मर्ने बेलामा हरियो काँक्रो भन्‍नेलाई गतिलो जवाफ दिने इच्छा

|

म्याग्दी : बेनी नगरपालिका-३, भकिम्ली मुसुङकी ५४ वर्षीया दिलमाया पुन कक्षा ३ मा अध्ययनरत छिन्।

गाउँबाट सदरमुकाम बेनीमा बस्दै आएकी पुन घरायसी काम सकेर विद्यालयमा जान्छिन्। केही समय छोरासँग घुम्न अमेरिका पुगेकी पुनले फर्किएलगत्तै नियमित विद्यालयमा जाने गरेकी छन्।

अमेरिकाको बसाइँमा उनको ध्यान आफूले पढ्ने विद्यालयमा थियो। पुनजस्तै बेनपा–७ मंगलाघाटकी ७० वर्षीया मनमाया बुढाथोकी हातमा किताब, कापी र कलम बोकेर विद्यालय जान्छिन्। चस्मा लगाएर बूढेसकालमा पढ्न जाँदा बुढाथोकीले बाटोमा अनेक कुरा सुन्नुपर्छ।

विदेशबाट छोराले पठाइदिएको महँगो मोबाइल नाति-नातिना गेम खेल्न मात्रै प्रयोग हुन थालेपछि घरनजिकै हरेको उज्यालो वैकल्पिक विद्यालयमा नेपाली अक्षर फरर पढ्न, मोबाइलको अंक थिचेर बोल्न सक्ने र रिचार्ड गर्नेसमेत अरूको भर पर्नुपर्ने अवस्थाको अन्त्यका लागि विद्यालयमा आएको बताइन्।

झाक्री आमाको नामले समेत चिनिने बुढाथोकीले नियमित झाक्रीको कामलाई समेत निरन्तरता दिइरहेको बताइन्। ‘झारफुक उपचारमा आर्कषित हुनेलाई समेत मैले आफ्नो दैनिकी सुनाउँछु, अन्धविश्वासलाई हटाउन पढाइ आवश्यक रहेछ’ उनले भनिन्।

म्याग्दीका केही अगुवा युवाको पहलमा स्थापना भएको उज्यालो वैकल्पिक विद्यालयमा पोशाकमै सजिएर व्यागमा किताब र कापी बोकेर हिँड्ने आमाहरूले पढ्ने धोको पूरा भएको बताउँछन्।

‘चिच्चाउँदै अक्षर चिन्दै छु, अक्षर चिन्न थालेपछि आयू पनि बढ्छ जस्तो भएकी जस्तो भएको छ’ कक्षा १ मा अध्ययरत ७० वर्षीया पन्चमा जुग्जालीले भनिन्। बिहान ११ नबज्दै साविकको महिला तथा बालबालिका कार्यालयको भवनमा रहेको विद्यालयमा पुग्ने गरेका आमाहरूले क–ख–ग–घ पढ्दा छोराछोरी समेत मख्ख छन्।

दुःखकष्ट गरेर छोराछोरीलाई उच्च शिक्षा दिलाएका आमाहरूले बाल्यकालमा शिक्षाबाट बन्चित भएपनि बूढेसकालमा इच्छा पूरा भएको बताउँछन्। ‘कखरा सिक्ने रहर पूरा भएको छ, अब ल्याप्चे लगाउने हातले निर्धक्क सही गर्न सक्छु’ कक्षा ७ मा अध्ययनरत ५६ वर्षीया देवी सुवेदीले भनिन्।

उनले बाल्यकालमा छोरीले अक्षर चिन्दा वा पढ्दा पाप लाग्छ भन्ने मान्यताले विद्यालयको मुखसमेत देख्न नपाएको अवस्थामा अहिले आफ्नो नाम पढ्न र लेख्न जान्ने मात्रै नभई क्यालकुलेटर चलाउने र घरायसी हिसाबसमेत गर्न सक्ने भएको बताइन्।

बिस २०७२ सालमा स्थापना भएको विद्यालयमा छोराछोरी डाक्टर, ईन्जिनियर, विभिन्न सरकारी तथा गैरसरकारी पदमा कार्यरत छोराछोरीले समेत सहयोगमा कक्षा १, ३, ५, ७, ८ र ९ सम्म नियमित विद्यालय आउनको संख्या हरेक वर्ष थपिँदै गएको विद्यालयकी सहजकर्ता रीता गर्बुजाले बताईन्।

