कार्यकर्ताका माग नसुनेको भन्दै आलोचना

|

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको विधानमा व्यवस्था भएको ३२ वर्षे उमेर हद विवाद फेरि उत्कर्षमा पुगेको छ। माऊ पार्टीको असन्तुष्ट पक्षका शीर्ष नेताहरु नै विधान मिच्‍न उद्यत भएपछि विवादले नयाँ रुप लिएको हो।

यो विवादले सोमबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडपकै रुप लिए। सभापति देउवा समर्थक र अर्को समूहबीच कुटाकुट नै भयो। 

विधान कार्यान्वयनको माग गर्दै नेविसंघको एउटा समूह सोमबारदेखि आमरण अनसनमा बसेको छ। नेपाल विद्यार्थीसंघका नेताहरु संघको विधानलाई लिएर ध्रवीकृत भएका छन्।

एकपक्षीय नेताहरु संघको विधानमा भएको व्यवस्था अनुसार ३२ वर्षे उमेरहद कायम हुनुपर्ने पक्षमा उभिएका छन् भने अर्को पक्ष यसको विपक्षमा उभिएका छन्।

पार्टी संस्थापन पक्षका नेविसंघका नेताहरु उमेरहदको विपक्षमा छन् भने ईत्तरपक्षका नेताहरुले ३२ वर्षे उमेरहद भएको विधान कार्यन्वयनको पक्षमा अडान लिएका छन्।

ईत्तरपक्षका नेविसंघ कार्यकर्ताले विधान कार्यन्वयन गर्न माग गर्दै करिब एक महिना लामो रिले अनसन बसे। उनीहरुले सोमबारबाट आमरण अनसन नै थालेका हुन्।

निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेपक्षका नेता नवराज त्रिपाठीले आमरण अनसन थालेका हुन्। विधानकै विषयलाई लिएर काफ्लेपक्षका नेताहरुले पार्टी कार्यलय सानेपामा देउवालाई अवरोध पुराएपछि झडपको स्थिति सिर्जना भएको थियो।

उनीहरुले सभापति देउवा पार्टी कार्यलय पुग्‍ने बेला नारा लगाउँदै अवरोध गरेपछि कार्यकर्ताबीच हात हालाहालको अवस्था सिर्जना भएको हो।

झडपमा २ जना संघका कार्यकर्ता घाइते भएका छन्। यता संघका निर्वतमान महामन्त्री काफ्लेले आफूहरुले सभापतिलाई अवरोध नगरेको दावी गरेका छन्।

उनले सभापति आउँदा विधान कार्यन्वयन लगायत आफूहरुका माग सम्बोधन गर्न नारा लगाउँदा देउवा पक्षका नेविसंघका नेताहरुले आक्रमण गरेको आरोप लगाए।

काफ्लेले सभापति देउवा आउँदै गर्दा साथीहरुले विधानको संरक्षणमा नेपाल विद्यार्थीसंघ जिन्दावाद भनेर नारा लाउँदा आक्रमण गरिएको बताए। 

'शेरहादुर देउवा आउँदा नारा लाउने? शेरबहादुर देउवा आउँदा बोल्ने? शेर बहादुर देउवा आउँदा हेर्ने?', भनेर साथीहरुले अनसनकारीहरुलाई कुट्ने, पिट्ने गमला, ढुंगा, इँट्टा, हेलमेट हान्‍ने काम गर्नुभयो', काफ्लेले भने, 'हाम्रो पनि सभापति हो नी? हाम्रो सभापतिलाई रोकेर आफ्ना कुरा राख्‍न पाइँदैन? सभापतिलाई तपाईंहरु जबरजस्ती निर्णय नगर्नुस भन्‍न पाइँदैन? रोक्न नि पाइन्छ हाम्रो सभापतिलाई। हामीले नरोके कसले राक्ने? तर साथीहरुले देउवालाई रोक्नु भएको थिएन।'

झडप हुनु दुःखद रहेको बताउँदै उनले देशका ठूला भ्रष्ट्राचार, अन्यायविरुद्ध र सरकारका काममा खबरदारी गर्न पार्टी नेतृत्वलाई आग्रह गरे। 

अनसन बसेका आफ्नै कार्यकर्तामाथि आक्रमण गर्न नलागउन भन्‍नुबाहेक अरु केही गर्न नसकिने उनले बताए। पार्टी नेतृत्वले मुलुकका विभिन्‍न आन्दोलनलाई समर्थन गरेर आफ्नै कार्यकर्ताका माग महिनौँसम्म सुनुवाई नगरेकोमा गुनासो पनि काफ्लेले गरे।

काफ्लेले विधानको संरक्षणका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको पनि बताए। नेविसंघ नेतृत्वविहीन भएको १ वर्ष पुग्नै लागेको छ। महाधिवेशन गर्न नसकेपछि २०७५ माघ २८ गते नैनसिंह महरले संघको अध्यक्षबाट राजीनामा दिएका थिए।

नेतृत्वविहीन नेविसंघमा सधैँ विवाद र किचलोले कार्यकर्ता दिक्क छन्। महरको राजीनामापछि कांग्रेस नेतृत्वले तदर्थ समिति गठन गर्ने भनेको थियो। तर त्यो पनि अहिलेसम्म भएको छैन्।

अहिले यो संगठनमा विधानलाई लिएर समस्या उत्पन्‍न भएको छ। विधानमा ३२ वर्षे उमेरहद कायम छ। तर कार्यन्वयको अवस्था शून्य छ।

संघका नेताहरुले उमेरहदका विषयमा पक्ष विपक्षमा तर्क गरिहरेका छन्। सभापति देउवाले ५० वर्षका राजीव ढुंगानालाई नेविसंघको अध्यक्ष बनाउन खोजेदेखि चर्किएको विवाद साम्य हुने छाँट देखिएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.