|

तनहुँ : वि.सं. २००७ को जनक्रान्तिदेखि २०१८ को पञ्चायतविरोधी विद्रोहका क्रममा शहादत प्राप्त गरेका तनहुँका आधादर्जन शहीदको शालिक निर्माण भएको १० बर्षपछि बल्ल अनावरण हुन लागेको छ। 

वि.सं. २०६६ मै यी शहीदहरुको शालिन बनाइएको थियो। तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित शहीद स्मारक उद्यानमा निर्माण सम्पन्न गरेपनि शहीदहरुको शालिक छोपेर राखिएको थियो।  शालिक तयार भएको १० बर्षपछि यही माघ १६ गते शहीद दिवसका दिन तनहुँका मुक्तिसेना शहीदहरुको शालिक अनावरण गर्न लागिएको हो। 

जनक्रान्तिका बखत सदरमुकाम रहेको बन्दीपुर कब्जा गर्ने क्रममा शहादत प्राप्त गरेका धर्मध्वज गुरुङ, राजा महेन्द्रले पञ्चायती व्यवस्था लादेपछि वि.सं. २०१८ मा चितवनको भरपुरमा हत्या गरिएका समशेर गुरुङ र भरत गुरुङ तथा कोत्रेमा शहादत प्राप्त गरेका लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङको स्मृतिमा शहीद स्मारक पार्क निर्माण गरिएको हो। 

तत्कालीन जिल्ला विकास समितिले निर्माण गरेको शहीदको शालिक राखिएको स्मारकस्थलको भवन जीर्ण भएका कारण शालिक अनावरण हुनसकेको थिएन।  शहीद उद्यानको भवन रेट्रोफिट गरी बलियो बनाइएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए। हाल शहीद उद्यानलाई व्यवस्थित बनाइएको र शहीद दिवसकै दिनमा सो शहीदहरुको शालिक अनावरण गर्न लागिएको उनले जानकारी दिए। 

शहीद उद्यान व्यवस्थित गर्नका लागि नगरपालिकाले गत आर्थिक वर्षमा २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। वि.सं. २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पुलिमराङ भ्रमणको क्रममा  शहीद स्मारक र उद्यान बनाउन निर्देशन दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.