|

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका ४ सिंगा राक्सेका महिला व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बन्दै गएका छन्। परम्परागत रुपमा गरिँदै आएको खेतीपातीबाट गुजारा नचल्ने भएपछि उनीहरूले शुरु गरेको च्याउ खेतीले अहिले व्यावसायिक रुप लिएको छ। 

राक्से सिर्जनशील कृषि फर्म नै दर्ता गरेर डेढ वर्ष अघिदेखि च्याउ खेती शुरु गरेका मैना खत्री र गीता कार्कीले च्याउ बिक्री गरेर वार्षिक ३ लाख रुपैयाँ कमाउन थालेपछि उनीहरूको गाउँमा ‘उद्यमी महिला’ को पहिचान समेत बनाएका छन्। पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आएका उनीहरू च्याउ खेतीबाट मनग्य आम्दानी गर्न सकिने देखेपछि अहिले व्यावसायिक रुपमा च्याउ खेती गर्न थालेका हुन्। 

बजारमा च्याउको माग बढ्दै गएता पनि उनीहरूले उत्पादन गरेको च्याउ अहिले घरबाटै बिक्री हुने गरेको छ। चारवटा टनेलमा च्याउ खेती गर्दै आएका यी दुई महिलाको आम्दानीबाट प्रभावित भई गाउँका अन्य महिलाले पनि च्याउ खेती शुरु गरेको स्थानीय अगुवा महिला राधिका पौडेलले बताइन्।

घरायसी काम भन्दा च्याउ खेती गर्न सजिलो र आम्दानी पनि राम्रो हुने गीता कार्कीले बताइन्। एउटा टनेलमा उत्पादन गरेको च्याउले बजारको माग धान्न नसकेपछि चारवटा टनेलबाट दैनिक जसो च्याउ बिक्री हुन थालेको मैना खत्रीले जानकारी दिइन्।

‘तरकारी खेती भन्दा पनि च्याउ खेतीबाट राम्रो आम्दानी हुने रहेछ’ उनले भनिन्, ‘पहिले च्याउ खेती गर्ने घर बनाउने, पराल काट्ने, उसिन्ने, सिलिण्डर बनाउने, झुन्ड्याउने, च्याउको बीउ राख्ने, बिक्री गर्ने सबै काम गर्नुपर्दा दुख भएको महशुस भएको थियो। अहिले घरबाटै च्याउ बिक्री गर्न पाउदा आफु खुशी छौं’ खत्रीले भनिन्।

सुरुमा ३ लाख लगानी गरेर ४ वटा टलेन बनाएर सुरु गरिएको च्याउ खेतीबाट एक वर्षको अवधिमा ६ क्विन्टल च्याउ बिक्री भइसकेको उनीहरूको भनाइ रहेको छ। घरमा नै पुगरे होलसेलमा धेरै परिमाणमा खरिद गर्नेलाई २५० र फुटकर किन्नेलाई ३ सय रुपैयाँ प्रति केजीको मुल्यमा बिक्री गर्दै आएको मैना खत्रीले बताइन्।

‘अहिले हामीले ६/७ कुइन्टल सम्म च्याउ बिक्री गरेको छौँ, टनेलमा अझै छ। ३ लाख यो एक वर्षको अवधिमा कमाएका छौँ’ खत्रीले भनिन्। यसले घरपरिवारमा निकै सहज भएको छ। ३ छोराछोरीको पढाई र घरखर्च चलाउनका लागि कसैसँग घुहार्न नपरेको उनको भनाई छ। ६ वर्ष अघि युवा स्वारोजगार कार्यक्रमबाट च्याउ खेती सुरु गरे पनि घरमा खाने मात्र उत्पादन गर्दै आएका थिए।

‘गत वर्ष, गीता र म मिलेर व्यवसायिक च्याउ खेती सुरु गरेको हौँ’ अहिले राम्रो आम्दानी भएको खत्रीले भनिन्। बजारमा च्याउको माग बढ्दै गएको छ। उत्पादन र बजारीकरण गर्न सके च्याउबाट मनग्य आम्दानी गर्न सकिने उनीहरूको भनाई छ। च्याउको अचार र सुकुटी मागअनुसार पुर्‍याउन नसकेको उनीहरूको भनाई छ।

च्याउ खेतीलाई विस्तार गर्दै लैजाने खत्रीको भनाई छ। अब बिक्री गरेर भएको आम्दानीबाट कन्य च्याउ बनाउने तरिका सिरकेर कन्या च्याउ उत्पादनमा आफूहरू लाग्ने उनको उनीहरूको भनाई छ। गाउँमा आफूहरूले यसरी व्यावसायिक भन्न खोजिरहँदा स्थानीय सरकारले कुनै सीप र तालिम समेत नदिएको उनीहरूको गुनासो छ। 

थोरै लगानीमा धेरै फाइदा लिन सकिने थाहा पाएपछि गाउँका अन्य महिला च्याउ खेतीतर्फ आकर्षित भएको उनीहरूको भनाइ छ। बेनी नगरपालिका ४ का वडा अध्यक्ष गोविन्द पौडेलले पौष्टिक तत्व हुने, विषादी प्रयोग नहुने र विभिन्न किसिमका रोगको प्रतिरोधक क्षमता हुने गुण भएकाले च्याउ खेती गर्ने कृषकलाई वडामार्फत तालिमसहित प्रोत्साहनका कार्यक्रम ल्याइने वताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.