काठमाडौं : सर्वोच्च अदालतले नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश सपना मल्ल प्रधानको इजलासले अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
मंगलबार पक्षका तर्फबाट केही कानुन व्यवसायीहरुले बहस गरिसकेपछि न्यायाधीश मल्ल प्रधानको इजलासबाट यस्तो आदेश भएको हो।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा भइरहेको सुनुवाइ हिजो नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। मंगलबार सुनुवाइ सकेपछि अदालतले यो मुद्दामा अन्तरिम आदेश जरुरी नरहेको ठहर गरेको हो।
तर सर्वोच्चले यो मुद्दामा भएको अनुसन्धानको प्रगतिबारे महान्याधीवक्ताको कार्यालयमार्फत् सरकारलाई प्रश्न गरेको छ। अदालतले यस मुद्दा भएको अनुसन्धानको प्रगति विवरण एक महिनाभित्र सर्वोच्चमा पेश गर्न सरकारलाई आदेश दिएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका सापकोटालाई सभामुखमा नियुक्त नगर्न माग गर्दै गत शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा आइतबारै पेशी तोकिए पनि सापकोटाविरुद्धको अर्को मुद्दामा सर्वोच्चमा न्यायाधीश नहुँदै बहस गरेका हेर्न नमिल्ने सूचीमा राखिएको थियो ।
अदालतमा सभामुख बनाउन नहुने मुद्दाको सुनुवाइ चलिरहे पनि प्रतिनिधिसभाबाट आइतबार सभामुख निर्वाचित भएका सापकोटाले सोमबारै सपथ लिएर पदभार ग्रहण गरिसकेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।