|

बैतडी : फलफूलका बिरुवा बैतडीका किसानका लागि आम्दानीको स्रोत बन्दै गएको छ।  सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिकाका किसानहरुले फलफूलका बिरुवाबाट आम्दानी गरिरहेका हुन्।

दशरथचन्द–१ गुरुखोला र सुर्नया–२ बासुलिंगका किसानहरुले हिउँदे तथा बर्खे फलफूलका बिरुवा रोपेर आम्दानी गर्दै आएका छन्। निजी नर्सरीमा फलफूलका बेर्ना उत्पादन गरेर यहाँका किसानहरुले आम्दानी गर्ने गरेका हुन्। प्रत्येक बर्ष फलफूलको बेर्ना बिक्री गरेर वार्षिक ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको देवदत्त भट्टले बताए। उनले भने, ‘नर्सरीबाट हिउँदे तथा बर्खे फलफूलका बिरुवाहरु बिक्री हुने गरेको छ।’ 

निजी नर्सरी नै परिवार पाल्ने माध्यम बनेको दशरथचन्द–१ कलौनका किसान परमानन्द भट्टले बताए। दशरथचन्द–१ मा १९ र सुर्नया–२ मा तीनवटा निजी नर्सरी रहेको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्राविधिक सहायक अर्जुन खड्काले जानकारी दिए। उनले भने, ‘सुख्खा फलफूल विकास केन्द्र र किसानका निजी नर्सरीबाट बर्सेनि लाखौंका बिरुवा बिक्री हुने गरेको छ।’ 

हिउँदे फलफूलका बिरुवा रोप्ने समय सुरु भएकाले अहिले बिरुवा बिक्री भइरहेको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका निमित्त प्रमुख डम्मर भाटले बताए। सतबाँझमा जैतुन, कागती, बदाम, काजुलगायतका फलफूलका विरुवा उत्पादन गर्न हुँदै आएको छ। किसानलाई ८० प्रतिशत अनुदानमा फलफूलका विरुवा वितरण गर्ने गरिएको छ।

२०१९ सालमा स्थापना भएको बागबानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचत छ। सतबाँझमा पहिला देशभरीकै बढी स्याउ फल्ने गरेको भए पनि पछिल्लो समयमा हिउँ पर्न छोडेपछि स्याउ फल्न छोडेको छ। जलवायु परिवर्तनको असरले स्याउ फल्न छोडेपछि केन्द्रले अहिले फलफूलका बिरुवा उत्पादन तथा तरकारी खेती गर्न थालेको हो। केन्द्रको २९ हेक्टर जमिनमध्ये अहिले १२ हेक्टरमा फलफूल तथा तराकारी खेती गरिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.