|

काठमाडौं : महिलातर्फ विभागीय टोली एपिएफ र पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लबले पाँचौ आरबिबी पुरुष/महिला क्लब च्याम्पियनसिपको उपाधि जितेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भड हलमा शुक्रबार भएको फाइनल खेलमा महिलाको एपिएफले होङ्वान्जी न्यु डायमन्ड स्पोर्टस क्लबलाई र हेल्प नेपाल स्पोर्ट्स क्लबले विभागीय टोली एपिएफको चुनौति समाप्त गर्दै उपाधि जितेका हुन्।

न्यू डायमन्डकी स्पाइकर प्रतिभा माली तेस्रो सेटको खेल चलिरहँदा घाइते हुँदै कोर्ट बाहिर रहँदा एपिएफले ३-१ को सेटमा खेल जित्दै उपाधि लगातार दोस्रो पटक उचालेको हो। यससँगै एपिएफले उपाधि रक्षा गरेको छ।

निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा एपीएफले पहिलो सेट २५–२३ ले जितेको थियो। दोस्रो सेटमा पनि न्यु डायमण्डले अन्तिम समयमा लय गुमाउदा २५-२१ ले सुम्पियो। तेस्रो सेटमा स्कोर २२-२० को अवस्थामा रहँदा प्रतिभा माली स्पाइक प्रहार गरेपछि लड्न पुग्दा खेल रोकिएको थियो।

गम्भीर चोट बोकेपछि प्रतिमालाई हस्पिटल लागिएको छ। उनको उपचार ब्लुक्रस हस्पिटमा भइरहेको छ। उक्त सेट न्यु डायमण्डले २५-२३ ले जित्दा चौथो सेट भने २५-१८ सुम्पिदा एपिएफ उपाधिको हकदार भएको हो।

जितसँगै एपिएफले नगद २ लाख रुपैयाँ हात पार्‍यो। यस्तै, उपविजेता न्यु डायमन्डले एक लाख रुपैयाँ प्राप्त गर्‍यो। महिलातर्फ पनि त्रिभुवन आर्मी क्लब तेस्रो भयो। आर्मीले तेस्रो स्थानको लागि प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २५-२२, २५-१३ र २५-२१ को सेटमा जित निकालेको थियो। तेस्रो भएको आर्मी ५० हजार रुपैयाँबाट पुरस्कृत भयो।

प्रतियोगिताअन्तर्गत शुक्रबारै सम्पन्न पुरुषतर्फको खेलमा तीन विदेशी खेलाडी भएको हेल्प नेपालसँग विभागीय टोली एपिएफ सोझो सेटमा निराश बन्यो। सेमिफाइनल आर्मीलाई हराउँदै फाइनल स्थान बनाएको एपिएफ उच्च मनोबलका साथ कोर्टमा उत्रिए पनि हेल्प नेपालसामु खुलेर खेल्न सकेन्। हेल्प नेपालले उपाधि जित्दा एपिएफ २५–१७, २५–१४ र २५–२० को सोझो सेटमा स्तब्ध बनेको हो। हेल्प नेपालले सबै सेटमा अग्रता बनाउँदै उपाधि उचाल्न सफल भएको हो।

पाँचौ संस्करणको पुरुष क्लब च्याम्पियनसिप सम्पन्न हुँदा हेल्प नेपालले दोस्रो पटक यसै प्रतियोगिताको उपाधि जितेको हो। यसअघि हेल्प नेपालले २०७३ को संस्करणमा उपाधि जितेको थियो।

सम्पन्न प्रतियोगिताका सबै खेलमा जित निकाल्दै उपाधि जितेको हेल्प नेपालले पनि उपाधिसँगै नगद २ लाख रुपैयाँ हात पार्‍यो। उपविजेता बनेको एपिएफले १ लाख हात पार्दा तेस्रो भएको आर्मीले नगद ५० हजार हात पार्‍यो। शुक्रबारै सम्पन्न तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आर्मीले पुलिसमाथि २५-१८, २५-१८ र २५-२० को सहज जित निकालेको थियो। प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीले सहभागिता जनाएका थिए।

परुष तर्फ ११ र महिला तर्फ ७ टोलीले सहभागिता जनाएको प्रतियोगितामा न्यू डायमन्डकी प्रतिभा मालि र हेल्प नेपाल स्पोर्टस क्लबका अमित सर्वोत्कृष्ट खेलाडी घोषित भए। यस्तै महिलातर्फ न्यू डायमन्डकी प्रतिभाले दोहोरो उपाधि जित्दा उत्कृष्ट सर्भर पनि घोषित भइन्।

एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, त्रिभुवन आर्मी क्लबकी सुनिता खड्का उत्कृष्ट ब्लकर, एपिएफकी विनिता बुढाथोकी उत्कृष्ट सेटर, न्यू डामण्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो र एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए।

त्यस्तै, पुरुषतर्फ आर्मीका राजेन्द्र विष्ट उत्कृष्ट स्पाइकर, हेल्प नेपालका याम क्षत्री उत्कृष्ट ब्लकर, हेल्प नेपालका  विकास कुमार उत्कृष्ट सेटर, एपिएफका विनोद चन्द उत्कृष्ट लिबेरो, एपिएफका विजय थापा उत्कृष्ट सर्भर र हेल्प नेपालका स्वमभिराम बलवानसिंह उत्कृष्ट प्रशिक्षक घोषित भए। सर्वोत्कृष्ट प्रतिभा र अमितले उपाधि सहित २५ हजार तथा विधागत उत्कृष्टले जनही १० हजार रुपैयाँ प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.