सडक निर्माण सकिएपछि पेश गरिएको बिल पास गर्न घुस मागेका थिए। उपभोक्ता समितिको काममा पनि घुस मागेपछि अख्तियार गुहारिएको थियो।

बिल रोक्न लगाएर घुस मागेको भन्दै उपभोक्ताहरुले अख्तियारमा उजुरी हालेपछि अध्यक्ष केसीमाथि निगरानी बढाइएको थियो। उपभोक्ताको उजुरीपछि हर्कतमा आएको अख्तियारको टोलीले लामो समय पछ्याएर रंगेहात समातेको हो। 

अख्तियारको टोलीले दुवैजनालाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ कटकुवा हेल्थपोष्ट नजिकबाट पक्राउ गरी हिरासतमा लिएको हो। दुवैजनालाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको सूचना अधिकारी सापकोटाले जानकारी दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.