|

मुगु : मुगुलगायत कर्णालीका केही जिल्लामा एक महिनादेखि इन्टरनेट सेवा ठप्प भएको छ। 

कर्णालीका मुगु, हुम्ला, डोल्पा, जुम्ला कालीकोटका साविकका कर्णालीका जिल्लामा एक महिना दिनदेखि एडिएसएल इन्टरनेट सेवा ठप्प भएको हो। गत पुस १७ गतेबाट कर्णालीका जिल्लामा नेपाल टेलिकमद्बारा वितरित एडिएसएल इन्टरनेट सेवाले काम गर्न छोडेपछि  यी जिल्लााहरू संचारविहीन भएका हुन्।

टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख अनन्त मल्लिकका अनुसार कर्णालीमा बाक्लो  हिमपात पछि नेपाल टेलिकमको दैलेखको महावु र जुम्ला जिल्लाको डाँफे लेखमा राखिएको रेडियो लिङ्कमा समस्या आएको, पटक पटक प्राविधिक टोली लेखमा चढ्न खोजे पनि मौसममा आएको खरावीका कारण लेख चढन नसकेर समस्या लम्बिएको, शुक्रबारबाट मौसममा सुधार आएकाले शनिबार प्राविधिक टोली महावु लेखमा पुगेकोले सम्भवत सोमबारसम्म इन्टरनेट सेवा अवरुद्ध भएका जिल्लाहरूमा सेवा सुचारु हुनेछ।

इन्टरनेट सेवा नचलेपछि जिल्लाका सरकारी तथा गैर सरकारी संघ सस्था,वित्तिय कारोवार गर्ने सहकारी तथा बैकहरु र स्थानिय तहहरुको सेवा प्रवाहमा समस्या भएको छ।

राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय मुगुका सहायक प्रवन्धक प्रकाशचन्द्र भामका अनुसार एडिएसएल इन्टरनेट नचल्दा बैंकमा सेवाग्राहीको भीड लाग्ने गरेको, बैंकका सबै सिस्टम चलाउन समस्या भएको छ। उनले बैंकमा बचत, लगानी र भुक्तानी गर्न आउने सेवाग्रहीका लागि बैंकको आन्तरिक इन्टरनेट सेवा भिस्याटबाट चलाए पनि भिस्याटको गति सुस्त हुँदा समस्या भएको बताए।

यता छायाँनाथ रारा नगरपालिका ४ का  पृथ्वीबहादुर महताराले दुई हप्ता अघि मलेसियाबाट घर परिवारको लागि घर खर्च गर्न पैसा पठाएको भए पनि मुगुमा रहेका आफना परिवारले भुक्तानी पाउन नसकेको फोनमार्फत बताए। इन्टरनेट सेवा नचलेपछि विभिन्न सेवा आयोगमा खुलेका विज्ञापनका लागि आवेदन फारम भर्न र राजश्व दस्तुर जम्मा गर्न पनि समस्या भएको आयोग तयारी गरिरहेका विद्यार्थी बताउछन्।

यस्तै मुगुमा रहेका बैंकहरू, ठूला वित्तीय संस्थाको कारोवार सप्टवेयरमार्फत हुँदै आएको र सप्टवेयर अनलाइनमा मात्र चल्ने भएकाले मुख्य गरी लघुवित्तको कारोबार गर्न समस्या भएको र लगानी, बचत, भुक्तानी जस्ता कार्य गर्न समस्या भएको छायाँनाथ सहकारीका कोषाध्यक्ष हरिबहादुर शाहीले भने। 

इन्टरनेटजन्य काम महिनादेखि नहुँदा सेवा लिनका लागि टाढा टाढाबाट जिल्ला सदरमुकाममा आउने सेवाग्राही निरास भएर फर्कने गरेका छन् भने देशकै प्रमुख पर्यटकीय क्षेत्र रारामा फ्रोरजी सेवा समेत नचल्दा यहाँ आएका आन्तरिक तथा बाह्य पर्यटकले राराको सौन्दर्यता इन्टरनेटमार्फत आफन्तजनसँग साट्न पाएका छैनन्।

इन्टरनेट नहुँदा स्वयं नेपाल टेलिकमको मुगु कार्यालयलाई समेत विल भुक्तानी, सिम बिक्रीलगायतका काम गर्न समेत गाह्रो भएको टेलिकम मुगुले जनाएको छ।इन्टरनेट नचलेपछि योजना तथा कार्यक्रमको भुक्तानी दिन मुगु जिल्लामा रहेका चार वटा स्थानीय तहलाई समस्या भएको छ। नेट नचल्दा स्थानीय तहको वित्तीय कारोवार गर्ने सप्टवेयर सुत्र नचल्दा आफूहरूलाई काम गर्न समस्या भएको छायाँनाथ रारा नगरपालिकाका लेखापाल जगतजंग रावलले बताए। 

जिल्लामा टेलिकम सँगै निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक सस्था वल्डलिङ, एनसेल र सुविसुले समेत जिल्लामा आफ्नो सेवा विस्तार गरेको भए पनि यी संस्थाका सेवा नाम मात्रका रहेका छन्। यिनीहरूले वितरण गरेका इन्टरनेटको गती सुस्त रहेको छ। 

नेटवर्क गएको हप्तौ दिन वितेको र यो कति लम्विने निश्चित नभएकाले अग्रिम भुक्तानी गरेका जिएसएम डाटा र एडिएसएलका सेवाग्राहीको अवधि के हुने हो भनेर सेवाग्रही चिन्तित देखिन्छन्। नेपाल टेलिकमले थ्रिजी सेवा गाउँ गाउँसम्म विस्तार भएकाले सर्व साधारण पनि मोवाइलमा डाटा लिएर इन्टरनेटजन्य कारोवार र सेवा लिने गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.