|

जनकपुरधाम ‍: प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) मा फुट डालेर संघीयता समाप्त पार्ने चलखेल भइरहेको बताए। नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश २ को प्रथम वार्षिकोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले फुटाउन चलखेल गर्नेहरू सफल नहुने दावी गरेका हुन्।

उनले मधेश आन्दोलनको म्यान्डेट अनुरुप समाजवादी र राजपाले प्रदेश सरकार बनाएकाले ५ वर्षसम्म नै चल्ने स्पष्ट पारे। उनले नेकपासँग मिलेर राजपाले सरकार बनाउन लागेको चलाइएको हल्ला गलत भएको पनि बताए। उनले भने, ‘हल्लाको पछाडि नलाग्नुस्। यो सरकार मधेस जनताको म्यान्डेटले बनेको हो। पाँच वर्षसम्मै चल्छ।’ उनले न सरकार, न मन्त्री फेरिने पनि दावी गरे।

‘यो सरकार सिक्ने क्रममा रहेको छ’, मुख्यमन्त्री राउतले भने, ‘कर्मचारी तन्त्रबाट पूर्ण सहयोग पाउन नसकेको अवस्थामा केही समस्याहरू पक्कै आएको छ।’ संघीयता जोगाउने अभिभारा प्रदेश २ माथि नै रहेकाले आफूहरू झिना मसिना कुरामा नअल्झिने उनको भनाई छ।

एक फरक प्रसंगमा उनले गत आर्थिक वर्षको भुक्तानी गर्न कानुनी जटिलता देखिएकाले ढिलो भएको बताए। उनले अब केही दिनमै नियमावली बनाएर उपभोक्ताको भुक्तानी दिने तयारी सुरु भइसकेको जानकारी गराए।

नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश २ का अध्यक्ष नन्द किशोरको अध्यक्षतामा भएको उक्त बार्षिकोत्सव समारोहमा मुख्यमन्त्री राउतले इन्जिनियर्संको सेवा सुविधाका लागी प्रदेश सरकार प्रतिवद्ध रहेको पनि बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.