|

बैतडी : बैतडीमा धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेको छ। जिल्लामा रहेका धार्मिक पर्यटनले भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने देखिएको छ।

विभिन्न शक्तिपीठ तथा मन्दिरहरू रहेका धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेको महाकाली साहित्य संगम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले जानकारी दिए। उनले भने, 'यी सम्भावनाको खोजी गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ।'

बैतडीमा त्रिपुरासुन्दरी, निङ्गलाशैनी, मेलौली, डिलाशैनी, फाल्ङासैनी, कफलाशैनी भगवतीका मन्दिर रहेका छन् भने रौलाकेदार, ग्वाल्लेकेदार, शिखर केदार, सिगासधुरा, शिवनाथ, दोगडा, भिटाकेदार, उदयदेव, महारुद्र, पातालभुवनेश्वर, ईश्वरी गंगाधाम लगायतका धामहरू रहेका छन्। यी धामहरू र शक्तिपीठहरूको प्रचारप्रसार गर्न सके थुप्रै पर्यटकहरू भित्र्याउन सकिने दशरथचन्द नगरपालिका-१ का पुष्कर भट्टले बताए।

'जिल्लामा रहेका धार्मिक पर्यटकीय क्षेत्रहरूको अझै पनि प्रचारप्रसार हुन नसकेकाले पर्यटकहरू आउन सकेका छैनन्,' उनले भने, 'प्रचारप्रसार गरी पर्यटन भित्र्याउन सकिने देखिन्छ।'

यातायात, बाटोघाटो र उचित बसोबास नहुँदासमेत पर्यटक कम भित्रिने गरेका जानकारहरूको भनाइ छ। विभिन्न शक्तिपीठहरूमा सीमावर्ती भारतीय दर्शनार्थीहरू आउने तर उचित बसोबास प्रबन्ध नहुँदा धेरै समय नबस्ने गरेको दशरथचन्द नगरपालिका ८ का गणेश थापाले बताए।

'पर्यटकहरूलाई बस्ने खालको वातावरण बनाउनुपर्छ', उनले भने, 'धार्मिक पर्यटकहरूलाई राख्ने व्यवस्थाका गर्न सकिए पर्यटकहरूको संख्यामा वृद्धि गर्न सकिने देखिएको छ।'

जिल्लामा रहेका धार्मिक पर्यटकीय क्षेत्रहरूको विकासका लागि स्थानीय सरकारहरूले पनि लाग्नुपर्ने दोगडाकेदार गाउँपालिकाका-३ श्रीकोटका गणेश विष्टको भनाइ छ।  'पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्न स्थानीय सरकारले चासो देखाउनुपर्छ,' उनले भने, 'जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरू संरक्षण हुन नसक्दा ओझेलमा परेका छन्।'

बैतडीका ४ नगरपालिका  र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन्। स्थानीय सरकारले पर्यटकका लागि घरबास, यातायातलगायतको प्रबन्ध मिलाउन सके सहज हुने देखिएको छ। जिल्ला सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकाले भने पर्यटकलाई भित्र्याउन 'घुम्न जाऔँ दशरथचन्द' अभियान सञ्चालन गरेको छ। 

सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सहयोग पुर्‍याउने र जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन अभियान सञ्चालन गरेको नगरप्रमुख नरेन्द्र सिंह थापाले बताए।  'भारतसँग सीमा जोडिएको नगरपालिका भएकोले हाम्रो नगरमा बढी पर्यटक भित्रिने गरेका छन्,' उनले भने, 'यो अभियानले थप पर्यटक भित्र्याउन सहज हुनेछ।'

भारतसँग रोटीबेटीको सम्बन्ध रहेकोले भारतीय पर्यटकलाई नेपाल कुनै पनि किसिमको समस्या नहुँने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको भनाई छ। बैतडीमा थुप्रै धार्मिक तथा पर्यटकीयस्थलहरू रहेकोले ती स्थलहरूमा पर्यटकलाई घुम्ने वातावरण मिलाउन आवश्यक रहेको औँल्याए।

भ्रमण वर्षलाई लक्षित गर्दै जिल्लाका अन्य स्थानीय तहहरूले पनि यस्ता अभियान सञ्चालन गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए। 'सरकारले घोषणा गरेको २० लाख पर्यटक भित्र्याउने योजना सफल पार्न स्थानीय सरकारले अग्रसर हुनुपर्छ,' उनले भने,' भ्रमण वर्ष सफल पार्न स्थानीय सरकारको ठूलो भूमिका छ, स्थानीय सरकारले योजना बनाएर अगाडि बढ्नुपर्छ।'

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित भ्रमण वर्ष घोषणा गरिसकेको छ।

भगवान शिवका तीन ज्योर्तिलिंग पनि बैतडीमा

भगवान् शिवका बाह्र ज्योर्तिलिङ्गमध्ये तीनवटा बैतडीमा रहेका छन्। नेपालका प्रथम ऐतिहासिक जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यका अनुसार पुराणहरूमा वर्णित ज्योर्तिलिङ्गमध्ये तीनवटा बैतडीमै रहेका छन्।

मानसखण्ड पुराणमा उल्लेख भएका पाटन नगरपालिका ६ को चौखुडामा रामेश्वरम, पाटन ३ को वनारसी धाममा विश्वनाथ ज्योर्तिलिङ्ग र सुर्नया ५ मा रहेको रौलाकेदार धाममा केदारनाथ ज्योर्तिलिङ्ग रहेका छन्। 'सुदूरपश्चिममा थुपै देवालय छन्, सुदूरपश्चिम देवभूमी पनि हो,' उनले भने। 

पातालभुवनेश्वर धामबाट बग्ने रामगंगा नदी (बगडी ) र सरयु नदी (सुर्नया)को संगम स्थलमा पाटन ६ चौखुडामा रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिएको रामेश्वरम् ज्योर्तिलिङ्ग मन्दिर व्यवस्थापन समितिका संयोजक कमल बोहराले बताए।

पौराणिक सरयु (सुर्नया) नदीको किनार पाटन नगरपालिका ३ स्थित बनारसी धाममा विश्वनाथ ज्योर्तिलिङ्ग रहेको जगद्गुरुले दाबी गरे। पुराणहरूमा भने झैँ द्वादशज्योर्तिलिङ्गमध्ये बैतडीमा तीनवटा छन्।  सुर्नया ५ मा रहेको रौलाकेदार मन्दिर पनि केदारनाथ ज्योर्तिलिङ्ग छ। 'रौलाकेदारको महिमा बद्रीकेदारको जत्तिकै रहेको छ,' उनले भने।

यी धामहरूमा दर्शन गरेमा मनोकामना पूर्ण हुने कुरा पुराणमा उल्लेख गरिएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.