|

दमक : दमकमा झण्डै दुई अर्ब रुपैयाँको लागतमा बहुतले बसपार्क निर्माणको प्रकृया अघि बढेको छ। हाल पूर्ववसपार्क तथा पशुहाट सम्मको क्षेत्रमा बहुतले बसपार्क निर्माण हुने नगरपालिकाले जनाएको छ।

दमकनगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार ९ तलाको बसपार्कका लागि डिपीआर निर्माण अन्तिम चरणमा पुगेको छ। सो बसपार्कमा ठूला सवारी साधन भुइँतलामा पार्किङ गरिने छ भने सो भन्दा माथिल्ला तलामा क्रमिक रुपमा कमभार क्षमताका सवारी साधनहरू पार्किङ गर्ने व्यवस्था गरिने छ।

मुख्य राजमार्गसँगै जमिन भएकाले सोहि ठाउँ निर्माणका लागि उपयुक्त ठहर गरिएको नगरप्रमुख ओलीले बताएका छन् । बहुतले बपार्कका लागि वडा नं. ६ र ७ मा करिव साढे ३ बिगाहा जमिन रहेको जनाइएको छ। बसपार्कमा चौथो तलासम्म सवारी पाकिङ हुने र सो माथि सपिङ कम्प्लेक्स, रेष्टुरेन्ट, आराम स्थल, मनोरञ्जन स्थल लगायतका संरचना हुने बताइएको छ।

दमकमा जनघनत्वसँगै सवारी साधनको चाप पनि बढेको र ठुलो क्षेत्रफल पाउन समेत कठिन भएकाले बहुतले बसपार्कको अवधारणा ल्याईएको उपप्रमुख तथा प्रवक्ता गीता अधिकारी बताउँछिन्। बहुतले बसपार्क निर्माण गर्दा कम क्षेत्रफलमा पनि धेरै सवारी साधन अटाउन सकिने र आधुनिकसमेत हुने भएकाले यस प्रकारको बसपार्क निर्माण गर्न लागिएको उनले बताइन्।

संघीय, प्रदेश तथा स्थानीय सरकारको समन्वयमा बसपार्क निर्माण प्रकृया अघि बढाउने नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिमिल्सिना स्थानीय सरकारको श्रोत साधनले मात्र नभ्याउने र दमकलाई देशकै नमूना सहरको रुपमा स्थापित गर्ने लक्ष्य भएकाले तीनै तहका सरकारा विच समन्वय गरि अत्याधुनिक बसपार्क निर्माणको प्रकृयामा लागिएको बताउँछन्।

बहुतले बसपार्क निर्माणका लागि प्रधानमन्त्रीले पनि चासो राखेका छन्। व्यवस्थित सहरीकरणका लागि व्यवस्थित बसपार्क आवश्यक भएकाले यसका लागि बजेट व्यवस्थामा सहयोग गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको नगरप्रमुख ओलीले बताएका छन्। यसका लागि अर्थमन्त्रालय, सहरी विकास मन्त्रालय लगायतका निकायहरुसँग समन्वय भइरहेको उनले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.