‘बाल्यकालमा पढ्ने बेलामा घरायसी काममै व्यस्त हुने गरेको दिनहरू सम्झिँदै विद्यालयमा आउनुहुन्छ, बूढेसकालमा मेहनत गरेको देखेर हामीलाई उर्जा थपिएको छ’ गर्बुजाले भनिन् । विद्यालयमा २१ बर्ष उमेर देखि ७० बर्षसम्मका विद्यार्थी भएको बताईन् ।

विद्यार्थीले अक्षरसँगै कम्प्युटरसमेत सिक्ने व्यवस्था भएकाले आर्कषण बढेको बताइन्। विद्यालयमा ६८ जना विद्यार्थी छन्।

विद्यालय सञ्चालनका लागि चन्दा, वडा, शिक्षा विकास तथा समन्वय इकाई तथा नगरपालिकासँगै गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट १७ लाख सहयोग कक्षा ब्यवस्थापन, कम्प्युटर, विज्ञान प्रयोगशाला, पुस्तकालय, पढ्नसिक्न सहज हुने अन्य आवश्यक पूर्वाधार लगायतको सुविधा थप गरिएको विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष राजेश शाक्यले बताए।

‘आमाहरूको पढ्ने चाहना पुरा भएको छ,‘उहाँहरूलाई साक्षर बनाउन थप योजना तयार गरेका छौ’ शाक्यले भने। उनका अनुसार आगामी बर्षको एसइईमा १० जना विद्यार्थी सहभागी हुने बताए।

राजनीतिक, सामाजिक तथा सांस्कृतिक अभियान्ताहरू समेत निरक्षर भएकै कारण पछाडि परेको महसुस गरेपछि विद्यालयको स्थापना गरी लेख्न र पढ्ने सिकाउने प्रयासमा सरोकारवाला निकायबाट समेत थप सहयोगको आवश्यकता रहेको बताए। कक्षा ५ देखिमाथिका विद्यार्थीलाई नियमित कम्प्युटर शिक्षाको सुविधाले समेत सीप सिक्न सहज भएको शाक्यको भनाई छ।

बाटोमा गिज्जाउँछन्....

एउटा नेपाली उखानै छ, ‘मर्ने बेलामा हरियो काँक्रो’ उज्यालो वैकल्पिक विद्यालयमा नियमित पढ्न जाने धेरै लाई चोक-गल्लीमा ‘मर्ने बेलामा पढ्ने रहर’, ‘घरमै आराम नगरेर बेकारमा झन्झट’, ‘बूढो दिमाखले काम गदैन’ भन्दै गिज्जाउने गरेको बताउँदै कक्षा ८ की रेनु मल्लले मेहनत गरी एसइई दिएर मर्ने बेलामा हरियो काँक्रो भन्नेलाई गतिलो जवाफ दिने बताइन्।

उनले हरियो काँक्रोको उदाहरण दिनेलाई एसइईको पासको खबर सुनाउने इच्छा रहेको बताइन्। उनीजस्तै सामाजिक अगुवा ५८ वर्षीया भुनु तिलिजाले समेत हरियो काँक्रोको उदाहरण दिनेलाई बूढेसकालमा स्वास्थ्यले साथ दिएकाले पढिरहेको बताउँदै ज्ञान बटुल्ने अवसरलाई कसैको अवरोधले नरोक्ने बताइन्।

त्यस्तै  कक्षा ३ की ५६ वर्षीया गौसरा छन्त्यालले मेहनतको फल बूढेसकालमा अनुभव गरेको बताइन्। ‘मेरो सिक्ने इच्छालाई उमेरले छेकेन’ उनले भनिन्। उनले बूढेसकालमा पढ्न पाउँदा आत्मविश्वासीसँगै आत्मनिर्भर पनि बनाएको बताइन्।

छोरीलाई पढाए बाठा हुने भन्दै पानी, पँधेरो र घरायसी काम गर्नुपर्ने अवस्थामालाई सम्झिएर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्यालयमा शिक्षा लिएर घर फर्किने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.