काठमाडौं : आज भन्दा १९ वर्षअगाडि अर्थात सन् २०००–०१ को सिजनमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले एक 'रेकर्ड' बनायो। युनाइटेडले उक्त सिजनको प्रिमियर लिग खेल बाँकी रहँदा नै सबैभन्दा चाँडै जितेको थियो। प्रिमियर लिगमा यो एक रेकर्ड नै थियो।
म्यानचेस्टरले यो रेकर्ड बनाउनुका पछि केही बलिया आधारहरु पनि थिए। क्लब फुटबलमा 'भगवान' मानिने सर एलेक्स फर्गुसन म्यानचेस्टरका प्रशिक्षक थिए।यतिखेर चाहिँ अर्को इंग्लिस क्लब लिभरपुलका योर्गेन क्लोप उनै फर्गुसनले बनाएको त्यो कीर्तिमान भंग गर्ने दाउमा देखिन्छन्।
यात्रामा कुनै अवरोध नआए गुडिसन पार्क अर्थात एभर्टनको मैदान या इत्तेहाद सिटीको मैदानमा उपाधि जित्दा लिभरपुलले आफ्नो पारम्परिक प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडको किर्तिमान भङ्ग गर्ने छ।
लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप ।
युनाइटेडले उपाधि जित्दा उसको हातमा पाँच खेल बाँकी थियो। सिटीले पनि २०१७–१८ मा उपाधि जित्दा उति नै खेल हातमा रहेको थियो। लिभरपुलले गुडिसन पार्कमा उपाधि उचाल्ने हो भने उसको हातमा ८ खेल बाकी रहँदानै उपाधि हातमा हुने छ। अर्थात फर्गुसनको रेकर्ड योगर्न क्लोपले आफ्नो नाममा पार्ने छन्।
युनाईटेडलाई गत १९ जनवरीमा आफ्नो मैदानमा २–० ले हराएसँगै लिभरपुलले आफूलाई लिग च्याम्पियन हुनबाट कसैले रोक्न नसक्ने उदघोष गर्यो। किनभने लिभरपुलले यूनाइटेडलाई हराएसँगै नयाँ कोशेढुँगा पार गर्न सफल भयो। २२ खेल सकिँदा १६ अंकको दुरीमा रहने यो किर्तिमान लिभरपुलले चेल्सीको २००५–०६ को कीर्तिमानको बराबरी थियो।
एक समय लिभरपुलजस्तै न्यु क्यासलको पनि दबदबा थियो। १९९५–९६ को सिजनमा जतिबेला उपाधि जित्ने ढुक्क भएको तर्फ इङ्गित गर्दै न्यु क्यासलका केभिन किगनले फुर्तिका साथ भने-‘आइ वुड लभ इट इफ वि बिट देम, लभ इट’ (उनीहरुलाई हराउने हो भने मलाई एकदम राम्रो लाग्नेछ)। कारण : सिजनको शुरुवातमा न्यु कासल १२ अंकको अग्रतामा थियो। तर अन्तिममा लिग युनाइटेडले चार अंकले अघि रहेर जित्यो। प्रिमियर लिगमा ठूलो अग्रता लिएर पनि उपाधि जित्न नसकेको टोली न्यु कासल नै हो र कसैले तोड्ने सामर्थ्य राख्थ्यो भने त्यो म्यानचेस्टर युनाईटेड नै थियो।
तर अहिले कथा फरक छ। लिभरपुल न्यु क्यासलको यो किर्तिमान तोड्न चाहँदैन। यदि लिभरपुलको कीर्तिमान कसैले तोड्ने सामर्थ्य कसैले राख्छ भने त्यो युनाईटेड हुने छैन।
युनाईटेडले 'फर्गुसन ऐरा'मा के जितेन ? उसले सबथोक जित्यो। फर्गुसन कति सफल प्रशिक्षक हुन् भने उनले युनाईटेडलाई १३ पटक त प्रिमियर लिगमात्रै जिताए। १३ पटक च्याम्पियन बनाउँदा फर्गुसन ११ पटक 'म्यानेजर अफ द सिजन' भए। उनको आफ्नै कथा छन्। तर यो पटक युनाईटेडमा केन्द्रित हुनुको पछाडि २७ वर्ष फर्गुसनले सम्हालेको युनाईटेडको साखमा अहिले प्रश्न उठ्न थालेको छ। फुर्गसनले २०१२–०१३ को सिजनमा च्याम्पियन बनाएर छोडेको युनाईटेडले उपाधि नजितेको ७ वर्ष हुन लागेको छ।
सर्वाधिक धेरै समर्थक भएको विश्वको ठुलो फुटबल क्लब युनाईटेड उपाधि अभियानको हिस्सेदार त परको कुरा, प्रिमियर लिगमा शीर्ष चारका लागि समेत निरन्तर संघर्ष गर्नु परिरहेको छ। युनाईटेडको बैचैनी यो बिचमा कति बढ्यो भने उसले फेरेका प्रशिक्षकको सुचीबाटै थाहा हुन्छ। पछिल्लो सात वर्षमा युनाईटेडले पाँच प्रशिक्षक फेर्यो। जसमा डेभिड मोयस, रायन गिग्स, लुइस भान गाल, जोसे माउरिन्हो र अहिले ओले गुनार सोल्सायरलगायत थिए। यी प्रशिक्षकहरु युनाईटेड क्लबको फुटबल इतिहासमै सर्वाधिक छोटो समयमा धेरै प्रशिक्षक परिवर्तन गरिएको घटनाका हिस्सेदार बने।
अंकतालिकमा जारी प्रिमियर लिगका शीर्ष पाँच क्लब।
केहि दिनअघि युनाईटेड बर्नली सँग २–० ले पराजित भएसँगै फेरि युनाइटेडमा प्रशिक्षक परिर्वतनको चर्चा शूरू भएको छ। हालका प्रशिक्षक सोल्सायरको भविष्य युनाईटेडलाई शीर्ष चारमा पुर्याउने या नपुर्याउनेले निर्धारण गर्ने छ।
जारी सिजनमा युनाईटेडले २४ खेलबाट ९ जित, ७ बराबरी र ८ हारसहित ३४ अंक बनाएर पाँचौ स्थानमा छ। चौथो स्थानको चेल्सीभन्दा ६ अंकले युनाईटेड पछि रहेको छ। युनाईटेडकै समान टोटनह्याम र वल्भेसको पनि ३४ अंक छ। त्यसैले जारी लिगमा युनाईटेडको स्थानबारे अहिल्यै एकीन गर्नु हतारो हुनेछ। अन्तर्य के हो भने: एक समय निरन्तर उपाधि कब्जा गर्ने लोकप्रिय म्यानचेस्टर युनाइटेडको शाख पहिलेजस्तो छैन। तर फुटबलप्रेमीहरुले क्लबबाट अपेक्षा राख्न अझै छाडेका छैनन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।