|

गुल्मी : स्थानीयस्तरमा कोदो खेती गर्ने कृषकको संख्या कम भएको र कोदो खेतीलाई झन्झटको रुपमा हेरिरहेको अवस्थामा जिल्लाको इस्मा गाउँपालिकाले कोदोको प्रर्बद्धन गर्न थालेको छ। 

इस्मा गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टका अनुसार गाउँपालिकाले सहकारी मार्फत किसानको घरमै पुगेर कोदा खरिद गर्दै आएको छ। कोदो खेतिमा कृषकलाई थप प्रेरित गर्न अहिले कृषकको घरमै पुगेर कोदो संकलन गर्ने र स्थानीय सहकारीमार्फत बजारीकरण गर्ने काम भइरहेको बिष्टले जानकारी दिए।

गाउँपालिकाले कोदोको मुल्य प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरेको छ। सहकारीले प्रतिकिलो एक रुपैयाँ गाउँपालिकाको तर्फबाट ढुवानी अनुदान पाउने व्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्‍नेतले जानकारी दिए।

अहिलेसम्म गाउँमा बिचौलियाले मनलाग्दी मुल्यमा कोदो खरिद गर्ने गरेका थिए। गाउँपालिकाको यो अभियानले बिचौलियाको समेत अन्त्य भएको बस्‍नेतले दाबी गरे। गाउँपालिकाले सहकारीलाई कोदो प्रशोधन गर्ने र तौल लिने मेसिन तथा गाउँपालिकाको पहिचानसहितको बोरा समेत अनुदानमा उपलब्ध गराउँदैछ।

गाउँपालिकाले 'इस्मा कृषि तथा पशु महिला सहकारी सस्था र भविष्य निर्माण साना किसान सहकारी संस्था लिमिटेड' मार्फत कोदो खरिद तथा बजारीकरणको काम थालेको हो। यो सहकारी संस्थाले अहिलेसम्म एक हजार २० किलो कोदो बिक्री गरेको छ। 

दुई हजार चार सय किलो कोदो संकलन भएको सहकारीकी व्यवस्थापक कमला अधिकारीले बताइन्। त्यस्तै बिन्दबासिनी चिउरा उद्योग पोखराले प्रतिकिलो ५१ रुपैयाँमा १० टन कोदो माग गरेको इस्मा गाउँपालिकाले जनाएको छ।

कोदो मुल्य पाएपछि किसान खुसी

गाउँमा कोदोको ढिंडो र रोटी खाने अत्यन्तै कम छन्। केहि व्यक्तिहरुले मदिरा उत्पादनका लागि कोदो खरिद गर्छन्। तर अहिले गाउँपालिकाले सहकारीमार्फत उचित मुल्यमा कोदो खरिद गर्न थालेपछि किसान खुसी छन्।

‘गाउँमा कोदोको भाउ पहिले किलोको ३० रुपैयाँ पनि थिएन, अहिले ५० रुपैयाँमा गाउँपालिकाले नै किनिदियो, खुशी भएका छौं,' इस्मा गाउँपालिका ४ का शेर बहादुर बिष्टले भने,‘उत्पादनसँगै बिक्री हुने बजार सुनिश्चित गरिए किसानले कोदो खेती गर्छन्‌।’ सोही गाउँकै हिमलाल अर्यालले पनि भर्खरै सहकारीमार्फत करिब दुई क्‍विन्टल कोदो बेचेको र उत्पादनले उचित मूल्य पाउँदा बल्ल कृषि पेशा गरेजस्तो भएको बताए।

पछिल्लो समयमा इस्मा गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरुमा कोदोबाटै बनेका परिकारलाई खाजाका रुपमा प्राथमिकता दिएको छ। बिदाईमा पनि कोदोकै पीठो कोसेली दिने गरिएको गाउँपालिका उपप्रमुख बिमला केसीले बताइन्। पहिले गाउँपालिकाभित्रै कोदो उत्पादन, उपयोग र प्रर्बद्धनमा जोड दिएर अन्यन्त्र बजारमा पनि यसको महत्व र माग वृद्धि गर्न खोजिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.