अध्यक्ष र कार्यवाहक अध्यक्षले एकअर्कालाई गरे कारबाही

|

डडेल्धुरा : नेपाल विद्यार्थी संघ डडेल्धुरामा ‘लफडा’ सुरु भएको छ। गृह जिल्ला डडेल्धुरामै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पुतला दहन गरिएपछि नेविसंघ डडेल्धुरामा ‘हलचल’ सुरु भएको हो।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र सूचना प्रविधि विधेयकविरुद्ध उत्रेका युवाहरुले बिहीबार पार्टी सभापतिकै पुतला दहन गरेपछि नेविसंघ डडेल्धुरामा ‘हलचल’ मच्चिएको हो।

नेपाल विद्यार्थी संघ डडेल्धुराका अध्यक्ष र कार्यवाहक अध्यक्षले एकअर्कालाई कारबाही गरेको घोषणासमेत गरेका छन्। नेपाल विद्यार्थी संघका अध्यक्ष दीपेन्द्र भट्टले कार्यसमिति सदस्य पदम भण्डारी संघको नीति निर्देशनविपरीत उछृङ्खल गतिविधि गरेको भन्दै कारवाही गरेको जनाएका छन्।

नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस पार्टीको नीतिमा आँच पुगेकाले जिल्ला कार्यसमितिबाट निष्काशित गरिएको विज्ञप्तिमार्फत कारवाही गरेको जनाएका छन्।

अध्यक्ष दिपेन्द्र भट्टले शुक्रबार विज्ञप्ति निकालेर पार्टीको निर्देशन विपरीतका गतिविधीमा संलग्न नहुन आग्रह गरेका छन्। सदरमुकाममा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्धमा अन्दोलन भइरहेको छ। उक्त आन्दोलनमा नेपाल विद्यार्थी संघका केही सदस्य संलग्न रहेकाको नेविसंघको गम्भीर ध्यानकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

कार्यवाहक अध्यक्ष पदम भण्डारीले पनि शुक्रबार नै विज्ञप्ति जारी गर्दै अध्यक्ष भट्ट नेविसंघको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जानकारी गराएका छन्।

अध्यक्ष भट्टले नेविसंघको विधान विपरीत संगठनको मान मर्यादामा आँच आउने गतिविधि गरेको, अध्यक्ष भएदेखि कुनै पनि काम नगरेको, पदको दुरुपयोग गरि चन्दा संकलन गरेको, संगठनको नीति विपरीत जिल्ला सदस्य मनोनित गरेको, संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा सहयोग नगरेको अरोप लगाउँदै अध्यक्षलाई कारबाही गरेको जनाएका छन्। कार्यवाहक अध्यक्ष भण्डारीले आफूले तीन महिनामा गरेका कामहरू समेत विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन्।

बिहीबार बेलुका जिल्ला सदरमुकामको भीमदत्त शालिक नजिकै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापतिका सभापति शेरबहादुर देउवाको पुतला दहन गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.