|

भद्रपुर (झापा) : भद्रपुरमा नगर पूर्वाधार विकासका योजना अन्तर्गतका नालासहितको कालोपत्रे सडक बिस्तारको काम धमाधम भइरहेको छ। तर, निर्माण कार्यको गुणस्तरमै प्रश्न चिह्न उठ्न थालेको छ।

निर्माण स्थलमा तीन नम्बर इँटा प्रयोग गरी नाला बनाउन थालेपछि योजनाको गुणस्तरमा स्थानीयले आवाज उठाउन थालेका हुन्। नगरपालिकाले प्राविधिक टोलीलाई वडा विभाजन गरी निर्माण स्थलमा खटाए पनि प्राविधिकले उपभोक्ता समिति र उपभोक्ताले ठेकेदारको पक्षमा वकालत गर्न थालेका छन्।

प्रस्तावित योजनाअनुसार नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा ५५ लाख रुपैयाँको १६ वटा सडक बिस्तार योजनामा जनसहभागितासहित ८ करोड ८० लाख रुपैयाँको काम सुरु गरिसकेको नगरपालिकाका इन्जिनियर योगेन्द्र रन्जितकारले जानकारी दिए। 

अघिल्लो वर्षको ५५ लाख रुपैयाँकै नालासहितको सडक बिस्तारको काममा नगरपालिकाले इँटा प्रयोग ल्याएको थिएन। ती योजनामा ढुङ्गा प्रयोग गरिएको थियो। तर, चालु आर्थिक वर्षदेखि नगरपालिकाले इँटा प्रयोगमा ल्याएको छ। नगरपालिकाको इस्टिमेटमा नाला बनाउँदा सोलिङको काममा दुई नम्बर इँटा प्रयोगमा ल्याउने उल्लेख गरेको छ। तर, उपभोक्ता समिति र उपभोक्ताका ठेकेदारले तीन नम्बरको गुणस्तरहीन इँटा जडान गर्दै आइरहेको पाइएको छ।

निर्माण स्थलमा तीन नम्बर इँटा

भद्रपुर–४ स्थित रेडक्रस उपशाखा हुँदै संयुक्त वडा कार्यालय जाने बाटो पश्चिम कल्भर्टसम्मको नालासहितको सडक विस्तारको काम भइरहेको छ। उक्त सडकको निर्माण स्थलमा तीन नम्बर इँटा फेला परेको छ। 

नगरपालिकाले दुई नम्बर इँटा इस्टिमेटमै तोकेको भए पनि निर्माण स्थलमा तीन नम्बर इँटा खसालिएको स्थानीय रूपसिंह राजवंशी बताउाछन्। ‘तीन नम्बर इँटा खसालेपछि गाउँले विरोध गर्‍यौं’, उनले भने, ‘त्यसपछि उपभोक्ता समितिले इँटा उद्योगमै दुई नम्बर इँटा हेरेर आउनुहोस् भनेपछि हामी उद्योगमा पनि पुग्यौं। उद्योगमा दुई नम्बर इँटा अर्को थियो, यहाँ अर्के छ।’

पहिलो ट्रयाक्टर इँटा झारेको बेला नगरपालिकाका सबइन्जिनियर सुजित कर्ण फिल्डमा आएको स्थानीय अरुण राजवंशीले बताए। स्थानीयले इँटा तीन नम्बर झारेको भन्दा सबइन्जिनियरले यो नै दुई नम्बर इँटा भनेर तर्क गरेको स्थानीय मदन बस्नेतले बताउँछन्।

तीन नम्बर इँटा एकापसमा ठोक्काउँदा प्याट्टप्याट्ट फुट्न थालेको दृश्य समेत स्थानीयले देखाएका थिए। इँटाको गुणस्तरमा आवाज उठाइरहेको स्थानीय दीपक राईले बताउँछन्। उनले भने,  ‘स्थानीयको विरोधपछि अहिले निर्माण स्थलमा राखिएको इँटा फिर्ता गराउने सर्तमा अर्को इँटा झार्ने लगाएका छौं।’

यता नगरपालिका इन्जिनियर योगेन्द्र रन्तिकारले इँटाको गुणस्तरमा स्थानीयले विरोध गरेपछि काम रोक्न उपभोक्ता समितिलाई आदेश दिएका बताए। समितिले इँटा फिर्ता गराएपछि मात्र काम पुनः सञ्चालन गर्ने उनको भनाइ छ। 

त्यस्तै, भद्रपुर–७ स्थित वोत्तबारीदेखि फूलसिंह राजवंशीको घर जाने बाटोमा पनि नाला बनाउने काम हुँदैछ। त्यहाँ पनि नालामा पुरानो खालको गुणस्तरहीन इँटा प्रयोग भएको पाइएको छ। निर्माण स्थलमा गुणस्तहीन इँटा प्रयोग हुँदा पनि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीय हरदीप राजवंशीले बताए। इँटाको विषयमा कुरा राख्दा उल्टै निर्माण पक्षधर आफूमाथि नै जाइलागेको राजवंशीले गुनासो गरे।

नाम मात्रको उपभोक्ता समिति

जनसहभागितामै पूर्वाधार विकासतर्फका योजनाका कामहरू गुणस्तरयुक्त बन्ने ठहरका साथ नगरपालिकाले हरेक ५५ लाखे योजनाहरू उपभोक्ता समिति गठन गरी सञ्चालनमा ल्याएको छ। नगरपालिकाले ४४ लाख र जनसहभागिताबाट ११ लाख गरी ५५ लाख रुपैयाँको योजना बनाएको हो।
 
यो योजना उपभोक्ताकै रोहबरमा बन्छ। प्राविधिक रेखदेखको जिम्मेवारी नगरपालिकाका इन्जिनियर र सबइन्जिनियरको हुन्छ। तर, अधिकांश उपभोक्ता समितिले निर्माण कार्यको सम्पूर्ण जिम्मा ठेकेदार दिने गरेका छन्।

‘जुन ठेकेदारसँग उपभोक्ता समितिको कुरा मिल्छ, त्यसैलाई नै दिँदा कामको गुणस्तरमा प्रश्न उठ्दैछ,’ स्थानीय मदन बस्नेतले भने ‘यो कुरा नगरपालिकाका प्राविधिकलाई पनि थाहा छ। तर, ठेकेदारले प्राविधिकलाई पनि समेटेर लैजाँदा त्यसपछि निर्माणको गुणस्तरको पक्षमा कसले बोल्ने?।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.